एजेन्सी
मंगलबार, आश्विन २, २०७५
3863

इश्लामावाद-पाकिस्तानको प्रधानमन्त्री कार्यालयको विलाशी कारको लीलामी आज मंगलबार सुरु भएको छ । यो लीलामी पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आवासमा भइ रहेको छ । यसमा बीएमडब्लू, मर्सिडिज, ल्यान्ड क्रुजर तथा एसयूभीका साथसाथ अन्य कारहरु लीलामी गरिनेछ । यसमा कैयौ बुलेट प्रुफ सवारी पनि समावेश गरिएको छ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तान सरकारले फजुल खर्च रोक्ने उद्देश्यबाट यो कदम उठाएको हो ।
लीलामीका लागि राखिएको १०२ कार मध्ये ७० कारको लीलामी पहिलो दिनमै पुरा भएको पाकिस्तानी सूचना मन्त्री फवाद चौधरीले जानकारी गराएका छन् । यी सबै कार बजारको मूल्य भन्दा बढीमा बिक्री भएका छन् ।

जानकारीका अनुसार यो समयमा सर्वाधिक बोली लगाएर कार आफ्नो बनाउने व्यक्तिलाई पुरा मूल्यको १० प्रतिशत पैसा तत्काल दाखिला गर्नुपर्नेछ । लीलामीमा राखिएका यी कारहरुमा ८ बीएमडब्लू, २८ मर्सिडिज, ४० टोयोटा, २ ल्यान्ड क्रुजर, ५ मित्सुबिसी तथा २ जीप समावेश छन् ।
पाकिस्तानको नयाँ सरकार खर्च कम गर्न चाहन्छ । यसै कारण आलिसान वाहनकाृ नयाँ सूची तयार पारिएको र बिक्रीका लागि यसलाई प्रधानमन्त्रीको आवासमा राखिएको छ । सरकारी खर्च कम गर्ने आफ्नो प्रतिबद्धतामा कायमै रहदै प्रधानमन्त्री इमरान खानले १८ अगस्टमा आफ्नो पद सम्हालेपछि आफ्नो सैन्य सचिवको ३ वटा कोठा भएको घरमा आफ्ना २ घरायशी सेवकका साथ रहदै आएका छन् ।
उनले ५२४ कर्मचारी र ८० सवारी साधन भएको विशाल प्रधानमन्त्री आवासमा नबस्ने घोषणा गरेका थिए ।