रेशमराज रोकाया
सोमवार, असार २५, २०७५
999

हुम्ला-भारतीय नागरिकको भीड र विमान कम्पनीको सिन्डिकेटले गर्दा स्थानीय हुम्ली यात्रुले उपचारका लागि समेत हवाई टिकट पाउन सकेका छैनन् । विमान कम्पनीले भारतीय पर्यटकलाई मात्र हवाई टिकट दिँदा यस्तो समस्या हुने गरेको छ । टिकट नपाउँदा दिनहुँ हुम्ली र अन्य नेपाली पर्यटकले हप्तौं सिमकोट विमानस्थलमै कुर्नुपर्ने अवस्था छ । टिकटका लागि बिहानै विमानस्थल गए पनि सयौं नेपाली यात्रु दिनदिनै रित्तो हात फर्कने गरेका छन् ।
आँखामा चोट लागेको उपचारका लागि जिल्ला अस्पताल सिमकेट आए पनि जिल्लामा उपचार हुननसक्ने स्वास्थ्यकर्मीले सल्लाह दिँदा उपचारका लागि जिल्ला बाहिर जान नपाउँदा सर्केगाड गाउँपालिका–८ का खड्कवीर बुढा आँँखा फुट्ने अवस्थामा सिमकोटमा १ हप्ता बिताएको पीडा पोख्दै थिए । त्यसैगरी माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न जिल्लाबाहिर जाने विद्यार्थीलाई पनि उस्तै समस्या छ । सामान्य व्यक्तिको त परै जाओस्, दृष्टिविहीन २ जना बालबालिका काठमाडौं जानको लागि टिकट कुरेको पनि आइतबार १ हप्ता भयो तर, टिकट पाउनको लागि पहुँच नै पाएका छैनन् । सिमकोट गाउँपालिका–२ का गोरासिँह बोहोरा पूर्ण दृष्टिविहीन विद्यार्थी र खार्पुनाथ गाउँपालिका–५ का ललिता रोकायाले समेत टिकट पाउन सकेको छैनन् । “भन्ने बेला हरेक विमान कम्पनीले अपांगता भएका व्यक्तिको लागि टिकट सुरक्षित भएको भनिन्छ, तर टिकट उपलब्ध हुन सकेको छैन,” बोहोरा भन्छन् । बल्ल १ हप्ताको कुराइपछि २ दृष्टिविहिन बालबालिकाले हुम्लामा रहेका सञ्चारकर्मीको सहयोगमा हवाई टिकट पाएका छन् । हुम्लामा कार्यरत सञ्चारकर्मीहरू नरजन तामाङ, नवरारज महतारा र रेशमराज रोकायाको प्रयाशमा सीता एयर र तारा एयरमा टिकट उपलब्ध भएको थियो ।
असार २९ गते शिक्षक सेवा आयोगको आन्तरिक परीक्षामा समावेश हुनको लागि जिल्लाका ४८ जना शिक्षकले टिकट नपाउँदा परीक्षा दिनै नसक्ने अवस्थामा पुगेका छन् । हवाई उडानमा टिकट पाउनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी कक्षमा पुगेका अस्थायी शिक्षकले ज्ञापनपत्र बुझाइ माग सम्बोधन गर्नका लागि अनुरोध गरेका छन् । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले हुम्लामा सञ्चालनमा आएका विमान कम्पनीलाई अस्थायी शिक्षकको परीक्षालाई ध्यानमा राखी हवाई टिकट उपलब्ध गराउन अनुरोध गरिएको जानकारी गराए ।
बिरामीको उपचारका लागि १ जनालाई हरेक हवाई कम्पनीले सिट उपलबध गरे पनि अन्य यात्रुलाई भने असहज भएको छ । दीर्घ रोगी र हुम्लामा उपचार गर्न समस्या भएका बिरामीले ज्यानै गुमाउनुपर्ने अवस्था छ । विमान कम्पनी र हुम्ला उद्योग वाणिज्य संघले गत जेठ पहिलो हप्ता गरेको सहमतिअनुसार हरेक विमान कम्पनीको उडानमा अनिवार्य २ जना नेपाली यात्रुलाई टिकट उपलब्ध गराइने उल्लेख भए पनि कार्यान्वयन भएको छैन । हवाई कम्पनीले बढी शुल्कको लोभमा भारतीय नागरिकलाई मात्र टिकट दिने गरेको पाइएको छ ।

कहिले पुग्ला मोटरबाटो?
हरेक वर्ष वैशाखदेखि कात्तिकसम्म हुम्लीले हवाई टिकटको समस्या समाधान भोग्ने गरेका छन् । भाडाभन्दा बढी पैसा दिँदा पनि टिकट नपाउने समस्या अझै हुम्ली र अन्य नेपाली यात्रीले भोग्दै आएका छन् । हुम्लामा मोटरबाटो नहुँदा सबैले हवाई यातायातको विकल्प पनि छैन । कर्णाली करिडोरको मोटर बाटो निर्माण पनि कछुवा गतिमा अगाडि बढिरहेको छ । महँगो भाडा तिर्दा पनि हवाई टिकटको लागि हुम्लीले अझै सहज नभएको सबैको भनाइ छ । टिकटको लागि विहान ५ बजेदेखि विमानस्थल नजिक रहेका हवाई कम्पनीको कार्यालय अगाडि लाइन बस्ने गरे पनि न कार्यालय खुल्छ न नेपाली यात्रुले टिकट पाउँछन् । बरु भोकभोकै घर फर्कनु बाहेक कुनै विकल्प नरहेको अवस्था छ ।