अष्ट्रेलियामा नेपाल पर्यटन सेल्स मिसन
कारोबार संवाददाता
मंगलबार, असार २६, २०७५
110

नेपाल पर्यटन बोर्डले होटल संघ नेपालसँगको सहकार्यमा अष्ट्रेलियाको तीन मुख्य सहर मेलबोर्न, सिड्नी र ब्रिसबेनमा जुलाई ३ देखि ५ सम्म नेपाल पर्यटन सेल्स मिसनको आयोजना गरेको छ ।
यी कार्यक्रमहरूमा प्रकृति, संस्कृति, वन्यजन्तु र साहसिक गतिविधिहरूलाई योग, ध्यान जस्ता क्रियाकलापसँगै मुख्य रूपमा प्रचार गरिएको हो । सेल्स मिसनका कार्यक्रमहरूमा नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भलाई स्पस्ट रूपमा जोड्दै पर्यटकीय क्रियाकलापका लागि नेपाल राम्रो गन्तव्य भएको पुष्टाइएको थियो ।
तीनै सहरका मुख्य थोक व्यवसाय गर्ने ट्राभल एजेन्टसहरूलाई आमन्त्रण गरिएकामा कुल १३० र ट्राभल पत्रकार २० को सहभागिता थियो ।
तीनै सहरकमा कार्यक्रमहरूमा बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले नेपालका बारेमा विस्तृत प्रस्तुतिकरण गरी अष्ट्रेलियन पर्यटकका लागि नेपाल इच्छाइएको गन्तव्य हुने प्रस्ट्याए । सहभागी व्यवसायीहरू नेपालका पर्यटकीय सम्भावनाका बारेमा गरिएको प्रस्तुति, देखाइएको भिडियो, फोटोहरूसँगै मोहित भएका देखिन्थे । यीमध्ये केही नेपाललाई आफ्नो कार्यक्रममा राखिसकेका र धेरैजसोले राख्ने क्रममा रहेको हुनाले यी बिटुबी र प्रस्तुतिले सकारात्मक प्रभाव पार्ने बोर्डको दाबी छ ।
मेलबोर्नको कार्यक्रममा भिक्टोरियाका लागि नेपाली कन्सुलर चन्द्र योन्जनले सहभागीलाई स्वागत गरेका थिए । सिड्नीको कार्यक्रममा न्यू–साउथवेल्सका लागि नेपाली कन्सुलर दीपक खड्काले सहभागीहरूलाई स्वागत गरे । सहभागीहरूलाई बोर्डले उत्पादन गरेको नेपाली कागजको डायरी, पोस्टर, नक्सा, ट्राभलर इन्फोरमेसन बाँडिएको थियो । साथै तीनै सहरमा दुई सहभागीहरूलाई नेपालको ७ दिनको प्याकेजले पुरस्कृत गरिएको थियो ।
अष्ट्रेलिया नेपालका लागि प्रमुख पर्यटकिय स्रोत बजार पनि भएका कारणले नेपाल पर्यटन बोर्डले आफ्नो प्रबद्र्धनका कार्यहरू यो देशमा नियमित गर्दै आएको छ । २०१७ मा ३३ हजार ३ सय ७१ अष्ट्रेलियाली नागरिकले नेपाल भ्रमण गरेका थिए । बोर्डसँगै यी कार्यक्रमहरूमा नेपालबाट होटल बाराही, होटल मनाङ र होटल ग्लेसियर सहभागी थिए ।