केदार दाहाल
आइतवार, पुष २९, २०७५
1030

छोटो दूरीमा उडाउँदा इन्जिनको साइकल खेर जाँदैछ 

नेपाल वायुसेवा निगमले झन्डै २४ अर्ब रुपैयाँ खर्चिएर खरिद गरेको दुई थान वाइडबडी जहाज नेपाल भित्रिएकै ६ महिना पुगिसकेको छ । दुवै जहाज खरिदका लागि लिइएको ऋणको वार्षिक ब्याज नै २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी छ ।  निगमले दुई थान वाइडबडी जहाज खरिदपश्चात आफ्नो बजार हिस्सा १७ प्रतिशत पुग्ने दावीसमेत गरेको थियो । यस्तै, १० लाखभन्दा बढी हवाई यात्रुलाई सेवा दिने समेत घोषणा गरेको थियो । संसद्देखि सरकारसम्म निगमले खरिद गरेका जहाजको अनियमितता भएको भन्दै हंगामा मच्चिएको छ । तर जहाज कति उड्नु पर्ने हो ? जहाज कुन गन्तव्य र प्रयोजनका लागि ल्याइएको हो ? भन्ने बहस भने निगम व्यवस्थापनदेखि सरकार र संसद्सम्मको प्राथमितामा परेको छैन । दैनिक १६ घन्टासम्म उडान भर्नसक्ने जहाज यतिबेला ८ घन्टा पनि मुश्किलले उडान भरिरहेको स्वयम् निगम व्यवस्थापनले नै बताउँदै आएको छ । दक्षिण कोरिया, जापान, चीन र युरोपलगायत गन्तव्यमा उडान भर्ने घोषणासहित जहाज खरिद गरिएको थियो । तर, जहाज पुरानै न्यारोबडी जहाजले उडान भरिरहेका गन्तव्यमा उडान भर्दै आएका छन् । दुई साता अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले आयोजना गरेको समीक्षात्मक बैठकमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले वाइडबडी जहाजले ७ देखि ८ घन्टा उडान गरिरहेको बताएका थिए । उनले फेब्रुवरी महिनादेखि जापान उड्ने समेत बताएका थिए । तर, निगमकै एक अधिकारीले फेब्रुवरीमै जापान उड्न नसक्ने जिकिर गरेका छन् । निगमका एक अधिकारीका अनुसार २ सय ७५ सिटको एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाजमा न्यारोबडी जहाजका १ सय ५६ यात्रु राखेर उडाइँदै आएको छ । यसले वाइडबडी जहाज उड्दा पनि घाटामा उडाइरहेको ति अधिकारीको भनाइ छ । “जहाज आएको ६ महिनासम्म पनि नयाँ गन्तव्यको टुंगो लगाउन नसक्नु निगम व्यवस्थापनको चरम लापरवाही हो,” निगमकै एक इन्जिनियर भन्छन् । निगममा नगद प्रवाहमै समस्या आएको छ भने व्यवस्थापनले पनि नयाँ गन्तव्य तत्काल खोज्न नसकेमा झनै समस्या पर्ने र ऋणदताको पैसासमेत डुब्ने जोखिम रहेको उनको आकलन छ । “ग्राउन्ड ह्यान्डलिङको रकमले धनिएको निगम वाइडबडी आएपछि खर्चसमेत बढेकोले पनि अब १५ घन्टा पूर्ण अकुपेन्सीमा जहाज नउडाए समस्य आउनेछ,” उनले भने । निगमले खरिद गरेका दुई थान वाइडबडी जहाजका लागि १२÷१२ अर्ब रुपैयाँ कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषले दिएका छन् ।  एयरबस ३२० र एयरवस ३३० को उडान लागतमा आकाशपाताल फरक पर्ने प्राविधिकहरूको भनाइ छ । “दुवैले बोक्ने यात्रु संख्या उही भएपछि व्यावसायिकरूपमा नचलेकै मान्नुपर्छ,” निगमका एक पाइलटले भने । अर्बौं लगानीका एयरबस ३३० ले एकातिर छोटो दूरी उडेर इन्जिनको लाइफसाइकल खेर फालिरहेका छन् । अर्कोतिर बजार प्रबद्र्धन अभावमा २७५ सिट क्षमता भए पनि १५६ सिट क्षमताका एयरबस ३२० कै यात्रु बोकेर उडिरहेका छन् ।  एयरलाइन्सले मलेसिया र दुबईमा उडान अनुमति पाएकै छैन । कोरियाले अनुमति दिनुपहिले सुरक्षा अडिट गर्न एक टोली पठाउने पत्र पठाएको थियो । सोही पत्रअनुसार नेपाल बोलाउने तयारी भए पनि अहिलेसम्म बोलाइएको छैन । यस्तै, जापान र साउदी अरेबियामा निगमले अहिलेसम्म जनरल सेल्स एजेन्ट (जीएसए)समेत नियुक्त गर्न सकेको छैन । साउदीमा एयरलाइन्स टोली पुगेर कानुनी रूपमा अनुमतिका लागि सबै प्रक्रिया .पूरा गरिसकेको तर उताको निर्णय आउन ढिला भएको निगमको भनाइ छ । जापानमा भने एयरलाइन्सले उडान अनुमतिका लागि आवेदन मात्र दिएको छ । अहिलेसम्म प्रतिक्रिया आएको छैन । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले खरिद प्रक्रियाको छानबिनकै कारण उडानमा समस्या नहुने बताउँछन् । “छानबिन चलिरहन्छ तर नयाँ गन्तव्य पनि खोजी भइरहेको छ र अब छिट्टै सुरु हुनेछ । अब चाँडै नै चीन, जापान र कोरिया निगमले उडान भर्ने छ,” मन्त्री अधिकारीले भने ।
 

न्यारोबडीको सी–चेकमा अढाई अर्ब
 निगमले वाइडबडी जहाजलाई गन्तव्य नपाइरहेका बेला यसअघि खरिद गरिएका न्यारोबडी एयरबस ३२० जहाजको इन्जिन ओभरअल (सी–चेक) गर्नुपर्ने समय भएको छ । जसका लागि निगमले कम्तीमा २ अर्ब ५० करोड रुपैयाँ खर्चनुपर्ने अवस्था छ । निगम सञ्चालक समितिमा अहिलेसम्म उक्त प्रस्ताव नआएको एक सञ्चालकले बताए । वाइडबडी खरिद प्रकरणकै कारण उक्त निर्णय गर्न समेत सञ्चालक समिति हच्किएको छ । “अब यो निर्णय पनि मन्त्रिपरिषद्बाटै गर्नुपर्ने अवस्था आएको छ,” ती सदस्यले भने । जहाजको प्रत्येक दुई वर्षमा सी–चेक अनिवार्य हुन्छ ।