एजेन्सी
सोमवार, जेठ २८, २०७५
619

केही समयसम्म दुश्मनी साध्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उन सिंगापुर पुगिसकेका छन् । यी दुईबीच १२ जूनमा सेन्टोसा टापुको फाइभ स्टार होटल कपेलामा भेटघाट हुदैछ । उनीहरुको भेटघाटको सुरक्षाका लागि मात्रै ८० करोड रुपैयाँ खर्च हुने भएको छ ।
हाल विश्वकै ध्यान ट्रम्प र किमबीचको भेटघाटमा गएको छ । विश्वभरीबाट ३ हजार पत्रकारहरु हाल सिंगापुर पुगिसकेका छन् । विश्व शान्तिको बाटोमा अग्रसर हुन्छ वा परमाणु युद्धको आगोमा होमिन्छ भन्ने विषयमा वार्ताले निर्णय गर्ने भएकाले पनि भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

यो भेटघाटलाई हालको विश्व राजनीतिको सबैभन्दा ठूलो घटना मानिएको छ ।
ट्रम्प र किम वार्ताका लागि राजी हुनुपनि कुनै चमत्कार भन्दा कम होइन । किनकी केही दिन अगाडिसम्म दुवै नेता हात धोएर एक अर्काको बिरुद्धमा लागिरहेका थिए । दुवै नेता परमाणु बटन दबाउने धम्की दिँदै आएका थिए । दुवै नेताको एकअर्काप्रतिको टिप्पणी कुनै पनि राष्ट्राध्यक्षबाट हुने किसिमको रहेको थिएन ।
सिंगापुरले मात्रै १ अर्ब ६० करोड रुपैयाँ खर्चिने
आइतबार मात्रै उत्तर कोरियाली नेता सिंगापुर पुगेको प्रधानमन्त्री ली शियेन लुङसँग भेटघाट गरेका छन् । ट्रम्प तथा किमको सम्मेनको आतिथ्य सत्कार सिंगापुरलेनै गरिरहेको छ । सिंगापुरका प्रधानमन्त्री ली शियेन लूङले आफ्नो देशले यो भेटघाटका लागि १ अर्ब ६० करोड रुपैयाँ खर्च गर्न गइरहेको बताएका छन् । लूङका अनुसार यो रकमको आधात केबल सुरक्षामा मात्रै खर्च हुने बताएका छन् । लूङसँगको भेटघाटपछि यदी शिखर सम्मेलनमा कुनै सम्झौता भएमा यसका लागि सिंगापुरलाई इतिहासमै सम्झिने किमले बताएका छन् ।