केदार दाहाल
सोमवार, कार्तिक १९, २०७५
1068

कालोपत्रे गर्ने जिम्मा चिनियाँ कम्पनीलाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे विस्थापन गर्दै नयाँ निर्माणको जिम्मेवारी चाइना यूरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको छ । धावनमार्गको कालोपत्रे विस्थापनका लागि आह्वान भएको ग्लोबल टेन्डरबाट ५ कम्पनी प्राविधिक छनोटमा परेका थिए । धावनमार्गको ५० वर्ष पुरानो कालोपत्रे विस्थापन गरी नयाँ राखेपश्चात विमानस्थललाई २४ सै घन्टा सञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको योजना छ ।

पुरानो कालोपत्रेका कारण पटक–पटक भत्किँदा समस्या हुँदै आएको थियो । अब नयाँ कालोपत्रे राखेपछि समस्या हट्ने अपेक्षा गरिएको छ । प्राधिकरण र ठेक्का पाएको चिनियाँ कम्पनीबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । “आगामी चैत १८ देखि कम्पनीले काम थाल्ने र जेठ १५ सम्म सक्नेछ,” नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने । कालोपत्रे राख्नको लागि कम्पनीलाई भ्याटबाहेक ३ अर्ब ७५ करोड रुपैयाँमा निर्माणको जिम्मा दिएको महानिर्देशक गौतमले जानकारी दिए । विमानस्थलले दुई वर्ष अगाडि टेन्डर गरे पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
विमानस्थलको धावनमार्ग पुरानो र कमसल खालको हुँदा ठूला जहाजहरूको उडान-अवतरणमा समस्या हुँदै आएको थियो । धावनमार्ग ३ हजार ५० मिटर लामो छ । जसको ट्याक्सीमार्ग र धावनमार्ग दुवैमा नयाँ कालोपत्रे गरिने छ । प्राधिकरणले सन् २०१४ देखि विमानस्थल सुधार कोष बनाउँदै प्रत्येक हवाई यात्रुमार्फत १ हजार बढी उठाउँदै आएको छ । सोही कोषको रकम खर्च गरेर विमानस्थलको सुधार कार्य गर्दै आएको छ । “सोही कोषको रकमबाट नयाँ कालोपत्रे राखिने हो,” गौतमले भने । हालसम्म उक्त कोषमा ७ अर्ब रुपैयाँभन्दा जम्मा भइसकेको छ । कोषको रकम विमानस्थल सुधारको लागिमात्र खर्च गर्ने प्राधिकरणको लक्ष्य छ ।
विमानस्थल १० घन्टा बन्द हुने
कालोपत्रे विस्थापनको अवधिभर विमानस्थल १० घन्टा बन्द हुने भएको छ । निर्माण कम्पनीले ४९ दिनमा सम्पन्न गर्ने भने पनि प्राधिकरणले भने ७० दिनसम्मको समय दिएको छ । निर्माणको समयमा विहान ८ बजेदेखि बेलुका १० बजेसम्ममात्रै विमानस्थल सञ्चालन हुने गौतमले जानकारी दिए ।
हाल २१ घन्टा सञ्चालनमा रहेको विमानस्थल १४ घन्टामात्रै सञ्चालन हुने छ । दैनिक ८० मिटरभन्दा बढी निर्माण हुने गौतमले बताए । विमानस्थल कार्यालयले रातको समयमामात्र कालोपत्रे निर्माणको योजना बनाएको छ । धावनमार्गमा ३० देखि ५३ सेन्टीमिटरसम्म बाक्लो कालोपत्रे गरिने छ । कालोपत्र गर्ने काम पूरा भएपछि २० वर्षसम्म वाइडबडी जहाज उडान तथा अवतरण गराउन कुनै समस्या नहुने दावी गौतमको छ ।
हवाई इन्धनको ट्यांकी भूमिगत
नेपाल आयल निगमले हवाई इन्धन भन्डारण गर्ने ट्यांकीलाई भूमिगत गर्ने भएको छ । हाल जमिनमाथि र विमानस्थलको नजिकै रहेकोले सम्भावित दुर्घटना टार्नको लागि निगमले ट्यांकीलाई भूमिगत गर्ने भएको हो । एउटा ट्यांकी भूमिगत गर्नको लागि २० करोडभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । जसअन्तर्गत ६ वटा ट्यांकीलाई भूमिगत हुनेछन् । यसबाट विमानस्थलमा ट्यांकर विस्थापन गरिने भएको छ । ट्यांकीबाट सिधै पाइपमार्फत जहाजसम्म तेल राख्न सकिनेछ ।