एजेन्सी
बिहिवार, चैत्र ७, २०७५
700

वासिङटन-अलेक्जेन्ड्रादेखि वारेन बफेट सम्मले धनीले उच्च कर तिर्नुपर्ने बताउदै आएका छन् । फिलान्थ्रोपी– ५० सूचीले अमेरिकाका धनीले गत वर्ष कति सम्पत्ति दान गरे भन्ने विषयमा सार्वजनिक गरेको छ ।
गत वर्ष देशका ५० दानविरहरुका समूहले ७.८ अर्ब डलर दान गरेका छन् । यो अघिल्लो वर्षको १४.७ अर्ब डलरको दाजोमा झन्डै आधाले कम हो ।

यो सूचीमा सर्वाधिक दान गर्ने पहिलो स्थानमा जेफ बेजोस परेका छन् । विश्वकै धनी बेजोसले विगतमा परोपकारी काममा थोरै मात्र दान गरेकोमा आलोचित हुदै आएका थिए ।
यद्यपि गत वर्ष बेजोसले बेजोस डे वन फन्डको माध्यमबाट २ अर्ब डलर दान गरेका थिए । यसले घर विहिन परिवारका लागि सहयोग गर्दै आएको छ ।
५० सर्वाधिक दान गर्नेको सूचीमा दोस्रो स्थानमा माइकल ब्लूमबर्ग रहेका छन् । ५६ अर्ब डलरको सम्पत्ति रहेका उनले ७६ करोड ७० लाख डलर दान गरेका छन् । उनको यो दान कला, शिक्षा, वातावरण, सार्वजनिक स्वास्थ्य लगातका क्षेत्रमा जानेछ । उनले अघिल्लो वर्ष २० करोड २० लाख डलर दान गरेका थिए ।
दान गर्ने मामिलामा २०१७ मा पहिलो स्थानमा रहेका बिल एन्ड मेलिन्दा गेट्स गत वर्ष १२ औं स्थानमा झरेका छन् । उनीहरुले आफ्नो बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेसनका लागि १३ करोड ८० लाख डलर मात्र दान गरेका थिए । यद्यपि १९९४ देखि हाल सम्मको अवधिमा उनीहरुले ४५.५ अर्ब डलर दान गरिसकेका छन् ।
दानको मामिलामा मार्क जुकरबर्ग र प्रिन्सिला चान पनि २०१७ को दोस्रो स्थानबाट २०१८ मा सातौ स्थानमा ओर्लिएका छन् । २०१७ मा उनीहरुले २ अर्ब डलर दान गरेकोमा २०१८ मा गएर २१ करोड ४० लाख डलर मात्रै दान गरेका छन् । उनीहरुले चान जुकरबर्ग इनिसियटिभ डोनर एडभाइज्ड फन्डको माध्यमबाट हालसम्म १.८ अर्ब डलर दान गरिसकेका छन् ।