कारोबार संवाददाता
मंगलबार, असार १९, २०७५
1351

रुपन्देही-हवाई उडानका क्रममा बिमानहरूलाई दिशा र दूरी देखाउने प्रविधि भिओआर ( भेरीहाई फ्रिक्वेन्सी ओम्नी–डाइरेक्सनल रेन्ज रेडियो विकन) बिग्रंदा भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट हुने उडान तथा अवतरणहरू प्रभावित हुँदै गएका छन् ।
विमानस्थलमा विमान सेवा प्रदायक सस्थाहरूले बिगत ५-६ दिनदेखि यो प्रविधि बिग्रंदा हवाई उडान प्रभावित भइरहेको र रातमा हुने सबै उडान बन्द भएको जनाएका छन् ।

आइतबार रातिदेखि नै भैरहवा क्षेत्रमा झरी पर्दा भिओआर प्रविधि नहुँदा भैरहवामा हवाई र उडान बिहानैदेखि प्रभावित हुँदा भैरहवा काठमाडौं सेक्टरमा बुद्धका २, यतीका २, श्री, सौर्य र सिम्रिक, नेपाल एयरलाइन्स तथा बुद्धको पोखरा गरी कम्तीमा पनि १० वटा उडान रद्द भएका छन् । भिओर प्रविधि हुँदा न्यूनतम १५ सय मिटर दूरीसम्मको प्रकाश भिजिबिलटी देखिए पनि उडान तथा अवतरण सम्भव छ । तर, यो प्रविधि नहुँदा कम्तीमा ५ हजार मिटर भिजिबिलीटी भए मात्रै हवाई उडान र अवतरणका लागि अनुमति दिइन्छ ।
भिओर उपकरणको सहायताले जहाज अवतरण गराउने हो । स्याटेलाइट प्रविधिमा आधारित यो प्रविधिबाट जहाजमै रहेका उपकरणबाट उडान तथा अवतरण गराइन्छ ।
यस्तो महत्वपूर्ण उपकरण बिग्रेको ५ दिनसम्म पनि नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले बनाउनका लागि कुनै प्राविधिक पठाएको छैन । भैरहवा विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरण कार्यालयका निर्देशक टेकराज पोखरेलले आइतबार ‘नो टाइम लेटर’ जारी गर्दै यो उपकरण बनाउन कम्तीमा पनि २ साता लाग्ने बताएको भैरहवास्थित बुद्ध एयरका वरिष्ठ प्रबन्धक तथा प्रमुख दर्शन घिमिरेले बताए ।
प्रदेशको राजधानीस्थित विमानस्थलको भिओआर उपकरण बिग्रँदा पनि समयमै चासो नदिइनु दुखद् रहेको र हवाई उडान प्रभावित भइरहेको बताए । भिओआर प्रविधि बिग्रँदा १५ सय मिटर भिजिबिलीटी पुग्न वर्षामा समस्या हुने र रातिमा उडाननै गर्न सकिँदैन, उनले भने । प्राविधिकहरूका अनुसार यो प्रविधि मरमतका लागि बढीमा २ दिनभन्दा बढी समय लाग्दैन । तर, भैरहवा विमानस्थलका प्रमुख भने कम्तिमा २ साताभन्दा बढी लाग्ने भन्दै नो टाइम लेटरनै जारी गरी तर्किरहेका छन् ।

 मनोरञ्जन शर्मा