कारोबार संवाददाता
सोमवार, कार्तिक २६, २०७५
385

संखुवासभा-संखुवासभाको चैनपुर नगरपालिका–३ स्थित पूर्वको प्रसिद्ध तीर्थस्थल सिद्धकाली मन्दिरमा पर्यटकको घुइँचो बढ्न थालेको छ । दसैंतिहार पर्वको रौनक बढेपछि जिल्लाका मात्र नभएर छिमेकी जिल्ला भोजपुर, तेह्रथुम, धनकुटा सुनसरी, मोरङलगायतका जिल्लाबाट समेत पर्यटकहरू दर्शनका लागि आउन थालेका छन् ।
सदरमुकाम खाँदबारीबाट ५० किमिको दूरीमा रहेको सतीदेवीको दायाँ आँखा पतन भएको र चिताएको मनोकांक्षा सिद्ध हुने किंवदन्ती रहेको सिद्धकाली दर्शनका लागि जाने पर्यटकको घुइँचोले बला सिद्धकाली क्षेत्रमा अवस्थित होटल व्यवसाय खचाखच भरिने गरेको स्थानीय शिक्षक पदम अधीकारीले बताए । सडक र यातायातको सुवीधा थपिएकाले अहिले सिद्धकाली मन्दिर आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको अधिकारीको भनाइ छ ।

अहिले सदरमुकाम खाँदबारी र चैनपुरबाट दर्जनौंको संख्यामा ट्याक्सी, टेम्पोलगायत साना सवारी साधनहरू चल्ने गरेका छन् । दैनिक सयौंको संख्यामा दर्शनार्थीहरू आउन थालेपछि त्यस क्षेत्रको व्यापार–व्यवसाय र घरजग्गाको कारोबार बढ्न थालेको छ ।
सिद्धकाली दर्शनका लागि आन्तरिक र बाह्य पर्यटकहरू आउन थालेपछि त्यस क्षेत्रको मात्र नभएर सिद्धकाली, सिद्धपोखरी र चैनपुर बजार क्षेत्रका होटल तथा व्यापारिक कारोबारमा समेत वृद्धि भएको चैनपुर उद्योग वाणिज्य संघका अध्यक्ष आशिष शाक्यले बताए । अहिले मन्दिरको दर्शन गर्न, पिकनिक खान र पारिवारिक भ्रमणका लागि बिहानदेखि साँझसम्मै त्यस क्षेत्रमा पर्यटक रमाइरहेका हुन्छन् । मन्दिर व्यवस्थापनका लागि चैनपुर नगरपालिकाले पर्यटकका लागि थप सुविधा बढाउन पहल गर्नुपर्ने स्थानीय महेश प्रेमी उदासको सुझाव छ ।
अहिले त्यस क्षेत्रमा चौबीसै घण्टा यातायात सुविधा, शान्ति सुरक्षा र व्यवस्थित होटलको आवश्यकता रहेको उदासको भनाइ छ । केही महिनाअगाडि सिद्धकाली मन्दिर तोडफोड भएको समाचारहरू सञ्चारमाध्यममा आएपछि आफूहरू थप उत्साहित भई परिवारसहित नै दर्शनका लागि आएको सुनसरी धरानका लोकराज श्रेष्ठ बताउँछन् ।
धेरै समयअगाडि दर्शनका लागि आउने रहर भए पनि यातायात सुविधाको अभाव भएकाले आउन पाइएको थिएन, अहिले गाडीमै आउँदा पनि संसारकै चौथो अग्लो हिमशिखर मकालु हिमालको मनमोहक दृश्य हेर्दै आउन पाउँदा परिवार नै खुसी छौं । यस क्षेत्रको उचित प्रचारप्रसार र केही भौतिक पूर्वाधारमा सुधार गर्ने हो भने सिद्धकालीले यस क्षेत्रको आर्थिक विकासमा महŒवपूर्ण योगदान पुग्न सक्ने स्थानिय सञ्चारकर्मी मोहनकुमार राईले बताए ।
-कृष्णराज शाक्य