केदार दाहाल
मंगलबार, मंसिर १८, २०७५
1722

नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उडान गर्ने अन्तिम तयारीमा छ । जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिए पनि निगमले नयाँ जहाज खरिदसँगै सीधा उडान गर्न लागेको हो । नेपाल वायुसेवा निगम एक दशकपछि पुनः जापान उडान गर्ने अन्तिम तयारीमा छ । जहाज अभावका कारण सन् २००७ यता निगमको जापान उडान रोकिए पनि निगमले नयाँ जहाज खरिदसँगै सीधा उडान गर्न लागेको हो । निगमले हालै खरिद गरेका एयरबस–३३० वाइडबडी जहाजबाट जापान उडान गर्नेछ । सन् १९९४ देखि २००७ सम्म साताका दुई उडान गरेको निगमले आकर्षक गन्तव्य भए पनि जहाज अभावको कारण देखाउँदै जापान उडान रोकेको थियो । यसअघि निगमले बोइङ ७५७ सिरिजको न्यारोबडी जहाजमार्फत जापानको ओशाका उडान गर्दै आएको थियो । निगमले माघ (फेब्रुवरी)देखि सातामा तीन दिन काठमाडौं–ओसाका उडान गर्नेछ । यससम्बन्धमा छलफल गर्न जापानी टोलीका उच्च पदाधिकारीहरू आइतबार नेपाल आएका छन् । जसमा निगमका नयाँ वाइडबडी जहाज ओसाका उडानमा सहज बनाउने गरी वार्ता भएको निगमले जनाएको छ । सोमबार निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र ओसाका विमानस्थलको एसिया क्षेत्र हेर्ने निर्देशक इमानुयल मानेन ताउले नेतृत्व गरेको टोलीबीच वार्ता भएको छ ।  जापानी टोलीले पुनः उडान गर्न आफ्नोतर्फबाट पूर्ण सहयोग गर्ने बताएको प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । “विगतमा जहाज अभाव भएपछि रोकिएको र अब छिट्टै उडान गर्नका लागि गृहकार्य भइरहेको छ,” प्रवक्ता सिग्दलले भने । नेपाल र जापानबीच २५ वर्षपछि हवाई सेवा सम्झौता (एएसए) गत असारमा पुनारावलोकन भएको थियो । हवाई सम्झौतासँगै नेपाल र जापानबीच अब सातामा १४ वटासम्म उडान गर्न पाउने सहमति छ । यसअघि सातामा २ वटामात्रै उडान गर्न पाउने सम्झौता थियो । नयाँ सम्झौतामा जापानको हनेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने सहमतिसमेत छ । सोही अनुसार निगमले जापानको नारिता विमानस्थलमा समेत उडान गर्नेगरी तयारी भएको निगमले जनाएको छ । जापानमा नेपाली विद्यार्थी तथा रोजगारी भिसामा बर्सेनि हजारांै जाने गरेका छन् । हाल १ लाखभन्दा बढी नेपाली जापानमा रहेको अनुमान रहेको छ भने जापानसँग सीधा हवाई उडान नहुँदा नेपाल आउने जापानी पर्यटकको संख्यासमेत बढ्न सकेको छैन । नेपालमा जापानबाट सीधा उडान हुन नसक्दा जापानबाट नेपाल आउने पर्यटन बर्सेनि घट्दै गएका छन् । सन् २००३ मा निगमले काठमाडौं–ओसाका उडान गर्दा २७ हजार ४ सय १२ पर्यटक नेपाल भित्रिएकोमा २०१७ मा पनि २७ हजार ३ सय २६ जापानी पर्यटक नेपाल भ्रमणमा आएका छन् । १५ वर्षअघि नेपाल आउने पर्यटकमध्ये जापानी पर्यटको हिस्सा ८.१ प्रतिशत रहेकोमा २०१७ सम्म आइपुग्दा उक्त हिस्सा घटेर २.८ प्रतिशतमा सीमित छ । निगमसँग हाल दुई थान वाइडबडी, दुई थान एयरबस ३२० सिरिजका न्यारोबडी जहाज र एक थान बोइङ ७५७ सिरिजको न्यारेबडी जहाजमार्फत ९ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।

नेपाल आउने जापनी पर्यटक संख्या 
वर्ष पर्यटक संख्या पर्यटक हिस्सा प्रतिशत
सन् २०१० २३,३३२ ३.९ 
सन् २०११ २६२८३ ३.६
सन् २०१२ २८६४२ ३.६
सन् २०१३ २६६४२ ३.३
सन् २०१४ २५८२९ ३.३
सन् २०१५ १४४६५ ३.३
सन् २०१६ २२९७९ ३.०५
सन् २०१७ २७३६२ २.९