कारोबार संवाददाता
आइतवार, बैशाख १, २०७६
157

पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई पर्यटकीय राजधानीको रूपमा घोषणा गरे नेपाल भ्रमण वर्ष सन् २०२० मा १० लाख पर्यटक गण्डकी प्रदेशबाटै भित्रयाउने दाबी गरेका छन् । पोखराको फेवाताल किनारामा शुक्रबारदेखि सुरु भएको १६औं संस्करणको फेवा नव वर्ष महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले पोखरालाई पर्यटकीय राजधानीको रूपमा घोषणा भए नेपाल भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेकोमा गण्डकी प्रदेशले १० लाख पर्यटक भित्रयाउने दाबी गरेका हुन् ।
उनले भने, “अहिले पनि काठमाडौं आउने करिब ४० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन्, यदि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने हो भने त्यो संख्या ह्वात्तै बढ्ने छ, यस क्षेत्रका जनतामा थप उत्साह हुनेछ ।” गण्डकी प्रदेशले मन्त्रिपरिषद्बाट पोखरालाई पर्यटनको राजधानीको रूपमा घोषणा गर्न संघीय सरकारसमक्ष माग गरे पनि हालसम्म घोषणा नभएको गुनासो गर्दै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदशेको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा हुने प्रदेशमा उत्सवसमेत बनाउने जनाएका छन् । पोखरालाई पर्यटनको हबको रूपमा विकास गर्न पनि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नुपर्ने उनको माग थियो । आगामी एक वर्षभित्र गण्डकी प्रदेश सरकारले लगानी सम्मेलन गरी यस प्रदेशमा लगानीको वातावरण सिर्जना गर्ने उनले जनाए । उनले भने, “हालै नेपालमा भएको लगानी सम्मेलन पोखरामा हुने कुरा थियो तर पोखरामा एक हजार सिट क्षमताको सभाहल नभएको हँुदा काठमाडौंमा भएको हो, अब हामीले यस प्रदेशमा कम्तीमा एक हजार सिट क्षमताको सभाहल निमार्ण गर्न खोजेका छौं, यसमा निजी क्षेत्रसँग सहकार्य गरी हामी अघि बढ्ने योजनामा छौं ।”

पोखरामा चिडियाखाना, व्यवस्थित बसोवास, सडक संजाल, हरियाली वातावरण लगायतका विषयमा प्रदेश सरकार गम्भीर भएको मुख्यमन्त्री गुरुङले बताए । गण्डकी प्रदेशमा भएको अब्यवस्थित बसोवासलाई सहुलियतको अपार्टमेन्ट सिस्टमा लैजाने योजना प्रदेश सरकारको रहेको उनले जनाए । गण्डकी प्रदेशका सांसद राजिव पहारीले फेवाताल संरक्षणको विषयमा सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्न आफूहरू कटिबद्ध रहेको बताए । पोखराको पर्यटनको कुरा गर्दा फेवाताल विना अधुरो हुने जनाउँदै फेवाताल संरक्षणमा सबै लाग्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोख्रेलले पोखरा जोड्ने विभिन्न सडकलाई कम्तीमा ४ लेनको हुनुपर्ने बताए ।