दीननाथ बराल
शुक्रवार, पुष २७, २०७५
578

पोखरा-प्रकृति र संस्कृतिको धनी सहर पोखरामा मानवनिर्मित नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । युनाइटेड क्लब पोखराको अगुवाइमा नयाँ पर्यटकीय गन्तव्य चिडियाखाना निर्माण भएको हो ।
२०६७ सालमा स्थापना भएको क्लबले स्थापनाकालदेखि सञ्चालन गरेको पोखरा महोत्सवबाट बचत भएको केही रकम पोखरा महानगरपालिका–३०, ३१ र ३२ मा रहेको पचभैया चापापानी, चिसाकुना र चैनपुरमा सामुदायिक वन क्षेत्रमा १ सय ३४ हेक्टर क्षेत्रफलमा चिडियाखानाको अभियान सुरु गरेसँगै हाल मिनी चिडियाखानाको रूपमा सञ्चालन भएको छ । हालसम्म क्लबले महोत्सवबाट ४५ लाख ८५ हजार लगानी गरिसकेको छ भने त्यसैगरी साविक लेखनाथ नगरपालिकाबाट १० लाख, जिल्ला वन कार्यालयबाट २४ लाखसहित जनश्रमदान गर्दा करिब एक करोड बराबरको भौतिक संरचना निर्माणकार्य भएको क्लबका संस्थापक अध्यक्ष तथा पोखरा जुलोजीकल पार्कका अध्यक्ष हिमालय बख्रेलले बताए । उनका अनुसार चिडियाखानामा हाल पशुपन्छीको उद्धार केन्द्रको लागि भवन निर्माण, पार्किङसहित चिडियाखाना रेखदेखका लागि कार्यालय स्थापना, खानेपानी जडान, यातायात सहजकालागि बाटो निर्माण, मृगस्थली, बाघ राख्ने खोर निर्मार्ण, ९ वटा क्रेजसमेत निर्माण भएको छ ।

मिनी चिडियाखानाको रूपमा विकसित भएको उक्त चिडियाखानामा अजिंगर, लाटोकसरो (उल्लु), चित्तल मृग, निलगाई, चिल, इजिप्सन गिद्ध, हुचिल, रतुवा मृग, जंगली बिरालो, स्याल, मदारी बाँदर, खरायो, कछुवा, सिवेटलगायतका वन्यजन्तु तथा पशुपन्छी रहेको बख्रेलले बताए । अधिकांश वन्यजन्तु तथा पशुपन्छी रेस्क्यु गरी त्यहाँ ब्यवस्थापन गरिएको उनले जनाए । पुस २७ देखि माघ ८ गतेसम्म पोखराको अम्मरसिंहको खेल मैदानमा सञ्चालन हुने नवौं पोखरा महोत्सवको अवसरमा क्लबले निःशुल्क बस सेवाबाट चिडियाखाना अवलोकनको व्यवस्थासमेत मिलाएको क्लबका अध्यक्ष लालकाजी गुरुङले बताए ।
आफूहरूले हालसम्म के कस्तो काम गरेको छ भनी आमजनतालाई जानकारी गराउने उद्देश्यले हरेक दिनमा फसकम फस सर्भिसको आधारमा एउटा बसले दिनमा दुई पटक लैजाने तथा ल्याउने व्यवस्था मिलाएको प्रथम उपाध्यक्ष सुरज श्रेष्ठले बताए । उक्त बसमा समेत विभिन्न वन्यजन्तु तथा पशुपन्छीको तस्बिरसहित पोखरा महोत्सव भनी बसभरि पोस्टरिङ गरिएको छ । साथै बसभित्र जुलोजीकल पार्कको बारेमा समेत जानकारी भिडियोसहित प्रदर्शन गरिने भएको छ ।
उक्त क्लबको अभियानलाई सफल पार्न पचभैया होमस्टेले आगन्तुक चिडियाखाना अवलोकन गर्ने पर्यटकलाई स्वागत गर्ने जुलोजीकल पार्कका सचिव एवं स्थानीय होटल व्यवसायी दामुदारभक्त थापाले बताए । क्लबको अभियानलाई पोखरामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गराउने उद्देश्यले गण्डकी प्रदेश सरकारले समेत ३ करोड आर्थिक सहयोग गर्ने भएको छ । उक्त जुलोजीकल पार्कको डीपीआरका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक करोड ५० लाख विनियोजन गरेको छ भने थप एक करोड ५० लाख थप संरचनाको लागि रकम विनियोजन गरेको क्लबले जनाएको छ । पोखरामा मेला र महोत्सव विभिन्न संघ संस्थाले सञ्चालन गर्दै आए पनि हालसम्म कुनै मेला वा महोत्सवको कारण यहाँ नयाँ पर्यटकीय गन्तव्य थप्न नसकेको अवस्थामा क्लबको अभियानमा पोखरामा नयाँ मानवनिर्मित पर्यटकीय गन्तव्य थपिँदा पोखरेली खुसी भएका छन् ।