लक्ष्मीप्रसाद सापकोटा
आइतवार, मंसिर १६, २०७५
1716

पर्वत-अग्ला र लामा झोलुंगे पुलका कारण चर्चामा रहेको कालिगण्डकी नदीमाथि बन्दै गरेको विश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्प निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्ने गरी कालिगण्डकी माथि निर्माण भएको पुलसहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेका लगानीकर्ताहरूले जनाएका छन् । विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै अग्लो लठ्ठामा खेलिने पिंग (स्विङ), विश्वकै अग्लो र नेपालकै एकमात्र तारमा खेलिने (स्काई साइक्लिङ) को निर्माणकार्य करिब ८० प्रतिशत सकिएको सञ्चालक राजु कार्कीले बताए । “हामी पुल, बञ्जी र रिर्सोट निर्माणको काम ५ महिना सम्ममा सक्छांै ।” उनले भने, “हामीले ६ महिनाअघि नै सक्ने लक्ष्य राखेका थियौं, प्रविधि र निर्माण सामग्री जुटाउँदा अलि समय लाग्यो ।” कालिगण्डकी माथि ५२० मिटर लामो र २२८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल विश्वकै अग्लो र साहसिक पैदलयात्री पुल हो ।

कालिगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुल निर्माणका लागि नेपालमा यति लामो लठ्ठा तान्ने प्रविधि र सामग्री नहुदा पनि केही समय बढी लागेको सञ्चालक कार्कीले बताए । मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना मानिएको यो पुल र बञ्जी २०७३ वैशाखमा निर्माण सुरु भएको थियो । बञ्जीजम्पसँगै पर्यटकहरूलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्टसमेत सञ्चालनको तयारी भइरहेको छ । स्काई साइक्लिङ विश्वकै अग्लो र लामो हो । “मकाउमा दुई टावर जोड्न योभन्दा लामो भए पनि नेचुरल्ली बनाएको यो नै विश्वकै अग्लो हो,” कार्कीले दाबी गरे । नेपालमा स्काई साइक्लिङ अन्यत्र छैन ।
कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी, सिन्धुपाल्चोकका राजु कार्की, फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको ऋण लगानीमा बञ्जीजम्प निर्माण भइरहेको हो । १५ करोडमा रिर्सोटसहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्कीले बताए । साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकलाई लक्षित गरी बनाउन थालिएको बञ्जीजम्प पर्वतको चिनारी हुने विश्वास लिइएको छ । बञ्जीजम्पमा आउने पर्यटकलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ रिसोर्ट सञ्चालनका लागि संरचना निर्माणकार्य भइरहेको छ । रिर्सोटमा सबै जसो कोठाहरू टेन्टबाट बनाइँदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरी निर्माण भइरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेण्ट बनाइएको छ । जसमा ६० जनासम्म पर्यटक बस्न सक्छन, खुल्ला चौरमा बस्नका लागि टेण्टहरु राख्ने र त्यसरी ३ सय जनासम्म राख्न सकिने कार्कीको भनाइ छ ।
पुलमा तल राखिएका आँखी झ्याल डेकबाट तल हेर्दा आनन्द लिन सकिने भएकाले साहसिक पर्यटन बढ्ने विश्वास कार्कीको छ । सबै संरचना बनिसकेपछि कुस्मा बजार नेपालमै साहसिक पर्यटनको हब बन्ने विश्वास उनको छ । कुस्माबाट बागलुङको मूलाबारी तथा घोरेपानीतर्फ पनि पदयात्रा र हाइकिङ गर्न सकिने गरी प्याकेज बनाउने तयारी सञ्चालकको छ । फेमिली प्याकेजसहित आउने पर्यटकले बञ्जी, स्विङ र स्काई साइक्लिङ तथा हाइकिङ गर्न सकिने ब्यवस्थापन हुने उनको भनाइ छ ।