मनिषा चम्लागाईँ
सोमवार, फाल्गुन १३, २०७५
541

झापा -इलाम सन्दकपुर गाउँपालिका–३का जीवन शिवा र लिला शिवाले २०६९ सालदेखि होमस्टे सञ्चालनमा ल्याए । शिवा दम्पतीले पर्यटकीय सम्भावना बोकेको माईपोखरी, सन्दकपुर, छिन्टापु, टोड्के झरना, ढापपोखरी लगायत पर्यटन केन्द्रमा आइपुग्ने पाहुनालाई लक्षित गर्दै होमस्टे सञ्चालनमा ल्याएका हुन् । उनीहरूले मात्र होइन, यस क्षेत्रका ९ घरले ०६९ सालदेखि नै होमस्टे सञ्चालनमा ल्याए । होमस्टे सञ्चालनमा ल्याए पनि प्रचारको अभावमा उक्त पर्यटकीय स्थलसम्म आइपुग्ने पाहुना बास बस्नकै लागि अन्यत्र जाने गरेकाले स्थानीय होमस्टेको प्रर्वधन र प्रचारमा जुटेका छन् ।
यस क्षेत्रका पर्यटकीय स्थल र होमस्टे सञ्चालनको सम्भावना देखेर कञ्चनजङ्घा भूपरिधि संरक्षण तथा विकास पहल नेपालले सहयोग सुरु ग¥यो । माईपोखरी कञ्चनजंघा भूपरिधिभित्र पर्ने रामसार क्षेत्र हो । कञ्चनजंघा भूपरिधिको सहयोगमा स्थानीय ९ घरले २०७३ सालदेखि सामूदायिक होमस्टे सञ्चालनमा ल्याएका छन् । उनीहरूले माईपोखरी देउराली सामूदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् । नेपाल, भारत र भुटानका कञ्चनजङ्घा भूपरिधी भित्रको २५ हजार वर्ग किमि क्षेत्रफलमा यो कार्यक्रम सञ्चालित छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतिय विकास केन्द्र (इसिमोड)ले तीन देशमा एकीकृत संरक्षणको कामलाई सहजिकरण गरिरहेको छ ।
जैविक विविधताले भरिपूर्ण यो क्षेत्रको संरक्षणमा स्थानीयबासीलाई समेट्दै लैजाने उद्देश्यले नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र रिकाष्टले यो कार्यक्रम हेरिरहेको छ । ग्रामिण क्षेत्रको पर्यटन प्रर्वधन र आयस्रोतलाई बढाउने उद्देश्यका साथ होमस्टे प्रर्र्वधनमा लागि परेको कञ्चनजंघा भूपरिधि संरक्षण तथा विकास पहल नेपालका कार्यक्रम संयोजक डा. यादव उप्रेतीले बताए । यस कार्यक्रम अन्र्तगत संस्थाले झापाको बाहुनडाँगी र पाँचथरको फालेलुङ गाउँपालिकाका पनि काम गरिरहेको छ । होमस्टे सञ्चालकको क्षमता अभिबृद्धि गराउनु मुख्य उद्देश्य रहेको डा. उप्रेती बताउँछन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक स्थलका रुपमा यस क्षेत्रलाई लिए पनि भौतिक पूर्वाधार र प्रचार प्रसारको अभाव रहेको वन तथा वातवरण मन्त्रालयका अधिकृत रविन गल्यान मगरले बताए ।

होमस्टेको आकर्षण
यस क्षेत्रका होमस्टेको आकर्षण फरक छ । काठ, बाँसको चित्राले सजाइएको घर, आर्कषक फूलवारी, बगैचा र गुराँसको मालाले पाहुनाको स्वागत ! जोकोही पाहुनालाई मोहित पार्ने । गुन्द्रुकको सुप, भुटेको मकै, सेल रोटी लगायत खाद्यन्न (खाजा) अतिथीको रोजाइमा पर्ने गरेका छन् । आफूले रोपेको सागसब्जी, लोकल कुखुराको सुप, चिमफिङ र टिम्मुरको अचार, गाईँ–भैँसीको दूध र स्थानीय चामलको खानाको स्वादले पाहुनालाई होमस्टेको अनुभूति सहज रुपमा दिलाउँछ ।
नेपालको चितवनमा रहेको अमलटारी होमस्टे, धनकुटाको नाम्दे होमस्टे, नवलपरासीको प्रिप्रहार होमस्टे, भारतको सिक्किममा रहेका होमस्टेको अवलोकन गर्न कञ्चनजङ्घा भूपरिधिले प्राविधिक सहयोग गर्दै आएको देउराली सामूदायिक होमस्टेकी सचिव लीलादेवि भट्टराई बताउँछिन् । सफल होमस्टे सञ्चालनमा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उनले बताइन् । धेरै समय पहिलेदेखि होमस्टे सञ्चालनमा ल्याएपनि केही समय अघिदेखि मात्र अतिथी आउने क्रम सुरु भएको होमस्टे सञ्चालक सोमबहादुर राई बताउँछन् । आगन्तुकको चाहना अनुसारको व्यवस्थापनमा लागि परेको राईले सुनाए ।
माईपोखरी देउराली सामूदायिक होमस्टेमा ५० जना बढीलाई खानबस्नको व्यवस्था गर्न सक्ने क्षमता रहेको सामूदायिक होमस्ट सञ्चालनका अध्यक्ष ठाकुरप्रसाद राईले बताए । “यस क्षेत्रका पर्यटकीय स्थललाई समेटर टुर प्याकेज निर्माण गरिरहेका छौँ,” अध्यक्ष राईले भने, “पर्यटकीय क्षेत्रलाई समेटेर टुर प्याकेज बनाउँदै होमस्टे प्रर्वधन गर्ने लक्ष्य छ ।” राई, लिम्बू, शेर्पा, ब्रम्हण, क्षेत्री, दलितलगायतको बसोबास रहेको यस क्षेत्रमा स्थानीय उत्पादन प्रयोग गर्दै स्थानीयको कला संस्कृति, पहिचान झल्काउने योजना होमस्टे सञ्चालकले राखेका छन् । उनीहरूले जातीय परम्परा, संस्कृति र भेषभूषालाई पनि होमस्टेको आर्कषणको रुपमा विकास गर्ने योजना बनाएका छन् । सानो क्षेत्रफलमा धरै पर्यटकीय गन्तव्य रहेको यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने देखिन्छ । स्थानीय स्वयम् पर्यटन प्रवद्र्धनमा चासो देखाउन थालेका छन् । कृषि पेसामा निर्भर स्थानीयलाई होमस्टे सञ्चालन मार्फत् आयआर्जनमा वृद्धि भएसँगै जीविकोपार्जमा पनि सहज भएको स्थानीयको भनाइ छ ।