ट्रम्प–किम वार्ताले एसियाली सेयर बजार उकालो
एजेन्सी
मंगलबार, जेठ २९, २०७५
678

टोकियो-परमाणु युद्ध गर्ने र एक अर्कालाई पाठ सिकाउने धम्की दिँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनबीच भएको शिखर वार्तापछि एसियाली सेयर बजार उकालो लागेको छ ।
यो भेटघाट भन्दा पहिले पनि अमेरिकी र युरोपेली सेयर बजारमा तीव्र वृद्धि भएको थियो । प्रमुख अन्तर्राष्ट्रिय मुद्राको तुलनामा डलरको पनि अधिमूल्यन भएको छ । डलर लगातार तीन सातादेखि उकालो लाग्ने क्रममा देखिएको छ । भारतीय सेयर बजार पनि विहानीको कारोबारदेखिनै उकलो लागेको छ ।
सीएनबीसीका अनुसार मंगलबार विहान एसियाका धेरैजसो सेयर बजार उकालो लागेको छ । जी–७ को तनावपूर्ण सम्मेलनले कारोबारमा देखिएको चिन्तालाई किम–ट्रम्पबीचको सम्मेलनले केही घटाएको छ ।
बिहानीको कारोबारमा जापानी सेयर सूचक निकी–२२५मा ०.५८ प्रतिशतले वृद्धि भएको छ । दक्षिण कोरियाली सेयर सूचक कोश्पीमा पनि ०.२५ प्रतिशतको वृद्धि भएको छद्ध । अस्ट्रेलियाली सेयर सूचकमा पनि ०.२४ प्रतिशतको वृद्धि भएको छ ।
यसैगरी हङकङको हाङसेङ सूचकमा पनि ०.१६ प्रतिशतको वृद्धि भएको छ । दुई नेताबीचको वान–अन–वान वार्ता सम्पन्न भइसकेको छ ।
सेन्टोसा टापुको क्यापेला रिसोर्टमा दुई नेताबीच करिब ५० मिनेटसम्म भेटघाट भएको थियो । यो भेटघाटलाई कैयौ अर्थमा महत्वपूर्ण मानिएको छ । अमेरिकाका कोही वहालवाला राष्ट्रपतिले कुनै उत्तर कोरियाली राष्ट्रपतिसँग मिलेको यो पहिलो पटक हो । सत्तारोहण भएको ७ वर्षपछि किम जोङ उन पहिलो पटक यति लामो विदेश यात्रामा गएका हुन् ।