कारोबार संवाददाता
आइतवार, चैत्र १०, २०७५
526

नेपालगन्ज विमानस्थल

नेपालगन्ज-नेपालगन्ज विमानस्थलको स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय उडान सुरु गराउने उद्देश्यले निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय टर्मिनल भवनको डिजाइन र लागत स्टिमेट तयार भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि ३० करोड रुपैयाँको लागत स्टिमेट तयार गरिएको जनाउँदै नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले केही समयभित्रै टेण्डर प्रक्रिया सुरु गरिने बताए ।

अन्तर्राष्ट्रिय उडानका लागि सबैभन्दा पहिले अन्तर्राष्ट्रियस्तरका पूर्वाधार निर्माण आवश्यक रहेको जनाउँदै उनले त्यसका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका साथसाथै अन्य पूर्वाधार तयार गरिने जनाए ।
लागत स्टिमेट तयार भैसकेपछि ठेक्का आह्वान गर्ने बाटो खुलेको जनाउँदै नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख ठाकुरले सो टर्मिनल भवनभित्र इमिग्रेसन, भन्सार, क्वारेन्टाइन र सुरक्षा पोस्टलगायतका अति आवश्यक भवनहरू रहने बताएका छन् ।
“ती सबैको निर्माण नगरिएसम्म अन्तर्राष्ट्रिय उडान सुरु गर्न सकिँदैन, त्यसपछि मात्र हवाई रुटका बारेमा उडान गर्ने देशसँग कुराहरू अगाडि बढाउन सकिन्छ,” उनले भने । अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणका लागि टेन्डर भइसकेपछि यी सबै भवन निर्माणमा करिब डेढ वर्ष लाग्ने र त्यसपछिमात्र अन्तर्राष्ट्रिय उडान सम्भव हुने प्रमुख ठाकुरले बताए ।
“यो विमानस्थलमा बोइंगजस्ता ठूला विमानहरू ल्याउन नसकिने अवस्था छ, तर इन्टरनेसनल टर्मिनल भवन निर्माण गरिएपछि एटीआरबाट भारतका विभिन्न सहरमा उडान गर्न सकिनेछ,” उनले भने ।
विमानस्थलको स्तरोन्नतिपछि नेपालगन्ज–दिल्ली, नेपालगन्ज–लखनउका साथै भारतका अन्य सहरहरूमा समेत उडान सुरु गर्न सकिने नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ । यसैबीच विमानस्थलको स्तरोन्नतिका सम्बन्धमा ‘गुरु योजना’ पनि तयार भइसकेको सो कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभयाले नेपालगन्ज विमानस्थलको ‘गुरु योजना’ तयार गरेका थिए ।
तर, उनको निधनपछि अब सो गुरुयोजनालाई अन्य उच्च अधिकारीले प्रस्तुत र परिमार्जित गर्ने नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख ठाकुरले बताए ।
उता, विमानस्थलको स्तरोन्नति अन्तगरत पार्किङस्थल निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । प्राधिकरणका अनुसार पार्किङस्थलको निर्माणपछि ८ वटा एटीआर ७२ जहाज त्यहाँ सहज रूपमा पार्किङ गर्न सकिनेछ । अबको एक वर्षभित्र सक्ने गरी निर्माणको काम भइरहेकोे विमानस्थलले जनाएको छ ।
पार्किङ निर्माणका लागि २८ करोड ५३ लाख ४० हजार ९ सय ४३ रुपैयाँमा निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन प्रालि मैजुबहाल काठमाडौंसँग सम्झौता भएको थियो ।
अहिले नेपालगन्ज विमानस्थलबाट नेपाल एअरलाइन्स, श्री एअर, सौर्य एअर, बुद्ध एअर, तारा र गोमाले उडान भर्दै आएका छन् । यहाँबाट संघीय राजधानी काठमाडौं बाहेक रुकुमको चौरजहारी र सल्ले, मुगुको ताल्चा, डोल्पा, हुम्ला, जुम्ला र बाजुरामा उडान हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।
यस क्षेत्रका उद्योगी व्यवसायीले लामो समयदेखि भारतको लखनउ, दिल्ली जस्ता सहरमा हवाई उडानको माग गर्दै आए पनि भौतिक पूर्वाधारको अभावका कारण त्यसो हुन नसकेकोमा अब अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माण प्रक्रिया अगाडि बढिसकेकाले छिट्टै माग पूरा हुने आशा पलाएको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
अन्तर्राष्ट्रियस्तरका भौतिक पूर्वाधार निर्माणका लागि उद्योगी व्यवसायीले सरकारलाई निरन्तर दबाब दिइरहने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बताए ।