केदार दाहाल
बिहिवार, मंसिर २०, २०७५
1120

नेपाल वायुसेवा निगमले खरिद गरेका एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी जहाजको विषयमा विवाद भएपछि विक्रेता कम्पनीले यसको स्वामित्वबारे प्रष्ट पारेको छ । जहाज विक्रेता कम्पनी हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडले गत अगष्टमा नै निगमलाई स्वामित्व हस्तान्तरण भइसकेको जनाएको छ । हाइफ्लाइले गत अगष्टमा कम्पनी रजिष्ट्रेशन नम्बर ५९९०१० मार्फत स्वामित्व हस्तान्तरण भइसकेको स्पष्ट पारेको हो ।
हाइफ्लाईले आफ्ना २ नयाँ जहाज एयरबस ३३०–२०० सिरिजका जहाज नेपाल वायुसेवा निगमले खरिद गरेको जनाएको छ । हाइफ्लाईले म्यानुफ्याक्चरिङ सिरियल नम्बर १८७२ र १८७८ को जहाज गत जुन र जुलाईमा हस्तान्तरण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले विज्ञप्तीमा सबै स्वामित्व हस्तान्तरण हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडले निगमलाई बेलायती कानुन र वेल्सअनुसार हस्तान्तरण गरिएको जनाएको छ । हाइफ्लाई एक्सका निर्देशक क्रिष्टियन न्युलेनले जारी गरेको विज्ञप्तीमा त्यस्तो जनाइएको छ ।

निगमको पहिलो वाइडबडी ९ एन–एएलवाई अन्नपूर्ण नाम दिइएको जहाज २०७५ असार १४ काठमाडौंमा अवतरण गरेको थियो भने दोस्रो ९ एन–एएलजेड मकालु गत साउन १० गते काठमाडौं आइपुगेको थियो ।
वाइडबडीको स्वामित्व निगमकैः मन्त्री अधिकारी
निगमले ल्याएका दुइवटा एयरबस ए ३३० जहाजको स्वामित्व नेपाल एयरलाइन्समै रहेकोमा कुनै शंका नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले आग्रह गरेका छन् । बुधवार सार्वजनिक लेखा समिति बैठकमा उनले सबै प्रक्रिया पूरा गरेर पूर्ण स्वामित्वसहित जहाज आएको बताए । नेपाल वायुसेवा निगमले ल्याएका दुईवटा एयरबस ए–३३० जहाजको स्वामित्व नेपाल एयरलाइन्समा रहे–नरहेकोबारे सरकारको धारणा सांसदले मागेपछि अधिकारीले स्वामित्वका बारेमा कुनै पनि शंका नगर्न आग्रह गरेका थिए । उनले यसबारेमा प्रश्न उठेपछि उपलब्ध प्रमाण र त्यसको ‘क्रस भेरिफिकेसन’ गरेको र स्वामित्व नेपाल एयरलाइन्सकै रहेको बताए । “यसमा प्रष्ट छ कि एयरबसबाट हाइफ्लाइ एक्समा आएका जहाज त्यहाँबाट नेपाल एयरलाइन्समा आएको छ,” उनले भने, “त्यसकै आधारमा हाम्रो नियामक निकायले दर्ता प्रमाण पनि दिएको छ ।” यसैबीच, लेखा समितिले वाइडबडी जहाजको विषयमा पर्यटन मन्त्रालय र निगम व्यवस्थापनलाई ३८ वटा प्रश्न सोधेर लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।
सरकारले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न प्रक्रिया अघि बढाएको समेत जानकारी दिए । निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्न उसको सम्पत्ति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्ने प्रक्रिया अघि बढाइएको समेत अधिकारीले जानकारी दिए ।