प्राविधिक रूपमा असफल कम्पनीलाई दिन चलखेल
केदार दाहाल
मंगलबार, असार २६, २०७५
796

मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवै सरोकारवालालाई फोहोरको चिन्ता हुने गरेको छ । पछिल्लो केही वर्षयता भने केही सुधारसमेत भएको थियो । तर, पुनः त्रिभुवन विमानस्थलमा फोहोरमा राजनीति सुरु भएको छ । प्रत्येक वर्ष विमानस्थल कार्यालयले टेन्डर गरेर सफाइ गर्नका लागि निजी कम्पनीलाई जिम्मा लगाउने गरेको छ ।
यसवर्ष पनि साउन १ गतेदेखि सफाइ गर्न नयाँ टेन्डर गरेको थियो । तर, प्राविधिक रूपमा पास भइसकेको कम्पनीलाई नदिनका लागि चलखेल सुरु भएको छ । गत जेठ ३० गते अन्तिम समय राखेर टेन्डर निकालेको टेन्डरमा दुई कम्पनीले मात्रै सहभागिता जनाएका थिए ।
जसमा हाल डेढ वर्षदेखि सफाइको जिम्मा पाएको कम्पनी इनोभेटिभ एचआर सोलुसन प्रालि र विगतमा १० वर्षमा अधिपत्य जमाएर बाहिरिएको सोनिग सर्भिस प्रालिको मात्रै आवेदन परेको थियो । जसमा प्राविधिक रूपमा विमानस्थल कार्यालयले इनोभेटिभ एचआर सोलुसनले मात्रै प्राविधिक पास भएको भन्दै केही साता अगाडि एक दैनिक पत्रिकामा सूचनासमेत निकालेको थियो ।
तर, सोनिग कम्पनीले आफू पनि प्राविधिक रूपमा पास हुनुपर्ने भन्दै नागरिक उड्डयन प्राधिकरणमा उजुरी दिएको थियो । सोही उजुरीलाई आधार मान्दै प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरको संयोजकत्वमा समिति गठन गरेका थिए । उक्त समितिमार्फत हालको टेन्डर रद्द गराउने निर्णय गरेका छन् ।
प्राधिकरण स्रोतका अनुसार सोनिगले १० वर्षमा विमानस्थललाई सफाइ गर्न नसक्दा बाहिरिएको र पुनः चलखेल गरेर भित्रिनका लागि टेन्डर जितेको कम्पनीलाई हटाउन खोजेको दाबी छ । “प्राविधिक रूपमै फेल भएको कम्पनीलाई महानिर्देशककै निर्देशनमा पुनः टेन्डर गराउन खोज्नु गम्भिर विषय हो,” प्राधिकरण उच्च स्रोतले भन्यो ।
विमानस्थल कार्यलयले यसपटक सरसफाइ र व्यवस्थापन गर्ने गरी सूचना निकालेको थियो । विगतमा भने व्यावस्थापन अर्के कम्पनीलाई दिइने गरिएको थियो । “यसपटक हामीले एउटै कम्पनीलाई दिएर कुहिने र नकुहिनेसमेत छुट्याउने गरी टेन्डर निकालेका थियौ, त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले भने । तर, पुनः मुख्य कार्यलयबाट समिति बनाएको र समितिले पुनः टेन्डर गर्न परिपत्र गरेको क्षेत्रीले जानकारी दिए । एक वर्षका लागि विमानस्थलले ५ करोड ४० लाख रकम भ्याट बाहेकको टेन्डर आह्वान गरेको थियो ।
प्राविधिक रूपमा टेन्डर जितिसकेपछि पुनः रद्द गर्न खोजेको भन्दै इनोभेटिभ एचआर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको छ । प्राधिकरणलाई अख्तियारले फाइल मगाउँदा कै पत्र काटेकै अवस्थामा रद्द गर्ने निर्णय हतार हतार गरेको प्राधिकरण स्रोतको दाबी छ । जिम्मा पाएको कम्पनीले टर्मिनल भवन, ट्वाइलेट, वास रुम लगायत क्षेत्रको सफाइ गर्ने गरेको छ ।