कारोबार संवाददाता
सोमवार, असार १८, २०७५
427

पोखरा- प्रदेश नम्बर ४ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशमा हुने कुनै पनि कामकारबाहीमा संघीय सरकारले हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । नेपाल पर्यटन बोर्डको बजेटसम्बन्धी प्रदेश नम्बर ४ का पर्यटन व्यवसायीहरुसँग पोखरामा गरिएको छलफल कार्यक्रममा मन्त्री लम्सालले अबदेखि प्रदेशमा हुने काम कारवाहीको लागि संघीय सरकारले प्रदेश सरकारसँग समन्वय र छलफलबिना हस्तक्षेप गर्ने ढंगले नगर्न चेतावनी दिएका हुन् ।
उनले भने, “देश संघीयतामा गएसँगै हरेक प्रदेशले आफ्नो प्रदेश कसरी समृद्ध बनाउने भन्ने सोचिराखेको अवस्थामा संघीय सरकारले प्रदेशमा आएर कुनै काम गर्दा समन्वय, छलफलबिना गर्नु हँुदैन । यदि त्यो भए हामीलाई मान्य हुँदैन ।”

विगतमा भएको परम्परा बन्द गर्न आग्रह गर्दै मन्त्री लम्सालले आगामी दिनमा संघीय सरकारले हस्तक्षेप नीति अन्त्य नै गर्नुपर्ने बताए । उनले भने, “प्रदेशमा कुनै काम गर्नुपूर्व प्रदेश सरकारसँग सल्लाह, अनुमति लिनुस् अनिमात्र आउनुस् । नत्र अबदेखि यसरी चल्दैन ।”

नेपाल पर्यटन बोर्डको लागि भनेर सरकारले १ अर्ब २० करोड छुट्याउँदा पोखरास्थित पर्यटन बोर्डको क्षेत्रीय कार्यालयलाई यसअघि वार्षिक ५ करोडमात्र दिने गरेको उक्त रकम न्यून भएको मन्त्री लम्सालले गुनासो गरे । उनले पर्यटन कायालयमार्फत् पर्यटन प्रवद्र्धनमा शून्य बराबरको काम भएको टिप्पणी गरे । बोर्डलाई गुरुयोजना बनाएर काम गर्न निर्देशन दिँदै मन्त्री लम्सालले प्रदेश ४ लाई रोजगार प्रदेशको रूपमा पहिचान गराउन खोजेको दाबी गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य तथा बजेट उपसमिति संयोजक कृष्णकुमार अर्यालले प्रदेशको अधिकार क्षेत्रबारे पहिले प्रष्ट हुन मन्त्रीलाई आग्रह गरे । उनले अब पर्यटकीय क्षेत्रहरुको व्राण्डिङ गरेर मात्र काम गर्ने योजना रहेको बताए । बोर्डका अनुगमन मूल्यांकन महाशाखा निर्देशक काशीराज भण्डारीले पोखरा नै पर्यटनको केन्द्र भएको बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरा उत्सव र महोत्सवहरुको सहर भएको बताउँदै हरेक महिना महोत्सव पर्नेगरी तालिका बनाएर काम गर्न पर्यटन वोर्डलाई आग्रह गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले पोखरालाई पर्यटनको राजधानी भनिएपनि सोहिअनुसार बजेट विनियोजन नभएको गुनासो गरे । पोखरास्थित पर्यटन वोर्डको कार्यालयलाई स्वायत्त भएर बजेट खर्च गर्न दिन्ुपर्ने उनले माग गरे । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनल, रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ, पर्यटन व्यवसायी गोविन्दराज पहारी, लक्की क्षेत्री कार्की, जिवन सापकोटा, हरी भुजेल, नारायण सुवेदी, पर्यटनविद् जुद्ध गुरुङ लगायतले पर्यटन क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको र दक्ष जनशक्ति अभाव भएको गुनासो गरेका थिए ।