कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५
1419

विराटनगर-विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रदेश सरकारले पहल सुरु गरेको छ ।
प्रदेश नम्बर १ को सरकारले अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रूपमा विकास गर्न संघीय सरकारलाई आग्रह गर्ने भएको छ । प्रदेश–१ को मन्त्रिपरिषद् बैठकले नै विमानस्थललाई तत्काल अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरिसकेको छ । लामो समयदेखि पूर्वका उद्योगी व्यवसायीहरूले यो विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन माग गर्दै आएका थिए । हरेक वर्ष बजेट आउनुभन्दा अगाडि सरकारलाई दिइने सुझावमा यसलाई पनि समेट्ने गरिएको थियो । पूर्वबजेट छलफल कार्यक्रममा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघसहित पर्यटन व्यवसायीहरूले विमानस्थलको स्तरोन्नतिको माग गर्दैै आएका थिए ।

मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रूपमा विकास गर्न तत्काल काम अगाडि बढाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको पर्यटन तथा उद्योगमन्त्री जगदीश कुसियतले जानकारी दिए । प्रदेश सरकारले विराटनगर विमानस्थललाई विशेष महत्वपूर्ण योजनाका रूपमा अघि सारेको छ । त्यसैले हालको १ हजार ५ सयबाट ३ हजार मिटरको धावनमार्गसहितको अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
केही समयअघि विराटनगर आएका पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पनि विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकार तयार रहेको बताएका थिए । उनलै प्रदेश सरकारलाई औपचारिक रुपमा माग लिएर आउन आग्रह गरेका थिए । विराटनगर विमानस्थल अहिलेका ठाउँमा २०२५ सालदेखि सञ्चालनमा छ । यसअघि विराटनगर–जोगबनी सडकखण्डमा पर्ने पुरानो हवाई फिल्ड भन्ने स्थानमा विमानस्थल सञ्चालित थियो । उक्त स्थानमा हाल स्नातकोत्तर क्याम्पस छ ।
विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाका अनुसार यो विमानस्थल १ सय १० बिघा क्षेत्रफलमा अवस्थित छ । यहाँबाट हाल प्रतिदिन १ हजार ७ सय यात्रु ओहोरदोहोर गर्छन् । स्वदेशका १० वटा विमान कम्पनीका जहाजले दैनिक १५ वटासम्म उडान भरिरहेका छन् । स्तरोन्नति गरिएपछि यहाँबाट १ सय ५० सिट क्षमताका ठूला विमान उड्न सक्नेछन् । विराटनगरबाट तत्काल भारतको कोलकाता र नयाँ दिल्लीको उडान भर्न सकिने सम्भावना छ । साथै नयाँ दिल्ली हुँदै बंगलादेशको ढाकाको उडान पनि सञ्चालन गर्न सकिने पर्यटन व्यवसायी पुण्य भट्टराईको दाबी छ ।
यस विमानस्थलबाट हाल ७० सिट क्षमताका ८० आर ७२ र सिआरजे जेड ७ सय सिरिजका विमानले उडान भरिरहेका छन् । साथै साना टुइनअटर विमान पनि सञ्चालित छन् । अन्तर्राष्ट्रियस्तरको बनाइएमा न्यारो बडी जेट सर्भिसबाट संसारको कुनै कुनामा पनि हवाई सम्बन्ध कायम गर्न सकिने प्रमुख सिटौलाको भनाइ थियो । यहाँबाट २०५८ सालमा नेकोन एअरले कोलकाताको उडान सञ्चालनमा ल्याएको थियो । तर यो सेवा ६ महिनाभन्दा बढी चलेन । कालान्तरमा नेकोन पनि बन्द भयो । त्यसबेला यात्रु कम भएका कारण देखाएर सेवा स्थगित गरिएको थियो ।
“भारतका मुख्य सहरमा उडान भर्न अहिले पनि विमानस्थलको क्षमता र सुरक्षामा कुनै कमी छैन,” सिटौलाले भने, “अन्तर्राष्ट्रिय उडान भर्न सकिए यो क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्छ ।” संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय एजेन्सी आइक्याओले विराटनगर विमानस्थललाई ‘थ्री सी’–को मापदण्ड दिएको छ । यसको धावनमार्गको लम्बाई २४ सय मिटर भएमा ‘फोर डी’–को स्तरमा पुग्नेछ । यसका लागि थप १ सय १० बिघा जमिन आवश्यक पर्ने प्राविधिकहरूको भनाइ छ ।
प्रमुख सिटौलाले विमानस्थलको स्तरोन्नतिसँगै यसका संरचनाको पनि पुनर्निर्माण हुने बताए । विमानस्थलको टर्मिनल भवन, फायर स्टेसन, टावरलगायतका संरचनाको पुनर्निर्माण गरिने उनले जानकारी दिए । यहाँ हाल ३ वटा विमान पार्किङ गराउन सकिन्छ । स्तरोन्नति गरएपछि यसको क्षमता दोब्बर हुने विश्वास गरिएको छ । विमानस्थलको स्तरोन्नतिका लागि हाल साढे ४ बिघा जग्गा खरिद गरेर केही संरचना बनाउने तयारी भइरहेको छ । यसका लागि ६९ करोड बजेट निकासा गरिएको छ । प्राधिकरणले विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि गुरुयोजना निर्माण गर्न लागेको र अन्तर्राष्ट्रिय उडान तथा अन्तर प्रादेशिक उडानलाई पनि छिट्टै सुरु गर्ने जनाएको छ ।
प्रदेश सरकारले निर्णय नै गरेर अन्तर्राष्ट्रियस्तरको बनाउन केन्द्र सरकारलाई आग्रह गर्ने निर्णय गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । “हामीले लामो समयदेखि विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन माग गर्दै आएका थियौं,” पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले भने, “अब भने हाम्रा पूरा हुने संकेत देखिएको छ ।” उनले सम्पूर्ण आन्तरिक उडान पनि विराटनगरबाटै सञ्चालन गर्न माग गरे । आन्तरिक उडान विराटनगरबाट सञ्चालन गरिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक जाम १५ प्रतिशतले कमी आउने श्रेष्ठको भनाइ छ । उनीहरूले माउन्टेन फ्लाइटसमेत विराटनगरबाटै सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् । पर्यटनको विकासमा केन्द्र र प्रदेश सरकारले चासो देखाएपछि व्यवसायीले पछिल्लो समय पर्यटनमा लगानीसमेत बढाउँदै लगेका छन् ।