दीननाथ बराल
आइतवार, असार २४, २०७५
880

पोखरा-संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले हाल काठमाडौं केन्द्रित हुने गरेका विमानहरूलाई अबदेखि प्रादेशिक रूपमा विकेन्द्रीकरण गरिने बताएका छन् ।
गण्डकी प्रदेशमा आवश्यक पर्यटकीय पूर्वाधार र पोखराको भविश्य विषयक शनिबार पोखरामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले हाल रातिको समयमा बस्नका लागि पनि काठमाडौं केन्द्रित हुने गरेका विमानहरूलाई अबदेखि प्रदेशमै व्यवस्थापन हुने गरी विमानस्थलहरूको प्रादेशिक विकेन्द्रीकरण गर्ने तयारी गरेको बताएका हुन् । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको ट्राफिक जामलाई आफ्नै पालामा व्यवस्थापन गरेको दाबी गर्दै मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानहरू बढीमा ४ मिनेटभन्दा बढी समय आकाशमा कुर्नुनपर्ने दाबी गरे ।

उनले पोखरा, लुम्बिनी, निजगढलगायतमा निर्माण हँुदै गरेका विमानस्थलको आवश्यक पर्ने एयर रुट प्राप्त गरेको जनाए । नेपाल एयरलाईन्सलाई राष्ट्रिय ध्वजावाहकको रूपमा बलियो बनाउन राम्रा विमानस्थलसँगै विमानहरू आवश्यक भएको मन्त्री अधिकारीको भनाइ थियो । भारत र चीनका केही ठाउँबाट नेपालका धेरै ठाउँमा उडान हुने गरी रुट प्रमिट लिएको समेत उनले जनाए । यसमा निजी कम्पनीहरूले समेत एयर रुट माग गरेकाले यसमा मन्त्रालयले रुट दिने तयारी गरेको समेत उनले जनाए । देशमा करिब १६ वटा ठूला होटलहरू निर्माण हुन लागेको बताउँदै मन्त्री अधिकारीले पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारले बढी अग्रसर हुन आग्रह गरे ।
पर्यटकहरूको बसाइ छोटो हुने मुख्य कारण सडकको अबस्था र दोस्रोमा प्रदूषण रहेको दाबी गर्दै मन्त्री अधिकारीले गुणस्तरीय पर्यटक भिœयाउनुका साथै उनीहरूको बसाई लम्बाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । संघीय सरकार र स्थानीय सरकारले समन्वय गरी पर्यटन विकासको पूर्वाधारमा मिलेर काम गर्न निर्देशन दिँदै संघीय सरकारसँग आवश्यक पर्ने पर्यटनको पूर्वाधार विकास र समृद्धिका लागि आफूहरू तयार रहेको मन्त्री अधिकारीको भनाइ थियो । नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालन भएको उक्त कायक्रममा स्थानीय निकाय पोखरा लेखनाथ महानगरपालिकाका र प्रदेश सरकारका जिम्मेवार पदाधिकारी नभएकोमा सहभागीले गुनासो गरे ।
पूर्वपर्यटन सचिव किशोर थापाले नेपालमा हाल ४ प्रतिशत पर्यटन क्षेत्रबाट कुलगार्हस्थ्य उत्पादनमा योगदान पुगेको बताउँदै यो निकै कम भएको दाबी गरे । पर्यटन क्षेत्रमा २० अर्ब लगानी भए पनि सरकारले ९१ राजस्व संकलन गरेको बताउँदै उनले वार्षिक ४ लाख २५ हजारले रोजगार पाएको बताए । धार्मिक तथा पर्या–पर्यटन, स्वास्थ्य तथा कृषि पर्यटन, शैक्षिक पर्यटनको सम्भावना प्रचुर रहेको दाबी गर्दैै पूर्वसचिव थापाले हवाई सेवा विकास र विस्तार, नयाँ पर्यटकीय गन्तव्य र पोडक्टको पहिचान र विकास गर्नुपर्ने, भारत र चीनमा आक्रामक रूपमा पर्यटन प्रवद्र्धन गर्नुपर्ने, गुणस्तरीय होमस्टेहरू निर्माण, पोखरा उपत्यकाका डाँडाँ गाउँ बस्तीमा करिब ५ हजार पर्यटक क्षेमताको पर्यटन पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका कुरामा जोड दिएका थिए ।