कारोबार संवाददाता
सोमवार, चैत्र ११, २०७५
669

स्याङ्जा-गण्डकी प्रदेशको केन्द्रस“ग सिमाना जोडिएको पर्यटकीय तथा धार्मिक दृष्टिकोणबाट प्रचुर सम्भावना बोकेको एक जिल्ला हो, स्याङ्जा । पोखराबाट सवारी साधनमा करिब १ घण्टा घुम्ती बाटो ३५ किलोमिटरको यात्रापश्चात् रमणीय र पर्यटकीय स्याङ्जा जिल्ला पुग्न सकिन्छ ।
स्याङ्जा जिल्लामा रहेका विविध पर्यटकीय स्थान र धार्मिक स्थलहरूले स्याङ्जा पुग्ने जो कोही आन्तरिक तथा बाह्य पर्यटकहरूको मन लोभ्याउ“छ । हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको नेपालका एक सय पर्यटकीय गन्तव्यमा स्याङ्जाका चार गन्तव्यलाई पर्यटकीय सूचीमा सूचीकृत गरिएको छ ।
यसमध्ये २ पर्यटकीय गन्तव्यलाई नया“ गन्तव्यका रुपमा समावेश गरिएको छ भने दुईलाई प्रवद्र्धनात्मक गन्तव्यको सूचीमा समावेश गरिएको हो । स्याङ्जाका सतौं चण्डीथान र आलमदेवी नया“ गन्तव्य एवं सिरुबारी र स्वरेक मैदानलाई प्रवद्र्धनात्मकतर्फ समावेश गरिएको छ । स्याङ्जाका घुम्न लायकका पर्यटकीय गन्तव्य र धार्मिक हिसाबले चर्चित केही स्थलहरू यस्ता छन् ।

दरौं सिरुबारी
स्याङ्जाको उत्तरी क्षेत्र आ“धीखोला गाउ“पालिकामा पर्ने स्थापित ग्रामीण पर्यटनको अवधारणामा आधारित दक्षिण एसियाकै पहिलो होमस्टे (घरबास) दरौं सिरुबारी हो । पोखराबाट करिब ६५ किमी टाढा पर्ने सिरुबारी १ हजार ५ सय मिटरको उचाइमा छ, जुन गुरुङ बस्तीका रूपमा प्रख्यात रहेको छ ।
सिरुबारीमा पुग्न सिद्धार्थ राजमार्गको नागडा“डा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हु“दै जान सकिन्छ । पर्यटकहरूलाई न्यानो स्वागत, स्थानीय उत्पादनमा आधारित अर्गानिक स्वच्छ खानपिनले सिरुबारी पुग्ने जो कोहिलाई आनन्दित महसुस गराउ“छ ।
सिरुबारीबाट धौलागिरी र माछापुच्छे हिमश्रंखलाको सहजै अवलोकन गर्न सकिन्छ । नेपाल भ्रमण वर्ष १९९८ मा सिरुबारीलाई होमस्टे घोषणा गरिएको हो ।

भालुपहाड
पोखराबाट सिद्धार्थ राजमार्ग जाने बाटोमा २८ किलोमिटर पार गरेपछि भालुपहाड पुगिन्छ । मुख्य हाईवेमा नै घुम्ती र चट्टानको पहरो भालुपहाडले सबै यात्रुहरूलाई आनन्द दिलाउने गर्दछ ।
भालुपहाडको बाटो भएर यात्रा गर्ने जो कोहि पनि एक क्लिक फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्न लालयित हुन्छन् । अझ बेलाबखत गरिने म्यूजिक भिडियो र चलचित्रको सुटिङले यस स्थानलाई झनै सबैसामु लोकप्रिय बनाइदिएको छ । पुतलीबजार र फेदीखोला गाउ“पालिमा पर्ने यस स्थानलाई उक्त पालिकाले पर्यटकीय केन्द्र बनाउने गुरुयोजना निर्माण गरिसकेको छ ।

स्वरेक मैदान
स्वरेक मैदान स्याङ्जा जिल्लाको अर्को प्रमुख पर्यटकीय सम्भावना बोकेको स्थान हो । स्याङ्जाको भीरकोट नगरपालिका ५ मा पर्ने स्वरेक मैदान पर्यटकीय रुपमा विकास गर्न खोजिएको छ । हालसालै स्वरेकमा पहिलो पटक अन्तर्राष्ट्रिय खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता २०७५, राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता २०७४ सम्पन्न भइसकेकाले यस स्थानको नाम नेपालमा मात्र नभई विश्वमै प्रख्यात बन्दै गएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत भीरकोट नगरपालिका १ बयरघारीबाट ७ किलोमिटर र वालिङ नगरपालिकाको वालिङ बजारदेखि १२ किलोमिटरको कच्ची सडक हुदैँ यस स्थलमा पुग्न सकिन्छ । नेपालकै पहिलो प्यारग्लाइडिङ पाइलट सानुबाबु सुनुवारले स्वरेकमा दक्षिण एशियाकै पहिलो प्याराग्लाइडिङ स्कुल स्थापना गरेका छन् ।

कालीगण्डकी जलविद्युत् आयोजना र सेतीवेणी
कालीगण्डकी जलविद्युत् ‘ए’ परियोजना पोखराबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको छ । कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो १४४ मेगावाट क्षमताको जलप्रवाह परियोजना हो । कालीगण्डकीमा स्टिमर सञ्चालन भएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थलमा पर्ने सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम शिलाको अध्ययन अवलोकन गर्नका साथै स्टिमरमा जलयात्रा गर्नका लागि विभिन्न जिल्लासहित विदेशबाट समेत पर्यटक आउने गरेका छन् ।

छाङ्गछाङ्गदी
स्याङ्जा जिल्ला भीरकोट नगरपालिकामा छाङ्गछाङ्गदी रहेको छ । स्याङ्जा सदरमुकामबाट करिब १८ किलोमिटर दक्षिण सिद्धार्थ राजमार्गमको छेउमै छाङ्गछाङ्गदी पर्दछ ।
स्वस्थानी व्रतकथामा आधारित सतीदेवीको अन्तिम अङ्ग पतन भएको स्थलले यो स्थान चर्चित छ । छाया“क्षेत्रको नामले समेत परिचित यस पवित्र स्थलमा भीरमा बनेको मन्दिर र सितल वातावरणस“गै गाईको मुखजस्तै देखिने धाराबाट आउने पानी आकर्षणको केन्द्रबिन्दु मानिन्छ । सिद्धार्थ राजमार्गको ओहोरदोहोर गर्ने जो कोहि पनि यस स्थानको दर्शन गर्ने गर्दछन् ।

रामनदीधाम
स्याङ्जा र पाल्पा जिल्लाको सिमानामा रहेको कालिगण्डकी नदी किनारामा रहेको प्रशिद्ध धार्मिक स्थल हो रामनदीधाम । यहा“ वैशाखे सक्रान्ति, कात्तिके ठूली एकादशी सहित विभिन्न समयमा मेला लाग्ने गर्दछ । यो धार्मिक स्थल सदरमुकामबाट ५२ किलोमिटर दक्षिणमा पर्छ ।
राम्दीघाटमा सुविधासम्पन्न वृद्धाआश्रम पनि रहेको छ, जहाँ करिब एक सय वृद्धवृद्धाहरू बसोबास गरेका छन् । रामनदीधाम नजिकै शिद्ध गुफा समेत रहेको छ । उक्त गुफामा लगेर परम्परागत समयमा व्रतबन्ध गराउनुका साथै घरमा गाई, भैसी ब्याउँदा दूध चढाएमा राम्रो हुने विश्वास गरिन्छ ।


सतौं चण्डीथान र चण्डीकालीका
चण्डीथान स्याङ्जा जिल्लाको अर्को एक पर्यटकीय तथा धार्मिक दृष्टिले सम्भावना बोकेको स्थान हो । पुतलीबजार नगरपालिका १४ सतांैमा यो मन्दिर पर्दछ । स्याङ्जाबाट करिब डेढ घण्टा पैदल हिँडेर वा २० मिनेटको सवारी साधनको यात्रापछि पुग्न सकिन्छ ।
नेपाल सरकारको एकसय वटा नयाँ पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत भएको स्याङ्जाको सतौं चण्डीथान पनि एक हो । यो स्थानलाई बाइसे चौबीसे राज्यका पालामा पश्चिमका चौबीसे राज्यहरूमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रुपमा समेत लिईने गरिन्छ ।

सुन्तलाबारी होमस्टे र क्यानोनिङ
स्याङ्जा जिल्लाको अर्को पर्यटकीय गन्तव्यका रुपमा लोकप्रिय स्थान हो, वालिङ नगरपालिका ४ एलादीस्थित सुन्तलाबारी होमस्टे र क्यानोनिङ । स्याङ्जा सदरमुकामबाट करिब २४ किलोमिटर दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रामबाच्छा पुगेपछि त्यसबाट पूर्वतर्फ ७ किलोमिटर ग्रामीण सडकको यात्रापछि सुन्तलाबारी होमस्टे पुग्न सकिन्छ । होमस्टे स्थलदेखि करिब १० मिनेटको दूरीमा रहेको खाल्टेमा २ वटा क्यानोनिङ स्थल निर्माण गरिएको छ ।

आलमदेवी
स्याङ्जा जिल्लाको कालिगण्डकी गाउ“पालिका अन्तर्गत साविकको आलमदेवी गाविसमा पर्ने ऐतिहासिक धार्मिक क्षेत्र हो, आलमदेवी मन्दिर । स्याङ्जाको सदरमुकाम पुतलीबजार बाट ७७ किलोमिटर दक्षिण पश्चिममा यस मन्दिर तथा धार्मिक स्थललाई स्याङ्जाको प्रशिद्ध मन्दिरका रुपमा लिइन्छ ।
धार्मिक रुपमा प्रख्यात आलमदेवी मन्दिरलाई शाह वंशका कुलदेवीका रुपमा लिइन्छ । यस मन्दिरलाई स्थानीय आफैंले निर्माण गरेका हुन् । यस मन्दिरमा शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा स्याङ्जा सहित छिमेकी जिल्लाबाट भक्तजनहरू आउने गर्दछन् । यस मन्दिरमा मगर जातीका पूजारी छन् ।

नुवाकोट
स्याङ्जा जिल्लाको उच्च मध्य पहाडी भूभागमा अवस्थित पर्यटकीय ठाउँ हो, नुवाकोट र कालाभैरव । स्याङ्जाको पुरानो सदरमुकाम समेत रहेको नुवाकोट समुन्द्र सतहबाट १ हजार ९ सय मिटर को उचाइमा रहेको छ । चौबिसे राज्य मध्येको एक शक्तिशाली राज्य नुवाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहा“बाट माछापुछ्रे, अन्नपूर्ण, धवलागिरी, मनास्लु जस्ता हिमालको अवलोकन गर्न पाइन्छ ।

श्रवणकुमार समाधी क्षेत्र र अन्धाअन्धी दह
स्याङ्जा जिल्लाको साविकको वाङसिङ्ग गाविसको वडा नं ८ को घ्याङ्गसिरीमा श्रवणकुमार समाधि क्षेत्र रहेको छ । यस स्थानमा पानी भर्दा वाण लागि श्रवण कुमारको मृत्यु भएकाले यस ठाउँलाई श्रवण कुमार समाधी क्षेत्रको नामले चिनिएको किम्वदन्ती पाइन्छ । यहा“ श्रवण कुमारले पानी भर्दा घोप्टो परेको मूर्ति, पानीको रङ्ग रातो र दशरथले वाण हान्न लुकेर बसेको पहरा समेत छ । उक्त स्थानमा हाल बाला चतुर्दशीमा ठूलो मेला लाग्ने गरेको छ । उक्त क्षेत्रमा मन्दिर समेत निर्माण गरिएको छ ।

प्रकाश डोटेल