कारोबार संवाददाता
शुक्रवार, असार २२, २०७५
522

पोखरा-नयाँ आर्थिक वर्ष २०७५/७६ को साउन १ गतेदेखि प्रदेश नम्बर ४ मा आउने पर्यटकहरूको रेकर्ड राखिने भएको छ । प्रदेश नम्बर ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा नेपाल प्रहरीको सहयोगमा प्रदेश ४ मा आउने पर्यटकहरूको रेकर्ड राखिने भएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।
हवाईमार्ग, सडक मार्ग र केही हिँडेर आएका गरी मुख्य तीन तरिकाले प्रदेशमा प्रवेश गर्ने पर्यटकहरूको साउन १ गतेदेखि लागू हुने गरी रेकर्ड राख्ने तयारी भएको मन्त्री लम्सालले जनाए । तनहुँको आपुखैरेनी, स्याङजाको राम्दी, आरुघाट, मनकामना, बाग्लुङ र कोरलानाकामा समेत रेकर्ड राख्न सुरु गरिने भएको मन्त्री लम्सालले जनाए । हालसम्म पोखरा र पोखरा आसपासमा कति पर्यटकहरू आए भन्ने हचुवाको भरमा भनिँदै आएको छ यद्यपि कसैले पनि दिगो रूपमा यस क्षेत्रमा आउने पर्यटकहरूको रेकर्ड राखेको पाइँदैन । नेपालमा २०१७ मा करिब १० लाख पर्यटक भित्रिएको अनुमान गरिएको छ भने नेपाल आउने पर्यटकमध्ये ४० प्रतिशतको हाराहारीमा पोखरा क्षेत्रमा आउने अनुमान गरिँदै आएको छ ।

विगत १५ महिनाभन्दा बढी लामो समयदेखि बन्द रहेको पोखराको फूलबारी रिसोर्टका बारेमा आफूहरू गम्भीर भएकाले व्यवस्थापन पक्षलाई आगामी ६ महिनाभित्र पुनःसञ्चालन हुने गरी सञ्चालन गर्न निर्देशन दिएको मन्त्री लम्सालले जनाए । करको विषयमा हाल कर तिरे पनि पछि त्यसलाई केही सहज पार्नका लागि प्रदेश सरकार तयार रहेकोे उनले जनाए । उनले भने, “साउथ एसियाकै उत्कृष्ट मध्यमा पर्ने गुणस्तरीय पर्यटकहरूको आकर्षको केन्द्र फूलबारी रिसोर्ट जतिसक्दो छिटो सञ्चालन गर्नुपर्छ यसमा प्रदेश सरकारले व्यवस्थापन पक्षलाई आग्रह गरेका छौं ।”
त्रिवेणीबाट कालिगण्डकी, मस्र्याङ्दीको किनारै किनार हुँदै ५ सय १७ किलोमिटर दामोदरकुण्डसम्मको यात्रामा पर्यटकहरूलाई घुमाउने राम्रो पर्यटकीय गन्तव्य हुने भएको मन्त्री लम्सालले जनाए । सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका अनुसार यस्ता क्रियाकलापले थप सहयोग पुग्ने मन्त्री लम्सालले बताए । सन् २०१९ मा आन्तरिक पर्यटन वर्ष, २०२० मा मित्र राष्ट्र चिन र भारतमा प्रचार र सन् २०२१ मा पोखरामा अन्तर्राष्ट्रिय विमान उडान सुरु भएसँगै व्यापक प्रचार–प्रसार र सन् २०२२ मा २० लाख भारतीय, चिनियाँ र तेस्रो मुलुकका पर्यटकहरू भित्र्याउने आफूहरूको लक्ष्य रहेको मन्त्री लम्सालले जनाए ।
पर्यटन पूर्वाधार र निजी क्षेत्रलाई लगानीको वातावरण तयार पार्न यही वर्षभित्र अन्तर्राष्ट्रिय लगानी सम्मेलन पोखरामा आयोजना गर्ने भएको उनले जनाए । संघीय सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई सफल पार्न पर्यटन एक आर्थिक आधार मानिएको उनले जनाए ।