कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
481

भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सको बहुप्रतिक्षित मोडल ह्यारियर पहिलो पटक प्लान्टबाट रोलआउट भएको छ । डिसेम्बरमा टाटाले ग्लोबल प्रिमियर गर्ने तयारी गरिरहेको ह्यारियरको पहिलो उत्पादन कम्पनीले सार्वजनिक गरेको हो ।
टाटाको प्रिमियम एसयूभीको रोलआउट गर्दै कम्पनीका पेसेन्जर भेइकल बिजनेश यूनिटका प्रमुख मयांक पारिकरले प्रि–बुकिङदेखि नै ग्राहकको उत्साहजनक प्रतिक्रियाले कम्पनीलाई नयाँ प्रडक्ट चाँडै ल्याउन उत्साह थपेको बताए । टाटाले कन्सेप्ट कारमा भन्दा आकर्षक देखिएको ह्यारियरलाई कम्पनीले ५ र ७ सिट क्षमतामा बजारमा ल्याउने जनाएको छ । नयाँ ओमेगा प्ल्याटफर्ममा बनाइएको यो कारको प्ल्याटफर्म ल्यान्डरोभर डिस्कभरी स्पोर्टको एलएस५५० बाट लिइएको हो ।

टाटाले ह्यारियरमा अल न्यू २.० लिटर क्यारोटेक टर्बोचार्जड डिजल इन्जिनयुक्त रहेको छ । ४ सिलिन्डर इन्जिन रहेको यो गाडी कुनैपनि बाटोमा चलाउन उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ । उक्त इन्जिनले १ सय ४० पीएस पावर र ३ सय २० एनएम टर्क उत्पादन गर्नेछ । यो प्रिमियम एसयूभीमा ६ स्पीड म्यानुयल र ६ स्पीड एटोमेटिक ट्रान्समिसन रहेको छ ।
कम्पनीले यो कारको सुरक्षालाई प्राथमिकतामा राखेको जनाएको छ । यो कारमा सुरक्षाको लागि एबीएस, इबीडी, एयरब्याग, हिल डिसेन्ट कन्ट्रोल, ट्याक्सन कन्ट्रोललगायतका विशेषता उपलब्ध हुनेछ । टाटा ह्यारियरमा प्रिमियम क्याबिनको साथ मल्टी फिचर दिइएको बताइएको छ । नयाँ इन्फोटेन्टमेन्टका साथ हर्मन कार्डन म्युजिक सिस्टम यसमा छ । २०१९ को जनवरीबाट बजारमा आधिकारीक रुपमा आउने यो कारको सुरूवाती मूल्य १२ लाख भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ ।