रेशमराज रोकाया
सोमवार, कार्तिक २६, २०७५
481

हुम्ला - हिन्दू र बौद्ध धर्मावलम्बीको चालचलन तथा रितीरिवाजका कारण हुम्लामा धार्मिक पर्यटनको निकै सम्भावना छ । बौद्ध धर्म मान्ने स्थानीयको पूजाआजा हेर्न हुम्लाका आन्तरिकदेखि जिल्लाबाहिरका पर्यटकको आवागमन बढ्न थालेको छ । त्यसैगरी भारत तथा तेस्रो मुलुकबाट पनि पर्यटक आइपुग्छन् ।
लामा सांस्कृतिक मञ्चले आयोजना गर्ने ३ दिने बज्रगुरु पूजाले नेपालीलाई मात्र नभएर विदेशी पाहुनालाई पनि आकर्षित गर्ने गरेको छ । लामा समुदायका सबै बस्तीबाट अनिवार्य रुपमा हरेक घरधुरीका २ देखि १० जना परिवारका सदस्यको उपस्थिति हुने गर्छ । पूजामा हजारौं बौद्ध अनुयायी भेला हुन्छन् ।

यस वर्ष पनि लामा समुदायको पहिरन तथा भेषभूषासहित ३ दिनसम्म निरन्तर पूजा सञ्चालन भएको थियो । पुजामा सिमकोटमा रहेका पसलमा लाखौंको कारोबार भएको थियो । पूजामा खाना, बस्नको व्यवस्थापन समेत उचित तवरले गरिएको थियो । पूजामा उपस्थित हुने हरेक बौद्ध धर्मावलम्वीले आ–आफ्नो भेषभूषामा अनिवार्य उपस्थित हुने प्रचलन राखिएको छ ।
संसारमा जति अपराध हुन्छन्, सबै मनको आकांक्षा धेरै हुनु र असन्तोष रहनु भएका कारण यसलाई सुधार गर्नुपर्ने बौद्ध गुरु पेमा रिक्साल बताउँछन् ।
हुम्लामा सिमकोट गाउँपालिकाको केही वडा र नाम्खा गाउँपालिकामा पूरै बौद्ध धर्मावलम्बीको बस्ती रहेको छ । हाल लामा समुदायमा राजनीतिले पनि उच्च प्रभाव पारेको भए पनि विकास–निर्माण र सकारात्मक कामको लागि सबै एकजुट भएर लागेमात्र समाज बन्ने कार्यक्रममा सहभागी सबैको जोड रहेको थियो । परम्परादेखि लामा समुदायले नाच्दै आएको तरबार नृत्य, थाइकोर नृत्य र स्याब्रो नृत्य कार्यक्रम समापन भएको दिन राति आयोजना गरिएको थियो ।
पूजामा संलग्न सबै भक्तजनले गच्छेअनुसार दानसमेत गरेका थिए । संकलित दान सामाजिक हितको काममा प्रयोग गर्ने बौद्ध धर्मावलम्बीको सकारात्मक पक्ष रहेको छ । एउटा पूजाबाट २० देखि ३० लाखसम्म संकलन हुने र सो रकम पूजामा संलग्न भक्तजन, पुजारीको खानपानपछि बचेको रकम स्थानीय गोम्बामा पठनपाठन गर्ने विद्यार्थी, गुरु र गोम्बा प्रवद्र्धनमा लगानी गर्ने प्रचलन रहेको छ ।
हिन्दू धर्मावलम्बीको प्रख्यात तीर्थस्थल कैलाश मानसरोवर यात्रामा हरेक वर्ष १२ हजारभन्दा बढी जाने गरेका छन् । यसैगरी जिल्लाका विभिन्न गोम्बामा आयोजना हुने पूजा तथा अन्य समारोहले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । रहनसहन, कला–संस्कृति र चालचलन अध्ययन गर्नको लागि यो महत्वपूर्ण हुने देखिएको छ । स्थानीयले पुराना गरगहना, लुगा कपडाको पहिरनले गर्दा सबैको ध्यान त्यसतर्फ आकृष्ट गर्न सफल हुने गरेको छ । लामा समुदायको एक व्यक्तिले पहिरनमा ३ देखि ५ लाख रकमबराबरको कपडा तथा गरगहना लगाउने प्रचलन रहेको छ । यस्ता गरगहना मेलापर्व, विशेष समारोह तथा विवाहमा प्रयोग गर्ने देखिएको छ । पुराना तथा हाल प्रचलनमा अन्त कतै नआएको थाइकोरमा सुन, हिरा, चाँदीको कलात्मक बुट्टा राखिएको हुन्छ । करिब १ देखि २ किलो वजन भएको यो गहना स्थानीयको विशेष महत्वको पहिरन हुने गरेको छ ।
हिन्दू धर्म मान्ने समुदायले पनि मेलापर्व तथा स्थानीय चालचलनलाई विशेष महत्वका साथ मनाउने भएका कारण हुम्लामा धार्मिक पर्यटनको अझ महत्व बढ्दै गएको छ । जिल्लामा कार्यरत जिल्ला बाहिरका कर्मचारीले पनि यस्तो चलनलाई अविस्मरणीय रहेको अनुभव गर्ने गरेका छन् । आगामी दिनमा यस्ता सांस्कृतिक पर्वमेलालाई हरेक समुदायले विशेष महत्वका साथ मनाएर धार्मिक दृष्टिकोणले पनि पर्यटकलाई लोभ्याउन आफू लागिपरेको लामा सांस्कृतिक मञ्चका अध्यक्ष धर्मानन्द लामाले बताए ।
धार्मिक कार्यक्रममा महँगा र अन्य समयमा देख्न नपाइने गहनासमेत लगाएर नृत्य गरेको हेर्न पाइने अवसर सबैलाई जुट्ने गरेको छ । पूजामा हस्तकलाको पनि निकै प्रयोग भएको हुन्छ । पूजामा प्रसादस्वरुप दिइने झिल्लाप (प्रसाद) र सातु (उवा प्रजातिको अन्न भुटेर बनाइएको पिठो) बाट विभिन्न आकृतिमा बनाइएका हस्तकला पनि हेर्न लायकका हुने गरेका छन् ।