केदार दाहाल
बिहिवार, जेठ ३१, २०७५
1351

नेपाल र भारतपक्षबीच नयाँ हवाई प्रवेश विन्दुको विषयमा बिहीबार (आज)देखि वार्ता हुदैंछ । दुवै देशका प्रतिनिधिबीच शनिवारसम्म हुने वार्तामा नयाँ सहमति जुट्ने अपेक्षा गरिएको छ ।
गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई नयाँ हवाई विन्दु दिने विषयमा छलफल गरेर टुंग्याउने बताएका थिए । वार्ताका लागि बुधबार नै भारतीय नागरिक उड्डयन प्राधिकरणको एक टोली नेपालमा आइसकेका छन् ।

नयाँ हवाई विन्दु नपाउँदासम्म नेपालले पूर्व र पश्चिमबाट आएका सबै जहाज सिमराबाट प्रवेश गर्नुपर्ने बाध्यता रहेको छ । चार वर्षयता पटक-पटकको वार्तापछि भारतीय पक्षले नेपालगन्ज रुट तत्काल खोल्ने समझदारी गरेका थिए । तर, दुई पक्षले प्राविधिक रिपोर्ट तयार गरेर पुनः वार्ता गरेपनि टुंगिने भनिए पनि हालसम्म रुट भने खुल्न सकेको छैन ।
नेपालले भारतसँग जनकपुर, नेपालगन्ज र भैरहवाको हवाई रुट मागेको थियो । जनकपुर र नेपालगन्ज दिन भारत तयार भए पनि भैरहवाको रुट भने दिननसक्ने यसअघि नै बताइसकेको छ ।
नेपालले निर्माण जारी राखेका भैरहवा, पोखरा र निजगढ विमानस्थलका लागि पनि नयाँ हवाई रुट अत्यावश्यक छ । हाल सिमराबाट मात्रै हवाई रुट खुल्ला रहेको छ । गत वर्षको सहमतिमा महेन्द्रनगरबाट बाहिरिन दिने सहमति भएको थियो । उक्त सहमतिसमेत हालसम्म कार्यन्वयनमा आएको छैन ।
भारतीय पक्षसँग पूर्वका देशबाट आउने जहाज प्रवेशका लागि जनकपुर र विराटनगर विन्दु माग गरे पनि भारतीय पक्षले अहिलेसम्म स्वीकृति दिएको छैन । यसैगरी, पश्चिमतर्फका देशबाट आउने जहाजका लागि नेपालले भारतीय पक्षसँग नेपालगन्ज प्रवेश विन्दु माग गरिएको छ । फेरि, नयाँ हवाई प्रवेश विन्दुका विषयमा छलफलका लागि भारतीय पक्षले कोलकातामा बैठक गर्ने निर्णय गरिसकेको छ । तर, समय भने तय भएको छैन ।
अबको छलफलमा नेपालका तर्फबाट भारतीय पक्षसँग नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर र युरोप तथा पश्चिमका देशबाट आएका जहाजले महेन्द्रनगरबाट इन्ट्री हुँदै पूर्वको मेची विन्दुबाट आउट हुन पाउने छन् ।
अहिले नेपालको पूर्वमा पर्ने देश बंगलादेश, भारतको कोलकाता, थाइल्यान्ड, सिंगापुर, मलेसियालगायत देशबाट आउने जहाज रोमियो ५ सय ८१ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौंका अवतरण गरिरहेका छन् ।
यसैगरी, नेपालबाट पश्चिमबाट आउने जहाज, दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले गल्फ ५८९ रुट हुँदै सिमरा इन्ट्री भएर काठमाडौं अवतरण गर्छन् । भुटानलगायत पारोबाट आउने जहाज मेची इन्ट्री विन्दुबाट छिरेर तुम्लिङटार आउँदै काठमाडौं अवतरण गर्छ । सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउन १४ नटिकल माइल, भैरहवा आउन एक सय ६९ नटिकल माइल र पोखरा आउन १ सय ६५ नटिकल माइल दूरी कम पर्छ ।
चीनको ल्हासाबाट आउने जहाज भने ब्राबो ३४५ रुट हुँदै नुनिम विन्दुबाट नेपाल छिरेर तुम्लिङटार हुँदै काठमाडौं अवतरण हुने गरेको छ । सिमरा विन्दुको तुलनामा नेपालगन्ज प्रवेश विन्दुबाट काठमाडौं आउदा १४ नटिकल माइल, भैरहवा आउन १ सय ६९ नटिकल माइल र पोखरा जान १ सय ६५ नटिकल माइल दूरी कम पर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सुरक्षा महाशाखाका सहसचिव वुद्धिसागर लामिछानेले बताए ।
यसैगरी, नेपालले महेन्द्रनगर विन्दुबाट पनि प्रवेश माग गरिरहेको छ । यो विन्दु पाएको अवस्थामा पश्चिम तथा युरोपका देशबाट आउने जहाजले सीधै नेपाल प्रवेश पनि गर्नसक्ने नेपाली पक्षको भनाई छ ।
तर, भारतीय पक्षले दुवै प्रवेश विन्दुलाई कायम राख्दा आफ्नो एयर स्पेसमा जहाजको ‘सेपरेसन’ पुग्दैन र सुरक्षामा असर नपुग्ने बताउँदै आएको छ ।