केदार दाहाल
मंगलबार, जेठ २९, २०७५
2476

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार फेरि अलपत्र


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी वेपत्ता भएको छ । गत असोजमा विमानस्थलको ३ सय मिटर धावनमार्ग विस्तारको जिम्मा पाएको चीनको सांघाई कन्स्ट्रक्सन कम्पनी सम्पर्कविहीन छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई १८ महिनाभित्र ३ सय मिटर धावनमार्ग निर्माणको जिम्मा दिएको थियो ।

विमानस्थल विस्तारअन्तर्गत एनसीभी–१ प्रोजेक्टको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको थियो । प्राधिकरणसँग गत असोजमा सम्झौता भएको तर हालसम्म पनि सम्पर्कमा नआएको प्रवक्ता विरेन्द्र श्रेष्ठले बताए । “अव उक्त चिनियाँ कम्पनीसंगको ठेक्का सम्झौता रद्द गरेर नयाँ टेन्डर निकाल्ने तयारी गरिरहेका छौं,” प्रवक्ता श्रेष्ठले भने ।
प्राधिकरणले चिनियाँ कम्पनीलाई ५६ करोड १८ लाख ७६ हजार रुपैयाँमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएदेखि एकपटक पनि कम्पनी सम्पर्कमा नआएको श्रेष्ठले बताए ।
विमानस्थल विस्तारका अन्य दुई काम भने नेपाली ठेकेदार कम्पनीहरूले नै अगाडि बढाएका छन् । एसीभी–२ अन्तर्गत टर्मिनल भवन निर्माणको जिम्मा पाएको नेपाली ठेकेदार कम्पनी शर्मा प्रेरा आर्सिसले काम थालेको छ । उक्त कम्पनीलाई २१ महिनामा सम्पन्न गर्ने गरी ८७ करोड ८ लाख ५९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
यस्तै, विमानस्थल विस्तारअन्तर्गत नयाँ सिष्टम, तेलको पाइपलाइनलगायत निर्माणको जिम्मा पाएको नेपाली ठेकदार कम्पनीले पनि काम सुरु गरेको छ । एनसीभी–३ प्रोजेक्टको जिम्मा आर्सिस प्रेरा कम्पनीले पाएको छ । आगामी १५ महिनामा सम्पन्न गर्नेगरी कम्पनीले २१ करोड ७२ लाख ४५ हजार रुपैयाँमा ठेक्का पाएको थियो ।
पार्किङ विस्तारको ठेक्का नै हुन सकेन
प्राधिकरणले दुई वर्षअघि स्पेनिस् कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँगको ठेक्का रद्द भएयता काम अगाडि बढाउन प्राधिकरण असफल भएको हो । नयाँ आउने पर्यटनमन्त्रीलाई नयाँ र साना विमानस्थलको मोहमा फसाउने प्राधिकरण नेतृत्व मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विस्तारमा ध्यान दिन सकेको छैन । विमानस्थको आइसीभी प्रोजेक्टअन्तर्गत १९ वटा विमान राख्न सकिने गरी पार्किङ वे विस्तार गर्ने लक्ष्य राखिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको चासोमा पनि त्रिभुवन विमानस्थल भन्दा काभ्रेको नागीडाँडामा विमानस्थल बनाउनेमा रहेको छ । तर, उक्त स्पेनिससँगको ठेक्का रद्दपछि अन्य कुनै पनि कार्य अगाडि बढेको छैन । समयमा काम सम्पन्न नगरेको भन्दै ठेक्का रोकिएको भएपनि दुई वर्ष बितिसक्दा पनि ठेक्का समेत हुन सकेको छैन । हाल विमानस्थलमा ३ वटामात्रै ठूला जहाज राख्न मिल्ने पार्किङ वे रहेको छ भने साना ६ वटा गरी ९ वटामात्रै जहाज राख्न सकिन्छ । नेपाल वायुसेवा निगमले दुई ठूला वाइडबडी जहाज ल्याउने भएपछि भने प्राधिकरणले हाल दुई वटा पार्किङ वे विस्तार गरिरहेको छ ।
६ करोड १० लाख अमेरिकी डलर अर्थात तत्कालिन अवस्थाको करिब ६ अर्ब रुपैयाँको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै प्रगति गरेको आरोप लगाउँदै ठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएको यतिका समयसम्म पनि नयाँ प्रक्रिया सुरु भने हुन सकेको छैन ।
एसियाली विकास बैंक (एडीबी) को ८ करोड अमेरिकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको काम सुरु भएको थियो । एडीबीले विमानस्थल विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो ।
सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तर्राष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता विस्तार गर्ने योजना छ । योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङलगायत रहेका छन् ।
एसियाली विकास बैंक (एडीबी) को १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको थियो । गुरुयोजनाअनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो ।