Logo

काफ्का, बेछाँटे रमिता र हाम्रो सान ‘ढाँट’ !

यस स्तम्भमा पंक्तिकारले लेख्ने गरेका धेरैजसो बेथितिका सन्दर्भहरू, जो हाम्रो सामाजिक तथा राजनीतिक जीवनमा बग्य्राल्ल छरिएको हामी देख्छौँ, तिनै श्रृंखलाबद्ध रूपमा बढ्दै गइरहेका बेथितिहरूप्रति जनताको मनस्थितिलाई शब्दका माध्यमबाट उतार्ने एउटा सानो प्रयास मात्र हो । विगतका झन्डै आधा दशकदेखि चल्दै आएको कलमले उजागर गरेका वा उजागर गर्न खोजेका सामाजिक-राजनीतिक विसंगति र विकृतिहरूले नेपाली जनजीवनमा अपूरणीय क्षति पुर्‍याउँदै आइरहेका छन्, त्यो कटु सत्य हो ।

राजनीतिक वृत्तमा रहेका केही बुद्धिजीवी मित्रहरूले लेखमा नैराश्यता र नकारात्मकता बढी देखिने गरेको पनि गुनासो यदाकदा नसुनिएको हैन, सुनिएकै छ । यद्यपि, पंक्तिकारले जनताको पक्षमा उभिएर त्यस्ता विसंगतिपूर्ण राजनीतिक कर्तुतहरूको प्रतिरोध, प्रतिकार वा प्रतिवाद गर्नु नै लेखकीय उत्तरदायित्व हो भन्नेमा अटल विश्वास राख्दै आइरहेको छ । चेकोस्लाभिकायाका प्रख्यात यहुदी लेखक तथा उपन्यासकार फ्राञ्ज काफ्का (१८८३–१९२४) ले कतै अभिव्यक्त गरेका शब्दहरूको स्मरण हुन्छ । एक जना मूढ मूढै हुन्छ । दुई जना मूढहरू मूढ नै कहलाउँछन् । तर, दसौँ हजार मूढहरूको बथान मूढ रहिरहन सक्तैनन्, ती राजनीतिक दल बन्छन् । यस उक्तिभित्रको सार र सत्यतालाई बोध गर्न अनुभवको धेरै गहिरो तहसम्म पुग्न पर्दैन भन्ने मान्यता छ ।

सभ्य समाजलाई एकीकृत रूपमा पारस्परिक समन्वय, समझदारी, मेलमिलाप र भाइचाराको मानवीय भावनाका साथ मुलुकको विकास निर्माणको पथमा प्रजातान्त्रिक ढंगले व्यवस्थित हुँदै अग्रपथको यात्रा अवलम्बन गर्नका लागि राजनीति हाम्रो आज अपरिहार्य संस्कृति बनेको छ । यसबाट टाढा रहन खोज्नु पनि मुटुभित्र मातृभूमिप्रतिको माया हुर्काउँदै हिँड्ने देशभक्त नागरिकका लागि अकल्पनीय विषय हो । कुनै पनि राजनीतिक व्यक्तित्व अर्थात् विवेकशील नागरिकले भ्रष्टाचारको संरक्षक, विकृति र बेथितिको पालक र मनपरीतन्त्रको वाहक बनेर आफ्ना गतिविधिलाई निरन्तरता दिने चेष्टा गर्छ भने त्यो राजनीतिक प्राणी नभई जंगलको सभ्यतालाई अंगीकृत गर्दै विकासशील मानव समाजलाई विषाक्त बनाउने प्रयासरत अमंगलकारी जीवाणु हो भन्नु अत्युक्ति नहोला, राजनीतिक अस्पष्टताका ओझेलमा सुशासन बिलाउँछ, अस्ताउँछ । सुशासनको अग्रदूत बन्नका लागि बेछाँटको प्रशासन र राजनीतिक अविश्वासभाव (सिंनिसिज्म) बाट उन्मुक्त रहन सक्नुपर्छ । फ्राञ्ज काफ्काले सम्भवतः यही कुरालाई अन्तस्करणमा राखेर भनेका हुन सक्छन्, दसौँ हजार मूढहरूको बथान चेतनाहीन भएर मूढ रहिरहन सक्दैनन्, उनीहरू राजनीतिक जत्थामा परिणत हुन्छन् ।

सुशासन ‘आकाशको फल, आँखा तरी खा’ होइन । भन्नुको अर्थ, असम्भव होइन । अरूले केही गर्न सक्दैनन्, मेरै अध्यक्षतामा सुशासन समिति (आयोग) गठन हुनुपर्छ भन्दै सोहीअनुसार गरेर पनि खोइ त समाजमा राजनीतिक खैलाबैला रोकिएको कहाँ छ र ? समग्रमा भन्नुपर्दा नेपालको सिआइबी र अख्तियार दुरुपयोग निवारण आयोगसँग हजारौँ भ्रष्टाचारका मुद्दाहरूको चाङ छ । कतिलाई कारबाहीको दायरामा ल्याइएको छ भने कतिपय मुद्दा छ्यासमिस गराइएका छन्, राज्यशक्तिको दुरुपयोगमा । वि.सं. २०७९–८० मा अख्तियारमा २ सय १ वटा मुद्दा आए भ्रष्टाचारसम्बन्धी, जसमा १ हजार ५ सय ४५ जना व्यक्ति दोषी ठहरिएका छन् विशेष अदालतबाट । त्यसभन्दा अघिल्लो वर्ष १ सय ६१ मुद्दा आए र २ सय ६६ व्यक्ति आरोपित भए । ०८०–८१ मा अख्तियारमा २ सय ६७ वटा उजुरी र २०८१–८२ मा ३ सय ५ उजुरी दर्ता गरिएको समाचारपत्रहरूले प्रकाशित गरेका छन् ।

त्यस्ता गैरकानुनी काम, काण्ड र प्रकरणहरूबारे जनता सुसूचित नै छन् । मात्र तिनीहरूमाथि चलाइनुपर्ने फाइलका फाइल उजुरीहरू गृहमा, अख्तियारमा र सिबिआईमा थुप्रिएर बसेको जनगुनासो छ । ठूला माछाबारे कैयौँ गफ जनताले सुने, तर ती ठूला माछा कहाँ कसरी चिप्लिएर गए ? त्यसबारे जानकारी पाउन आम मानिसहरू असमर्थ छन् । सत्ताको छायाँमा हलक्क बढेको कर्मचारीतन्त्र (ब्युरोक्रेसी) र देशको शासन व्यवस्था अहिले पनि ताक परे तिवारी नत्र गोतामेकै म्युजिकल चेयर छोप्न होडबाजीमा रहेको जनता जिज्ञासापूर्वक तन्मयताका साथ अवलोकन गरिरहेकै छन् । कुलिङ अफ पिरियड के हो त ? जसरी हुन्छ, सत्ता निकट भएर पदै ओगटेर बस्नुपर्ने ? अनगिन्ती छन् ऊर्जावान्, क्षमतावान् र सृजनशील अवकाशप्राप्त राष्ट्रसेवकहरू देशमा, उनीहरूले सद्विचारका साथ स्वाभिमानी र स्वावलम्बी भएर बस्न कृषि, अध्यापन र अन्य समाजसेवामूलक कार्यमा स्वयंलाई मन, वचन र कर्मले समर्पित गर्दै देशको, समाजको, परिवारको तथा आफ्नो हितका लागि व्यस्त रहन छाडेका छैनन् । घुम्ने मेचमाथिको अन्धो हुने चाहना उनीहरूमा छैन । के हामीले उनीहरूको आदर्शलाई अनुकरण गर्दै आफ्नो भविष्यको सुमार्ग छुट्ट्याउनु उपयुक्त नहोला र ?

मुलुकको राजनीतिक जटिलताले गर्दा आम मानिसको जीवनमा अन्तद्र्वन्द्वहरू यसरी फैलाउँदै गइरहेको छ, जसको अनुमान घरछेउका चिया–चौतारी वा कुनै भेटघाटको कार्यक्रममा सहभागी हुँदा मात्र लगाउन सकिन्छ । जहाँ गए पनि चाहे त्यो काठमाडौँ वा त्यस्तै बहु–सांस्कृतिक ठाउँ होस् वा तराई–मधेस, पहाड वा हिमाली भेगका ससाना पालिकाहरू होऊन्, जहाँ पनि जनस्तरमा देशको नेतृत्वप्रति रहेको वितृष्णाले दिगो स्वरूप लिँदै गइरहेको देखिन्छ । सञ्चारको द्रुत विकास र तीव्र माध्यमहरूले गर्दा देश वा विदेशमा भइरहेका घटनाहरूबारे कोही पनि सर्वसाधारण अनभिज्ञ छ भन्नु पर्दैन । देशले हासिल गरेको यो भौतिक विकास अतुल्य छ । बाढीपहिरो, डढेलो र हावाहुरीजस्ता विध्वंसकारी प्राकृतिक प्रकोपहरूलाई छेक्न अत्यन्तै विकसित मुलुकहरूले समेत घुँडा टेकेको अवस्थामा हामीले केही गर्न सकेका छैनौँ भन्नुको कुनै अर्थ रहँदैन ।

यस विषयमा नागरिक स्वयं सचेत रहनुपर्ने आवश्यकता हुन्छ । त्यही पनि हाम्रा विज्ञ प्राविधिक टोलीहरूले दाउन्नेको सडक विस्तारको काम र बुटवलको सिद्धबाबाको निर्माणाधीन टनेल अबका केही दिनमै पूरा गर्लान् भन्ने आशा गर्न सकिने अवस्था छ । झन्डै साढे तीन वर्ष भइसक्यो । भैरहवामा बाह्य ऋण लिएर ४० अर्ब खर्च गरेर बौद्धमार्गी पर्यटकहरूलाई लुम्बिनीमा आकर्षित गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भयो । सुरुसुरुका दिनहरूमा केही अन्तर्राष्ट्रिय हवाई सेवाहरूले भैरहवालाई गन्तव्य बनाएर उडान पनि भरे ।

लुम्बिनीवासीहरूमा अपूर्व उत्साह छायो र विशेष गरी त्यस क्षेत्रमा आफ्नो निजी लगानीमा निजी क्षेत्रले पर्यटकहरूका लागि सुविधाजनक आकर्षक पूर्वाधारहरूको निर्माणसमेत गरे । अभूतपूर्व उत्साहका साथ आफ्नो व्यवसाय विस्तारमा जुटे । जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया, नेपाल एयरलाइन्स र कतार एयरवेजजस्ता प्रचलित अन्तर्राष्ट्रिय हवाई सेवाहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यस्त बनाइराखे, तर मात्र केही समयका लागि । त्यसपछिको अवस्था सम्बन्धित सरकारी निकायहरूको निष्क्रियताले गर्दा हाल सो विमानस्थल पूर्ण रूपमा सञ्चालनमा छैन । अधिकांश उडान केवल लेओभरको रूपमा सञ्चालन भइरहेका छन् र धेरैजसो उडान काठमाडौँ हुँदै भैरहवामा अवतरण गर्छन् । घरेलु उडानहरू जस्तैः बुद्ध एयर, यति र श्रीले भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित आफ्नो उडान भरिरहेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले त्यहाँ क्षणिक सपना मात्रै बाँड्यो, नेपाल पर्यटन बोर्डले पनि बुद्धमार्गी देशहरूमा प्रवद्र्धन कार्यक्रम गर्दा भैरहवालाई बिर्सेजस्तो पनि देखिन्छ । बेछाँटको नागरिक उड्डयन व्यवस्थालाई सक्रिय तुल्याउन अब भैरहवावासीले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा हुने उप–निर्वाचनलाई लक्षित गरी विरोध कार्यक्रममा उत्रिन लागेको संकेत छ । यस्तो अवस्था आउन नदिन सरकार चनाखो भई भैरहवाको विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरूलाई उडान भर्न प्रोत्साहित गर्न अत्यावश्यक छ ।

भारतमा हालै आयोजित म्याट्रिक्स फाइट नाइट (एफएन) अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर विश्व च्याम्पियन बनेका नेपालका बझाङे बाघ रवीन्द्र ढाँटलाई सारा संसारले अभिनन्दन गरिरहेको यस घडीमा नेपालका राष्ट्रपतिले उहाँलाई शीतल निवासमा बोलाएर सयपत्री फूलको माला पहिराएर बिदा गरेको समाचारले भन्न बाध्य तुल्याएको छ, करको भरमा नाच्नेको विवेकहीन व्यवहार ! धिक्कार सरकार !

पंक्तिकारलगायत देशभरिका जनताले भने आफू जहाँ रहेको भए पनि नेपाली आमाका सच्चा सपूत देशका सान रवीन्द्र ढाँटलाई हृदयदेखि सलाम गरिरहेका छन् । कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितात्मक कार्यक्रम (इभेन्ट) मा देशका कर्णधारहरूले हासिल गरेको उपलब्धिको जनस्तर र सरकारबाट समुचित कदर गरिने परम्पराको अन्त्य हुनुबाट बचाउनुपर्छ । र, युवापुस्ताका त्यस्ता प्रतिभाशाली प्रतियोगीहरूलाई राष्ट्रिय सम्मान प्रदान गर्ने विगतको व्यवस्थालाई निरन्तरता दिइनु शोभनीय हुन्छ । यस्तो परम्पराले युवाहरूमा उपलब्धिको जाँगर पैदा गर्न प्रेरणा दिन्छ । अन्त्यमा, प्लस टु गरेकाहरूले उच्च शिक्षाका लागि विदेश जान शिक्षा मन्त्रालयबाट एनओसी प्रदान नगरिने नीतिलाई अध्यक्ष कमरेडकै नातिबाट उल्लंघन हुने हो कि भन्ने आमचर्चा छ । आफैँ बनाएको नीति आफैँ तोड्न त भएन भन्ने व्यापक हल्ला चलिरहेको सुनिँदै छ । अस्तु ।

प्रतिक्रिया दिनुहोस्