एजेन्सी
बिहिवार, जेठ २४, २०७५
1087

अमेरिकी विदेश मन्त्रालयले चीनमा रहेका केही अमेरिकीलाई स्वास्थ्य सम्बन्धि समस्याका कारण अमेरिका फिर्ता बोलाएको छ । चीनको गुआङझोमा रहेको अमेरिकी वाणिज्य दूतावासमा कार्यरत केही अमेरिकी अधिकारी तथा उनीहरुको परिवारलाई असामान्य आवज सुनेपछि दिमागी समस्या आएको बताएका छन् ।
गत महिना पहिलो घटना देखा परेपछि पठाइएको अमेरिकी मेडिकल टोलीले सुरुवाती परिक्षणपछि विदेश मन्त्रालय यो कथित आक्रमणबाट प्रभावित भएको मानिसको परिक्षणका लागि अमेरिका बोलाइएको विदेश मन्त्रालयका प्रवक्ता हीथर नार्टले यसको जानकारी दिएका हुन् ।
कुटनीतिज्ञको फिर्ता बोलाउने यो प्रक्रियाले यो हमला केबल अमेरिकी अधिकारीमा मात्रै सिमित नभएको र यसले धेरै कुटनीतिज्ञमाथि असर परेको पुष्टि गरेको छ । क्यूबामा पनि अमेरिकी कुटनीतिज्ञको सोनिकि आक्रमणको शिकार भएपछि उनीहरुलाई फिर्ता बोलाइएको थियो । यी अधिकारीमा एकै पटक सुन्नेमा समस्या, चक्कर आउने, दृष्टि सम्बन्धि लगायतको समस्या देखा परेको छ ।
अमेरिकाले बुधबार चीनबाट आफ्नो कुटनीतिज्ञलाई बोलाउन सुरु गरेको थियो । आगामी दिनमा थप कुटनीतिज्ञ तथा उनीहरुको परिवारलाई अमेरिका फिर्ता बोलाउने सम्भावना भएको वासिङटन पोष्टले जनाएको छ ।
हीथर नार्टले भनेका छन्,“अमेरिकी चिकित्सकले चोटको कारण पत्ता लगाउने कोशिश गर्नेछन् ।” २३ मे मा अमेरिकी विदेश मन्त्रालयले चीनमा रहेका आफ्ना नागरिकलाई ‘हेल्थ अलर्ट’ जारी गरेको थियो । एक अमेरिकी अधिकारीले चीनमा असामान्य आवज सुनेपछि दिमागी चोटको गुनासो गरेका थिए । उक्त घटनापछि यस किसिमको चेतावनी जारी गरिएको थियो ।
यद्यपी हालसम्म पनि कुनैपनि अधिकारीको नाम भने खुलाइएको छैन । विदेशी सेवा अधिकारी मार्के लेन्जीले वासिङटन पोष्टलाई बताए अनुसार उनलाई उनको पत्नी तथा ३ बच्चाको साथ अमेरिका फिर्ता पठाइदै थियो । लेजीको २०१७ को अप्रिलमा असामान्य आवाज सुनाइ दिएको थियो ।