बुद्ध एयरले पुस दोस्रो सातादेखि नेपालगन्ज–दिल्ली उडान गर्ने
कारोबार संवाददाता
आइतवार, असार २४, २०७५
178

नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको नेपालगन्ज दिल्लीको उडान तालिका आगामी पुस १७ अर्थात् जनवरी १, २०१९ देखि लागू हुने गरी स्वीकृत गरेको छ ।
यसअघि बुद्ध एयरले नेपालगन्जबाट भारतको राजधानी नयाँदिल्लीका लागि दैनिक ३ उडान बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० बजेका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचारसहित अनुरोध गरेको थियो ।
यसै क्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगन्जबाट दिल्ली उडानका लागि पत्राचार गरेको छ ।
बुद्ध एयरले उडानका लागि आफ्नोतर्फबाट व्यापक गृहकार्यहरू गरिरहेको प्रेस विज्ञप्तिमा जनाएको छ । दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरूको व्यापक आवाजाही हुने गरेको छ ।
यसैलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरूसँग अन्तरदेशीय टिकट बिक्री वितरणका लागि इन्टरलाइन र जीडीएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीहरूसँग पत्राचार गरेको छ ।
यस उडानबाट सुदूरपश्चिम र पश्चिमका जनताहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । बर्दिया, शुक्लाफाँटा निकुञ्ज, मनोरम हिमश्रृंखला, खप्तड, स्वर्गद्वारी रारा, तिलिचो तालतलैयाले पर्यटकहरूलाई पनि आकर्षित गर्ने दाबी बुद्ध एयरले गरेको छ ।नेपालगन्ज–नयाँदिल्लीको उडान लगत्तै बुद्ध एयरले नेपालगन्ज–पोखराको दैनिक उडान पनि भर्ने विज्ञप्तिमा जनाएको छ ।