केदार दाहाल
मंगलबार, मंसिर ४, २०७५
1530

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन गर्न अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । अर्थले शुक्रबार पीपीपी मोडलमा सञ्चालनको लागि स्वीकृति दिएसँगै निर्माण पूरा हुने चरणमा रहेको यो विमानस्थल सञ्चालनमा देखिएको अन्योल हटेको हो ।
विमानस्थल निर्माणको अन्तिम चरणमा पुग्दा समेत कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषय नटुंगिएपछि नागरिक उड्डयन प्राधिकरणले आफै सञ्चालनको तयारी सुरु गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ महिनाअघि अर्थ मन्त्रालयमा गौतमबुद्ध विमानस्थल पीपीपी मोडलमा सञ्चालनको लागि प्रस्ताव पठाएको थियो । “अर्थ मन्त्रालयबाट विमानस्थल पीपीपी मोडलमा सञ्चालनको लागि स्वीकृति आएको छ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कारोबारसँग भने ।

मन्त्री अधिकारीका अनुसार अबको केही महिनाभित्रै प्रक्रिया सम्पन्न गरेर विमानस्थल सञ्चालनका लागि इच्छुक कम्पनीबाट आशयपत्र (एलओआई) माग्ने तयारी भइरहेको छ । विमानस्थल चालू आर्थिक वर्ष (जुन महिना) भित्रै सञ्चालन गर्नेगरी काममा तीब्रता दिइएको बताउँदै मन्त्री अधिकारीले पीपीपीको प्रक्रिया सम्पन्न नभएसम्म प्राधिकरणले आफंै केही समय विमानस्थल चलाउने जानकारी पनि दिए । मन्त्री अधिकारीले मन्त्री भएलगत्तै भैहरवा विमानस्थल सञ्चालन पीपीपी मोडलबाट गर्नेगरी प्रस्ताव तयार परेर स्वीकृतका लागि अर्थ मन्त्रालय पठाएका थिए ।
पहिलो चरणमा जीटूजी (सरकार र सरकारबीच) अन्तर्गत सम्बन्धित मुलुकको सरकारसँगै कुरो गरेर सञ्चालनको जिम्माको प्रक्रिया सुरु गर्ने मन्त्रालयको तयारी छ । पहिलो चरणमा जीटूजी छलफल हुने र कसैले चासो नदिएमा आसयपत्र मागेर विमानस्थल सञ्चालन पीपीपी मोडलमा जाने मन्त्री अधिकारीको भनाइ छ ।
प्राधिकरणको साविकको व्यवस्थापन र कार्यशैलीले विमानस्थल सञ्चालन गर्न नसक्ने भएकोले पीपीपी मोडलमा जानुको विकल्प नभएको समेत मन्त्री अधिकारीको भनाइ छ । अब सञ्चालक पक्ष र नेपाल सरकारबीच कति प्रतिशत नाफा बाँड्नेलगायतको विषय भने आशयपत्र मागेपछि छलफल हुने र सोहीअनुसार प्रस्ताव तयार पारिने मन्त्री अधिकारीले जानकारी दिए । यसको लागि युरोप, अमेरिका, भारतलगायत देश तथा विभिन्न कम्पनीहरूबाट सञ्चालनको जिम्मा लिनेगरी चासो आएकोले कसरी दिने भन्नेमा छलफल हुने मन्त्री अधिकारीले बताए । गौतमबुद्ध विमानस्थलमा चीन, थाइल्यान्ड, भारत, श्रीलंका, मलेसियालगायत देशले उडान गर्नेगरी चासो दिएको पनि उनले जानकारी दिए ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सन् २०१६ देखि विमानस्थल निर्माण सुरु भएको थियो । भूकम्प तथा भारतीय नाकाबन्दीले यसको निर्माण एक वर्ष धकेलिएको थियो । २०१८ मा सञ्चालनमा ल्याउने बताउँदै निर्माणको ठेक्का पाएको चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन र स्थानीय ठेकेदारबीचको बिबादका कारण ७ महिना निर्माण कार्य ठप्पसमेत भएको थियो ।
चिनियाँ ठेकेदारले काम सन्तोषजनक नगरेको भन्दै एडीबीले ठेकेदार हटाउन नेपाल सरकारलाई चेतावनी दिएको थियो । तर, पछिल्लो समय मुलुकभरका अन्य राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा तीब्र गतिमा गौतमबुद्ध विमानस्थलको प्रगति रहेको मन्त्री अधिकारीले दाबी गरेका छन् ।
आयोजना निर्माणको लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान भए पनि अहिले लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ । मुआब्जाको लागि २३ अर्ब रुपैयाँ माग गरिएको छ । अहिलेसम्म ९ अर्ब वितरण गरिएको र अव बाँकी निकासा गर्र्दै जाने तयारी समेत सरकारको छ ।