एजेन्सी
आइतवार, जेठ २७, २०७५
1680

हालै मात्र क्यानडाको क्यूबेकमा विश्वकै आर्थिक महाशक्ति मुलुकको बैठक भइरहेको छ भने अर्कातर्फ चीनको किङडाओमा सांघाई सहयोग सम्मेलन अर्थात एससीओको बैठक चलिरहेको छ ।
झट्ट हेर्दा विकसित देशको समूहको राष्ट्राध्यक्षको सम्मेलनको महत्व चीन र भारतको् सम्मेलन भन्दा बढी देखिन्छ । तर विश्वको अर्थव्यवस्थालाई नजिकबाट नियाल्नेले जी–७ मा व्यापार युद्धलाई हल गर्ने विषयमा ध्यान केन्द्रीत भएको देखिन्छ । यसैबीच कच्चा तेलको बढ्दो मूल्यमा पनि विश्वका धनी मुलुकहरुको ध्यान केन्द्रीत भएको देखिन्छ ।
किङडाओमा शनिबार सुरु भएको दुइ दिने संघाई सहयोग संगठन अर्थात् एससीओको बैठकमा भारत पहिलो पटक पूर्ण सदस्यको हैसियतमा भाग लिइरहेको छ । सुरुमा एससीओमा संलग्न चीन, भारत, रुस तथा पाकिस्तान समेत चार मध्य एसियाली मुलुकको समूह क्षेत्रिय सुरक्षाको विषयलाई लिएर गठित भएको थियो । तर बदलिदो परिस्थितिमा यसको उद्देश्य पनि फेरिएको छ । हाल आएर एससीओको प्राथमिकतामा सुरक्षा नभएर व्यापार देखा परेको छ ।
आगामी समयमा विश्वव्यापी अर्थव्यवस्थामा चीन तथा भारतको बोलवाला हुने मानिदै आएको छ । सिंगापुर र मलेशिया जस्ता देशले पनि यसमा महत्वपूर्ण भूमिका निभाउन सकिने अपेक्षा गरिदै आएको छ ।
डेस्टिनी सेक्यूरिटिजका प्रबन्ध निर्देशक तथा मुख्य कार्यकारी अधिकारी सुदिप बन्दोपाध्यायले भनेका छन्,“एससीओको महत्व धेरै बढेको छ । विश्वव्यापी वृद्धिमा एसिया–प्रशान्त क्षेत्र आर्थिक शक्तिको रुपमा देखा परेको छ । यो क्षेत्र विश्वव्यापी अर्थव्यवस्थाको पावरहाउसको रुपमा देखा पर्न थालेको छ ।”
दिल्लीस्थित ब्रोकरेज फर्मका आर्थिक विश्लेषक आसिफ इकबालले पनि आर्थिक वृद्धिको मञ्चमा चीन तथा भारतलाई बेवास्ता गर्न नमिल्ने बताएका छन् ।
उनका अनुसार आगामी १ दसकको अवधिमा विश्वव्यापी कुल गाहर््स्थ्य उत्पादन (जीडीपी) मा चीनको मात्रै ३० प्रतिशतको हिस्सा पुग्ने र भारतको १० प्रतिशत पुग्नेछ । अगामी ५ वर्षको अवधिमा विश्वव्यापी अर्थव्यवस्थामा एसिया–प्रशान्त क्षेत्रको हिस्सा मात्रै ४० प्रतिशतको पुग्ने अपेक्षा गरिएको उनले बताए ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको आंकडा अनुसार आसिफ इकबालको यो दावीलाई सही मान्छ । कोषले हालै मात्र सार्वजनिक गरेको प्रतिवेदन अनुसार पनि २०२३ सम्ममा विश्वव्यापी अर्थव्यवस्थामा एसिया–प्रशान्त क्षेत्रको हिस्सा ३९ प्रतिशतसम्म पुग्नेछ । जबकी उत्तर अमेरिकाको २५ प्रतिशतसम्म ओरालो लाग्ने कोषले जनाएको छ ।
सुदिप बन्दोपाध्यायका अनुसार भारत तथा चीनको संयुक्त आबादी २ अर्ब ६० करोड भन्दा बढी रहेको छ । अमेरिका सहित विश्वका कुनैपनि आर्थिक महाशक्ति यी दुई देशलाई बेवास्ता गर्न नसक्ने दावी उनको छ ।