केदार दाहाल
बिहिवार, आश्विन २५, २०७५
630

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले मुख्य पर्यटकीय सिजनमै पदयात्रामा जाने गाइड तथा मजदुरहरूको खोज तथा उद्धार कार्य बन्द गरेको छ । टानले विगतमा भएका दर्जनौ संख्यामा गरिएको खोज तथा उद्धारको रकम हेलिकप्टर कम्पनीलाई भुक्तानी नदिएपछि हेलिकप्टर कम्पनीहरूले बक्यौतामा उद्धार गर्न छाडेपछि गम्भीर समस्या देखिएको हो ।
‘फेक रेस्क्यु’ गराएर पुनर्बिमा कम्पनीसँग दाबी गरेर असुल गर्ने संगठित गिरोहलाई सरकारले छानबिन थालेसँगै हेलिकप्टर कम्पनीहरूले पनि बक्यौतामा खोज तथा उद्धार कार्यलाई बन्द गरिदिएका छन् । जसको सिधै असर गाइड तथा मजदुरमा पर्ने देखिएको छ ।

“हेलिकप्टर कम्पनीहरूलाई कुनलाई कति तिर्न बाँकी छ, अहिले भन्न नसकेपनि टिम्सको कारण देखाउँदै भुक्तानी भने धेरैले पाएका छैनन्,” वायुसेवा सञ्चालक संघ (आयोन) का अध्यक्ष पवित्रकुमार कार्कीले भने । टानले मजदुरहरूको रकम तिर्ने गरेको तर रकम भुक्तानीमा समस्या आएको हेलिकप्टर कम्पनीरुले बक्यौतामा उद्धार गर्न रोकेको हुनसक्ने अध्यक्ष कार्कीले बताए ।
टानले टिम्सबापत पाउने रकम नपाएको भन्दै बक्यौता तिर्न ढिलाई गर्दै आएको छ । पदयात्रा तथा आरोहणमा जाँदा पर्यटकको सम्बन्धित कम्पनीले नै उद्धारको खर्च बेहोर्ने गरेको छ भने गाइड तथा मजदुरको उद्धारको खर्च भने टानले टिम्स कोषको रकममार्फत बेहोर्दै आएको थियो ।
मंगलबारमात्रै इकोलजिकल ट्रेक्स कम्पनीका किचेन हेल्पर रोल्वालिङबाट नाम्चे जाने क्रममा ढुंगाले लागेर मृत्यु भएको छ । उक्त व्यक्तिको शव काठमाडौं ल्याउन टानले रकम दिन नसक्ने जनाएपछि उद्धार हुन नसकेको हो । “टानले रकम दिने व्यवस्था हो, तर नदिने भएपछि कम्पनी हामी आफंैले उद्धार गरेका छौं,” कम्पनीका सञ्चालक राकेश धमलाले भने । टानले गाइड तथा मजदुरलाई उद्धारको कार्य बन्द गरेको जानकारी आफूलाई गराएको धमलाले जानकारी दिए ।
तर, टानका अध्यक्ष नवराज दाहालले भने ‘फेक रेस्क्यु’को नाममा भएका ठगीका कारण र अहिले सरकारले गरेको छानबिनले केही समस्या आएको स्विकार गरे । तर, उनले टिम्सको रकम नेपाल पर्यटन बोर्डले निकासा नदिँदा समस्या आएको तर गाइड मजदुरको रकम उद्धारको लागि समस्या नपरेको बताए ।
पर्यटन बोर्ड, मन्त्रालय र बोर्ड सञ्चालकमा निजी क्षेत्रका प्रतिनिधिले नै टिम्सको रकम नदिएको आरोप दाहालले लगाए । तर बोर्डले भने टिम्सको रकम टानमा हिनामिना गरिएको भन्दै हिसाबकिताब सार्वजनिक नगरेसम्म रकम नदिने भन्दै विगत तीन वर्षदेखि टिम्सको रकम दिएको छैन ।
उता, मजदुर संगठनका नेताहरूले भने टानले मजदुरविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले गाइड तथा मजदुरहरूको उद्धारमा टानले अवरोध सुरु गरेको आरोप लगाए । “मजदुर सुरक्षित नभएसम्म पर्यटन अगाडी बढ्न सक्दैन,” पाण्डेले भने ।
देशभर २० हजारभन्दा बढी गाइड र ७० हजारभन्दा बढी मजदुर रहेका छन् । टानले उद्धार कार्यको रकम निकाशा नगर्ने तथा हेलिकप्टर कम्पनीले उधारो नगर्ने हो भने पर्यटन क्षेत्रमा गम्भीर समस्या आउनसक्ने पाण्डेले चेतावनी समेत दिए ।