कारोबार संवाददाता
बिहिवार, भदौ २८, २०७५
359

काठमाडौं-पर्यटन व्यवसायीहरूले गण्डकी प्रदेश पर्यटकीय राजधानी भएकाले यसबाट मुलुकले ठूलो आर्थिक लाभ लिनसक्ने धारणा राखेका छन् । होटल संघ नेपाल र पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा ‘पर्यटकीय राजधानी पोखरा : दक्षिण एसियाको पर्यटकीय प्रवेशद्वार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले यस क्षेत्रमा अझै पनि पर्यटकीय सम्भावना उजागर गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अर्थमन्त्री, प्रदेश सांसद, हानका अध्यक्षलगायका पदाधिकारी, होटल संघ नेपालका पूर्वअध्यक्ष तथा होटल संघ नेपाल पूर्वअध्यक्ष परिषद् गण्डकी प्रदेशका संयोजक प्रसिद्धबहादुर पाण्डेलगात सहभागी थिए ।

कार्यक्रमको मूल उद्देश्य गण्डकी प्रदेश नै समग्रमा नेपालको पर्यटन प्रदेश भएकाले पोखराजस्तो सुन्दर नगरीलाई नेपालको पर्यटकीय राजधानी घोषणा गरी यस प्रकारको उपयुक्त, अतुलनीय र विविधता भएको स्थान दक्षिण एसियाकै पर्यटन प्रवेशदवार बनाइ पर्यटनमार्फत समृद्धिको मार्ग प्रसस्त गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरियो ।
पहिलो चरणमा अध्यक्ष अमरमान शाक्यलेस्वागत तथा कार्यक्रममाथि अवधारणा पेश गरेपश्चात पश्चिमाञ्चल होटल संघ नेपालको अध्यक्ष विकल तुलाचनले गण्डकी प्रदेशको पर्यटन विकास रणनीतिका आधारहरू लागू गरिनुपर्नेमा लक्षित गरी टिप्पणी गरे ।
होटल संघ नेपालका पूर्वअध्यक्ष तथा संघको गण्डकी प्रदेश संयोजक प्रसिद्धबहादुर पाण्डेले हरेक उमेर, क्षमता र अवस्था भएका पर्यटकका लािग पोखरा उपयुक्त पर्यटकीय गन्तव्य भएको अवधारणापत्र प्रस्तुत गरे । उनले पोखरालाई माइस पर्यटनको गन्तव्यका रूपमा विकास गर्न आक्रामक तथा आकर्षक पर्यटकीय नीति तर्जुमा गरिनु पर्ने बताउँदै सन् २०२० को नेपाल भ्रमण वर्षको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन सरकारसमक्ष आग्रह गरे ।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले होटल संघ नेपालले तयार पारेको अवधारणा सकारात्मक भएको बताउँदै प्रदेश सरकार अहिले नीति निर्माणकै क्रममा रहेको हुँदा यसलाई अगाडि बढाइने जानकारी गराए । उनले काठमाडौं, पोखरा, भैरहवा र निजगढमा विमानस्थल सुधार तथा निर्माण सम्पन्न भएपछि र पोखरा पर्यटनको सशक्त हब हुने भनाई राख्दै यसका लागि कम्तीमा पनि लेकसाइडलाई २४ सै घण्टा खोल्ने वातावरण सिर्जना गरी डाँडाकाँडामा होटल, रिसोर्ट तथा क्यासिनो खोल्नुपर्ने सुझाव दिए । कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लिगलिगकोटमा इतिहाससम्बन्धी संग्रहालय र पोखराको विजयपुर खोलामाथि आकर्षक ‘सिग्नेचरब्रिज’ निर्माण गर्ने योजना प्रदेश सरकारको रहेको बताउँदै नागरिकमा कर तिर्नुपर्छ भन्ने भावना उजागर हुनुपर्ने बताए । गण्डकी प्रदेशका माननीय प्रादेशिक सांसदहरूले पनि उक्त विषयक प्रकाश पारेका थिए ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई पर्यटकको ट्रान्जिटका रूपमा मात्र नभई हबका रुपमा विकास गरिनुपर्ने र फेवा तालको संरक्षण गरिनुपर्ने बताए । कार्यक्रमको विषयवस्तुमाथि प्रकाश पार्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पूर्वाधार निर्माण, बजारीकरण, दिगोपना र पहिचानसहितको कार्यप्रणालीको उपयुक्त कार्यान्वयनले मात्र पर्यटनको आयतन बृद्धि सम्भव रहेको तथ्य उजागर गरे । कार्यक्रम आफैंमा उपलब्धिको सूचक नभई यसको निरन्तरता, सार्थक अभ्यास र दिगो तथा जिम्मेवारपूर्ण कार्यान्वयनले मात्र लगानीको वातावरणको सुनिश्चितता हुनेछ भन्ने जोड थियो ।