कारोबार संवाददाता
बिहिवार, मंसिर २०, २०७५
1346

लक्जेम्बर्ग सिटी-सार्वजनिक यातायात निःशुल्क गर्ने लक्जेम्बर्ग विश्वकै पहिलो मुलुक भएको छ ।
२०२० देखि ९९९ वर्गकिलोमिटरको यो मुलुकमा रेल, ट्राम र बसको भाडा हटाइने भएको छ । महŒवाकांक्षी सरकारी प्रस्तावअन्तर्गत यसो गर्न लागिएको डेली मेलले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

लक्जेमबर्गका प्रधानमन्त्री जेभियर बेटेलको प्रशासनको मातहतमा यो योजना अगाडि सारिएको हो । लिबरल नेतृत्वको गठबन्धनले झिनो अन्तरको जित हासिल गरेपछिको समयमा यस्तो योजना सारिएको हो ।
प्रशासनको नीतिको मातहतमा सार्वजनिक सेवामा गरिने थप लगानी पनि परेको छ । यो नीतिमा दुई नयाँ सार्वजनिक बिदा पनि रहेको छ ।
देशको राजधानी लक्जेम्बर्ग सिटीमा १ लाख १० हजारको मात्रै बसोबास भए बाबजुद सवारी जामको चपेटामा पर्दै आएको छ ।
यो सहरमा त्यस्तै ४ लाख मानिस अन्य क्षेत्रबाट कामका लागि आउने गरेका छन् । २ लाख मानिस फ्रान्स, जर्मनी र बेल्जियमको सीमा पार गरेर प्रत्येक दिन आउने गरेका छन् ।
यो पछिल्लो निःशुल्क भाडा योजनालाई नागरिकलाई सार्वजनिक यातायात प्रयोगमा प्रोत्साहित गर्ने पछिल्लो कदमको रुपमा पनि हेरिएको छ ।
लक्जेम्बर्गमा २० वर्षमुनिका मानिसलाई पहिलेदेखि नै निःशुल्क यातायात सेवा उपलब्ध गराइँदै आएको छ । यसैबीच स्कुल विद्यार्थीले पनि आफ्नो स्कुल र घरको यात्रा गर्नका लागि पनि निःशुल्क यातायात सुविधा उपलब्ध गराइँदै आएको छ ।