कारोबार संवाददाता
बिहिवार, असार २१, २०७५
380

प्रदेश नम्बर ४ को पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही असार २७ गते पोखरामा प्रदेश स्तरीय पर्यटन फोटो प्रतियोगिता हुने भएको छ । प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश ४ को पर्यटन प्रवद्र्धन हुने गरी प्रकाशन गर्न लागेको पर्यटकीय उपजको प्रोफाइल तयार गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पत्रकार सम्मेलनमा गरी जनाएको हो ।
फोटो पत्रकार क्लब नेपालको प्राविधिक व्यवस्थापनमा, नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुने उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी जो कोही पनि सहभागी हुन पाउने भएको मन्त्री लम्सालले बताए । पर्यटकीय आकर्षण र पर्यटकीय गतिविधिमा सम्बन्धित तस्बिरहरू समावेश गरिने भएको उनले जनाए । प्रतियोगितमा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुने १५ हजार तथा सान्त्वना हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने भएको मन्त्री लम्सालले जनाए ।

पोखरा क्षेत्रसहित समग्र प्रदेश नम्बर ४ मा पर्यटनका उत्पादन तथा विषय वस्तु खासै सग्रह नभएको अवस्थामा आफूहरूले पर्यटकीय महत्वका विषय वस्तुहरूको संकलन गर्ने उद्देश्यले उक्त प्रतियोगिता मन्त्रालयले गर्न लागेको प्रष्ट पारे ।
पर्यटकीय सम्पदा तथा आकर्षणका फोटो संकलन गरी मन्त्रालयले सुरक्षितका साथ राख्दै आवश्यक पर्ने फोटाको सम्बन्धित व्यक्ति वा संस्थाको समन्वयमा वा निश्चित शुल्क तिरेर प्रयोग गर्ने भएको मन्त्री लम्सालले जनाए । यस प्रतियोगिताको बारेमा थप जानकारीका लागि पिजे क्लब नेपालको वेभसाइडमा उपलब्ध छ । उक्त प्रतियोगितामा सहभागिताको लागि यही असार २५ गतेसम्म अनलाइनमार्फत फोटो पठाउनु पर्ने भएको नेपाल पर्यटन बोर्ड प्रदेश नम्बर ४ पोखराका प्रमुख सूर्य थपलियाले बताए ।