एजेन्सी
सोमवार, मंसिर १७, २०७५
780

नयाँ दिल्ली-भारतको महाराष्ट्रमा प्याज किसानले आफु ले उत्पादन गरेको प्याज प्रति केजी १ भारतीय रुपैयाँ भन्दा थोरै बढीमा बिक्री गरेका छन् । यसको बिरोध स्वरुप किसानले ७५० केजी प्याज बिक्री गरेर यसबाट उठेको १ हजार ६४ रुपैयाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएका छन् ।
नासिक जिल्लाका किसान संजय साठे ती प्रमुख प्रगतीशील किसानमा पर्छन, जसलाई २०१० मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको भारत भ्रमणको समयमा उनीसँग वार्ता गर्नका लागि केन्द्रीय कृषि मन्त्रालयले छनौट गरेको थियो ।

आफ्नो दुःख सुनाउदै साठेले भने,“मैले यो सिजनमा ७५० किलो प्याज उत्पादन गरेको छु । तर गत साता निफड थोक बजारमा मलाई प्याजको मूल्य प्रति केजी १ रुपैयाँ प्राप्त भएको थियो । तर मैले कुनै तरिकाबाट मोलभाउ गरेर प्रति केजी १.४० रुपैयाँको सम्झौता गरे र ७५० केजी प्याजको सट्टा मैले १ हजार ६४ रुपैयाँ प्राप्त गरे ।” महत्वपूर्ण कुरा के छ भने कुल प्याज उत्पादनको ५० प्रतिशत उत्तरी महाराष्ट्रको नासिक जिल्लामा हुने गरेको छ ।
साठेले भने,“महिनौको मिहेनतको यस्तो परिणाम मिलेको छ । यसैले मैले बिरोध स्वरुप १ हजार ६४ रुपैयाँ प्रधानमन्त्रीको राहत कोषमा दान गरे । मैले अतिरिक्त ५४ रुपैयाँ मनी अर्डरबाट पठाएको छु ।” उनले आफु ले कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नराखेको बताएका छन् । तर किसानप्रतिको सरकारी उपेक्षाप्रति आफु  क्रुद्ध भएको उनले बताए । मनी अर्डर प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधित गरेर २९ नोभेम्बरमा पठाइएको थियो ।