कारोबार संवाददाता
बुधवार, कार्तिक २१, २०७५
318

लमजुङ-हिमालपारीको जिल्ला मनाङमा आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको छ । जिल्लामा मोटरबाटो बनेपछि आन्तरिक पर्यटकहरू सवारी साधनबाट आउनेक्रम बढेको हो । बिदा मनाउन र घुमघाम गर्नका लागि युवायुवतीहरू मोटरसाइकल तथा अन्य सार्वजनिक सवारी साधन चडेर मनाङसम्म आउने आन्तरिक पर्यटकहरू बढीरहेको मनाङ पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले बताए ।
“मनाङमा अहिले दैनिक काठमाडौं, पोखरा, बुटवल, चितवन, पाल्पालगायतका स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन्,” गुरुङले भने, “सवारी सञ्चालनमा आएपछि लमजुङबाट पनि मनाङ घुम्न जानेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।”

माथिल्लो मनाङसम्म मोटरसाइकलमा पुग्न सकिने भएपछि गन्तव्य मनाङ बनाएर अधिकांश आन्तरिक पर्यटकहरू आएको गुरुङले बताए । पछिल्लो समय मनाङमा पुगेका पर्यटकहरू सजिलै तिलिचो तालसम्म पुग्ने गरेका छन् ।
“धेरैजसो आन्तरीक पर्यटकहरू तिलिचो जानका लागि आएका छन्, केही चाँहि थोरङला पनि गएका छन्,” गुरुङले भने । सडक सञ्जालले मनाङमा पर्यटकको आगमन घट्ने अनुमान गरिए पनि पछिल्लो समय आन्तरिक पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । दैनिकजसो विदेशी तथा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेपछि मनाङका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् ।
“सडक बनेपछि पैदलयात्रीहरू आउँदैनन् कि भन्ने धेरैको अनुमान थियो,” गुरुङले भने, “तर अहिले आन्तरिक पर्यटकहरूको ओइरो लागेको छ ।” विदेशीहरूको चहलपहल बढी हुने अन्नपूर्ण पदमार्गमा तथ्याँक नभए पनि पछिल्लो समय आन्तरिक पर्यटकहरूको उल्लेख्य वृद्धि भएको छ । मनाङमा सिजनमा दैनिक दुई सयको हाराहारीमा आउने गरेपनि पछिल्ला चार वर्षमा नेपालीहरूनै दैनिक दुई सय ५० भन्दा बढी आउने गरेको पर्यटन व्यवसायीहरूले बताएका छन् ।
पर्यटकीय सिजन भएकाले अन्नपूर्ण पदमार्गका होटल व्यवसायीहरूलाई भ्याइनभ्याइ छ । दसंै र तिहारको बेला हुने छुट्टीका कारण पनि गन्तव्य तिलिचो बनाउने आन्तरिक पर्यटकहरू पनि बढेका छन् ।
बिदा मनाउन र घुमघाम गर्नका लागि मनाङ गतिलो गन्तव्य बनेको आन्तरिक पर्यटक विकल चालिसेले बताए । बर्षभरी शहरमा काममा व्यस्त हुने र दसं– तिहारको बिदा सदुपयोग गर्दै मनाङ घुम्दा निकै आनन्द आएको तिलिचो पुगेर फर्किएका काठमाडौंका ओमसागर मिश्रले बताए ।
विश्व प्रसिद्ध थोराङ पासको लागी जाने पर्यटकहरू हिमाली जिल्ला मनाडमा कम्तीमा दुई दिनसम्म बस्ने गर्छन् । पर्यटन सूचना केन्द्र बेसीसहरका अनुसार पछिल्लो ५ वर्षमा अन्नपूर्ण पदमार्गमा ९८ हजार ६ सय ४४ विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण पदमार्गमा थोरङला पाससँगै पछिल्लो वर्षहरूमा संसारको सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल र मनास्लु हिमाल हुँदै लार्केपास आकर्षक गन्तव्य छन् ।
पर्यटकका आगमन बढेसँगै मनाङका व्यसायीहरूले राम्रै आम्दानी गर्ने गरेका छन् । हिउँ पर्ने र चाक्ला जग्गा जमिन नभएकाले मनाङमा अन्य खेतीपाती हुँदैन । मनाङको मुख्य बाली भनेको फापर, आलु नै हो । त्यसैले त्यहाँका ३ प्रतिशत मानिसहरू मात्रै कृषि पेशामा छन् । मुख्य पेसाका रूपमा मनाङका नागरिकहरूले पर्यटन ब्यबसायलाई नै राजेका छन् । मनाङका ८० प्रतिशत नागरिकहरू पर्यटन व्यवसायमा लागेको बताइन्छ ।
-नेगम परियार/सन्देश पौडेल