पर्यटनमा डिजिटल मार्केटिङको आवश्यकता
दीपकराज जोशी
सोमवार, जेठ २८, २०७५
278

पर्यटनमा डिजिटल मार्केटिङको आवश्यकता
दीपकराज जोशी
प्रमुख कार्यकारी अधिकृत (सीईओ)
नेपाल पर्यटन बोर्ड
विश्वमा अहिले प्रचारको शैली परिवर्तन भएको छ । नेपालमा पनि पर्यटनको विकासको लागि पूर्वाधारका संरचना खडा गर्दै पर्यटकीय गन्तव्यको प्रचार शैलीमा परिर्वतन जरुरी रहेको छ । प्रवद्र्धनबाटै पर्यटक भित्र्याउन सकिने भएकोले पनि अब पुरानो शैलीलाई परिर्वतन गर्दै डिजिटलमा जानुको विकल्प छैन ।
पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्रको योगदान बढ्ने हो । सरकारले पर्यटन क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार भने पनि सोहीअनुरूप विकास भने गर्न सकेको छैन । पुरानै प्रचार शैली र पूर्वाधार विकास नगरी पर्यटक आगमन बढाउन सम्भव नभएको हो ।
पर्यटकीय गन्तव्य र प्रडक्टको प्रचारमा अनलाइन मिडियाको प्रयोग ७ प्रतिशत छ । पर्यटकको संख्या बढाउन डिजिटल मार्केटिङको विस्तार गरी ३५ प्रतिशतसम्म पुराउन सके नेपालमा आगमन गर्ने पर्यटक संख्यामा आमूल परिर्वतन हुनेछ ।
सन् १९५० को दशकदेखि नेपालको पर्यटन क्षेत्रमा क्रमिक सुधार आएको हो । पछिल्लो सयम वाइल्डलाइफ टुरिजम, कल्चरल टुरिजम, राफ्टिङ टुरिजम, माउन्टेनेरिङ टुरिजम र ट्रेकिङ टुरिजमले नेपाललाई विश्व बजारमा चिनाएको छ ।
खुला नाका र नेपाल–भारत बीचको सुमधुर सम्बन्धले नेपाल भ्रमणमा आउने बढी पर्यटक भरतीय छन् । नेपालमा पर्यटक भित्र्याउन पूर्वाधारको अभाव नै मुख्य समस्याका रूपमा रहेको छ ।
सरकारले ल्याएको पर्यटन रणनीतिक योजनामा २०१९ सम्म १३ लाख र २०२५ सम्ममा २५ लाख पर्यटक पुराउने लक्ष्य राखिएको छ । विमानस्थल विस्तार र अन्य पूर्वाधारको विकास गर्न नसकेको खण्डमा लक्ष्य हासिल गर्न असम्भव छ ।
त्यसमा पनि हामीले जुन तवरबाट पर्यटकीय क्षेत्रको प्रचार गरिरहेका छौं, त्यसलाई पनि समय सान्दर्भिक सुधार गर्नुपर्दछ ।
सन् २०१५ मा आएको विनाशकारी भूकम्पका कारण त्यस वर्ष पर्यटन आगमनमा ह्वातै गिरावट आएको थियो । तर, त्यसपछि भने वर्षिक २५ प्रतिशत हाराहारीमा पर्यटन आगमन बढ्दो छ । सन् २०२० भित्र २० लाख पर्यटक ल्याउन हामीले अहिलेको वृद्धिदरलाई पनि परिवर्तन गर्नुपर्नेछ । अहिलेकै होटलले पनि २० लाखभन्दा बढी पर्यटकलाई सेवा दिन सक्छन् । तर, हामीलाई पर्यटक बढीभन्दा बढी ल्याउन पूर्वाधार पहिलो चुनौती रहेको छ ।
सन् २०१७ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या १० लाख हाराहारी पुगेको छ । यो राम्रो पक्ष हो । तर, नेपालमा भएका पर्यटकीय गन्तव्य आधारमा यो संख्या अत्यन्त कम हो ।

बोर्डको पर्यटन क्षेत्रमा काम
नेपाल पर्यटन बोर्डले निजी क्षेत्रको सहकार्यमा पर्यटन क्षेत्रको विकासमा प्रमुख चारवटा काम गर्दै आएको छ । बोर्डले सबैभन्दा पहिले गन्तव्यको पहिचान र प्रचारप्रसार गर्दै आएको छ । योसँगै बोर्डले पर्यटकीय सेवाको गुणस्तर वृद्धि र क्षमता विकासमा काम गर्दै आएको छ । सरकार तथा बोर्डले गन्तव्यको प्रचारमा प्रदर्शनी, मार्ट र विभिन्न प्रकारका मेला गर्दै आएको छ ।
योसँगै सडक नाटक, सेल्स मिसन, गन्तव्य प्रचार, विदेशी तथा स्वेदेशी व्यवसायी तथा मिडियासँगको सहकार्यमा जोइन्ट प्रचार, ब्रान्ड प्रमोसन तथा कर्पोरेट प्रमोसनलगायतको काम गर्दै आएको छ । गन्तव्य प्रचारमा प्रमोसनल कोल्याक्टर प्रोडक्ट, मिडिया, मास मिडिया तथा डिजिटल मार्केटिङ प्रयोग भइरहेको छ । डिजिटल मार्केटिङ नै अहिलेको अवस्थामा सबैभन्दा आवश्यक र प्रभावकारी कार्य हो ।
ब्रान्डको रूपमा नेपाल विगत दुई वर्षदेखि नेपाल हिमालयको प्रवेश विन्दुको नारा राखेर हिमालयन ट्राभल मार्ट गर्दै आएको छ । हिमालयन ट्राभल मार्ट नेपालको पर्यटकीय गन्तव्य प्रचारका लागि एउटा प्रमुख हतियार हो ।

पर्यटन क्षेत्रमा गर्नुपर्ने काम
पर्यटन बोर्डले नेपाललाई विश्वकै युनिक र लाइफटाइम गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने अहिले रहेको प्रतिपर्यटक ५३ डलरको खर्चलाई ६५ पुराउने लक्ष्य लिएको छ ।
खर्चसँगै पर्यटकको बसाइ पनि बढाउने सरकारी लक्ष्य छ । सरकारले आगामी आर्थिक वर्षभित्र प्रतिपर्यटक १२.६ दिनको बसाइलाई लम्ब्याएर १४ दिन पुराउने योजना ल्याएको छ ।
कुनै बेला नेपाल आउने पर्यटकको बसाइ १६ दिनसम्म थियो । पर्यटकको बसाइ लम्ब्याउन सकिने पर्वतारोहण र ट्रेकिङ पर्यटन विकासमा पनि कुनै विशेष योजना तथा कार्यक्रम ल्याउन सकिएको छैन । पर्यटकको बसाइ लम्ब्याउन सकिने नयाँ ट्रेकिङ रुटको पहिचान गर्दै प्रचारप्रसार गर्ने र पुराना रुटको पनि विकासमा ध्यान दिनुपर्दछ ।
पर्यटक आगमन बढाउन चिनियाँ पर्यटकलाई भिसामा सहजता दिनुपर्दछ । सबैभन्दा बढी पर्यटक आउने हवाई मार्ग सुधार समयमा हुन सकेको छैन । जहाज आकाशमै एक घन्टासम्म होल्ड गर्नुपर्ने अवस्था छ । नयाँ एयरलाइन्स कम्पनीलाई रातको समयभन्दा अन्य सममा उडान अनुमति दिनसक्ने अवस्था नरहेको अवस्थामा छ । जसका कारण पर्यटक आगमन बढाउन समस्या रहेको छ ।
अहिले सरकारले धार्मिक पर्यटकलाई पनि विशेष प्राथमिकतामा राखेको छ । नयाँ सेगेमेन्ट (हिन्दू सर्किट तथा बुद्धिष्ट सर्किट) का कार्यक्रम अगाडि बढाइरहेको छ ।

पर्यटन विकासका सात खम्बे रणनीति
पर्यटनको विकासलाई सातखम्बे नीति अगाडि बढाइएको छ । पहिलो खम्बामा सबैभन्दा पहिले एसिया क्षेत्रका लागि हामीसँग रहेको पर्यटकीय प्रडक्टको माग बढाउने हो । माग बढाउँदै गर्दा हामीले पर्यटकीय गन्तव्य प्रचारमा प्रयोग गर्दै आएको पुरानौ शैली परिवर्तन गर्नुपर्ने हुन्छ । यसैगरी गन्तव्यको प्रचार शैलीमा प्रतिस्पर्धात्मक डिजिटल क्षमता विकास गर्नुपर्नेछ । पर्यटन क्षेत्रको विकासमा गुणस्तरीय लगानी सुनिश्चित दिँदै र पर्यटकीय क्षेत्रको विविधतामा विकास गर्नुपर्छ । पुराना नारालाई परिर्वतन गर्दै व्यावसायिक क्षमताको विकास गर्दै पर्यटकीय गन्तव्यको उत्पादन र प्रचार गर्नुपर्ने हुन्छ ।
यही अनुरूप सरकारले आगामी आर्थिक वर्षभित्र एक सयवटा नयाँ गन्तव्यको खोजी गरी प्रचारप्रसार गर्ने योजना आगडि सारेको छ । पर्यटकीय क्षेत्रमा आवश्यक दक्ष जनशक्ति परिचालन, पर्यावरणीय सुन्दरतामा ध्यान दिनुपर्ने समय आएको छ । यसका लागि सबैभन्दा पहिलो मार्केटको अवस्था बुझ्नुपर्ने हुन्छ । जसमा विश्वमा पर्यटन क्षेत्र अहिले कुन अवस्थामा छ, त्यसको अध्ययन हुनुपर्छ ।
नेपाल विश्वको एक युनिक पर्यटकीय गन्तव्य हो । नेपालमा समरमा पनि जाकेट लगाउनुपर्ने ठाउँ छन् । प्रत्येक एक÷दुई किलोमिटरको दूरीमा फरक वातावरणीय अनुभव लिन सकिन्छ । त्यसमा नेपालीले पाहुनालाई ईश्वरसमान मान्छन् । पाहुनालाई नेपालीले हृदयदेखि स्वागत गर्छन् । नेपालमा विश्वका अग्लो शिखर सगरमाथा छ ।
हामीसँग दृष्यावलोकनमा लागि कैयौं हिमाल छन् । ६० वर्ष पुराना आइकनिक काठमाडौं सहर, विश्वसम्पदा सूचीमा समावेश पुरातात्विक, धार्मिक सम्पदा, एक सयभन्दा बढी जातजातिको भेषभूषा र संस्कृति, १२ वटा राष्ट्रिय निकुन्ज, तीनवटा वाइल्ड लाइफ रिजर्भ पनि छन् । हावापानीमा विविधता छ । गन्तव्यपिच्छे फरक हावापानी छ ।
यसैगरी असीमित एड्भेन्चर पर्यटकीय गन्तव्य र प्रोडक्ट, स्थानीय खाना, ठाउँ र जातअनुसारका संस्कृतिले नेपाल भरिपूर्ण छ । यसैगरी जंगल पर्यटनका प्रोडक्ट, हिमालयन ट्रेकिङ रुट, ताल, पोखरी, मठ मन्दिर र बुद्धको जन्मथलो लुम्बिनी पनि नेपालमै छ ।
पर्यटकीय गन्तव्य र प्रडक्टमा असीमित देश हो, नेपाल । त्यसमा पनि नेपाललाई चिनाउने गन्तव्यमा विश्वको उच्च शिखर सगरमाथा, सगरमाथा बेसक्याम ट्रेकिङ रुट, अन्नपूर्ण ट्रेकिङ रुट, शेर्पा संस्कति, गोर्खा इमेज, माउन्टेन भ्यू फ्लाई, ग्रेट हिमालयन ट्रेल, विविध भेषभूषा, संस्कृति, मनरोम वातावरण, साइट सिन, क्याम फायर, काठमाडौं उपत्यकाको पुरातात्विक सम्पदाको बढी डिमान्ड छ । स्थानीय खाना, फ्रेस हावापानी, योगासमेत बढी माग हुने गरेको छ ।

प्रचार शैलीमा परिवर्तन
पर्यटन विकासमा लागि प्रचारप्रसारको शैलीमा पनि परिर्वतन गर्नुपर्ने समय आएको छ । पर्यटकीय गन्तव्य र प्रडक्टको प्रचारमा अनलाइन मिडियाको प्रयोग अहिले सात प्रतिशत हाराहारी छ । तर, हामीले भनेअनुसार नै पर्यटकको संख्या बढाउँदै बढी आम्दानी लिन डिजिटल मार्केटिङ विस्तार गरी ३५ प्रतिशतसम्म पुराउनुपर्ने छ । यसैगरी अनुसन्धान अनुगमनलाई पनि तीन प्रतिशतबाट ६ प्रतिशत पुराउन आवश्यक छ । नेपाल ब्रान्ड प्रमोसनमा अति नै कमजोर छ । कुल प्रचार शैलीमा हाम्रो ब्रान्ड प्रमोसनको कार्यक्रम तीन प्रतिशतमात्रै छ । यसलाई १० प्रतिशतसम्म पुराउनुपर्दछ ।
यसैगरी सञ्चार तथा जनसम्पर्क एड्भोकेसीमा ३० प्रतिशत छ । यो शैलीबाट पर्यटक बढाउन सकिने सम्भावना कम छ । त्यसैले यसलाई १० प्रतिशतमा झानुपर्ने छ । ट्रेड शो, सेल्स मिसन र रोड शोको प्रचार शैलीलाई पनि कम गदै जानु पर्ने पर्ने हुन्छ । हामीसँग प्रडक्टको उत्पादन क्षमता आठ प्रतिशत छ । यसलाई बढाएर १२ प्रतिशतसम्म पुराउनुपर्ने छ ।