एजेन्सी
आइतवार, चैत्र १०, २०७५
764

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्वीटमार्फत भनेका थिए,“अमेरिकाको अर्थ मन्त्रालयले आज घोषणा गरेको थियो कि उत्तर कोरियामाथि पहिलेदेखिनै लगाइदै आएको प्रतिबन्धपछि उसमाथि व्यापक स्तरमा थप प्रतिबन्ध लगाइने छ । साथसाथै उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन् कि मैले आज यी अतिरिक्त प्रतिबन्ध फिर्ता लिने आदेश दिएको छु ।”
यद्यपि यो स्पष्ट भएको छैन कि ट्रम्पले आफ्नो ट्वीटमा उत्तर कोरियामाथिको कुन प्रतिबन्धको कुरा गरेका हुन् । ट्रम्पको यो ट्वीटबाट मन्त्रालयका अधिकारी रनभूल्लमा परेका छन् । किनकी मन्त्रालयले कुनै नयाँ प्रतिबन्धको शुक्रबार कुनै नयाँ घोषणा गरेको थिएन ।

ट्रम्पले कुन प्रतिबन्धको बारेमा कुरा गरेको हो भन्ने विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । अर्थ मन्त्रालयले उत्तर कोरियाको बिरुद्धमा कुनै नयाँ प्रतिबन्धको बारेमा शुक्रबार कुनै घोषणा गरेको थिएन । तर ट्रम्पले यसै साता यसो गर्ने धम्की वास्तवमै दिएका थिए ।
ट्रम्प प्रशासनले प्रतिबन्धको उल्लंघन गर्ने तथा उत्तर कोरियालाई मद्दत गरेको आशंकामा दुई चिनियाँ जहाज कम्पनीमाथि बिहीबार प्रतिबन्ध लगाएको थियो । ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले शुक्रबार भनेकि थिइन्,“ट्रम्प उत्तर कोरियाली नेता किमलाई मन पराउछन् र उनलाई प्रतिबन्ध आवश्यक भएको लागेको छैन ।”
डोनाल्ड ट्रम्प र किम जोङ उनबीच सिंगापुरमा पहिलो पटक बैठक भएको थियो । उक्त बैठकपछि दुवै नेताको सम्बन्धमा सुधार आएको थियो । कुनै समयमा दुवै नेता एक अर्काका मुलुकलाई धवस्त पार्ने धम्की दिँदै आएका थिए ।