एजेन्सी
सोमवार, जेठ २८, २०७५
1990

विश्वका ७ शक्तिशाली देशको समूह जी–७ को सम्मेलन विवाद तथा विश्व व्यापारको युद्ध फेरी सुरु हुने खतरा कायम राख्दै सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो भन्सारको विषयमा आमने सामने भएका छन् । यसैबीच ट्रम्पले ट्रुडोलाई कमजोर र बेइमान भनेका छन् ।
संयुक्त विज्ञप्तिलाई राष्ट्राध्यक्षले स्वीकृती गरेको केही समयपछि ट्रम्पले ट्वीट गर्दै यसबाट आफूलाई अलग गरेको र यसमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि जी–७ मा विवादको संकेत देखा परेको हो ।
उत्तर कोरियाली नेता किम जोङ उनसँगको भेटघाटका लागि सिंगापुर गएका ट्रम्पले ट्वीट गर्दै अमेरिकाले विज्ञप्तिमा हस्ताक्षर नगर्ने निर्णय गरेको बताएका थिए । क्यानडा तथा अन्य पश्चिमी युरोपेली देशले अमेरिकी किसान, कामदार तथा कम्पनीमाथि भारी शुल्क लगाउदै आएकाले आफूले हस्ताक्षर नगरेको ट्वीटमार्फत ट्रम्पले बताएका छन् । अमेरिकी बजारमा भरिएका अटोमोबाइल्समा पनि भन्सार लगाउन सक्ने उनले बताए ।
ट्रुडोले शनिबार ट्रम्प प्रशासनले क्यानडा, युरोपेली संघ तथा मेक्सिकोबाट आयात हुने स्टिल तथा आल्मुनियममा लगाइएको भन्सारको बदलामा अमेरिकी उत्पादनमाथि जुलाई १ देखि शुल्क लगाउने बताएका थिए ।
अमेरिकी राष्ट्रपतिले ट्वीटमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले जी–७ सम्मेलनको अवधिमा अत्यन्त हलुका व्यवहार गरेको बताएका छ्न् । ट्रुडोलाई बेइमान तथा कमजोर लेख्दै उनले आफ्नो मुलुकको डेरी उत्पादनमा लगाइदै आएको २७० प्रतिशतको भन्सारको बदलामा यो भन्सार लगाइएको उनले बताए । उनले ट्रुडोमाथि गलत विज्ञप्ति दिएको आरोप पनि लगाए ।
क्यानडाले अमेरिकी किसान, मजदुर तथा कम्पनीमाथि भारी भन्सार लगाउदै आएको विषय वास्ताविकता भएको पनि उनले बताए ।