कारोबार संवाददाता
मंगलबार, पुष २४, २०७५
576

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटाको नयाँ कार आज सार्वजनिक गर्दैछ । ह्याचब्याक सेगमेन्टको टियागो कारको नयाँ मोडल टियागो एनआरजी नेपाली बजारमा ल्याइएको हो ।
नयाँ विशेषता र डिजाइनसहित आएको टियागो एनआरजीले टाटा मोटर्सको ह्याचव्याक सेगमेन्टको बजारलाई सहयोग पु-याउने विश्वास कम्पनीले गरेको छ । टाटा मोटर्सले यो कारलाई आकर्षक बनाउन टेलगेट तथा दुवै साइडमा मस्कुलर क्लाइडिङ तथा अगाडि र पछाडि बम्परमा सिल्भर रंगको स्कीड प्लेट राखिएको छ । माथि छतको रड पूरै कालोे रहेको छ । साथै यसमा रुफ रेलको पनि प्रयोग गरिएको छ । १४ इन्चको फोर स्पोक ड्यूल टोन अलोय ह्वीलको प्रयोग गरिएको यस कारको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ ।

टियागो एनआरजीको क्याविनमा पूरै कालो रंगको प्रयोग गरिएको छ । साथै, कतै–कतै प्रयोग गरेको अरेन्ज कलरको लाइनिङले क्याविनलाई रिचनेस प्रदान गरेको छ । यसमा ५ इन्चको थ्रीडी न्याभिगेसन सुविधासहितको टच–स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यो हर्मनका इन्फोटेन्मेन्ट सिस्टममा आठवटा स्पीकर जडान गरिएको छ । यी स्पीकरको सहायताले म्यूजिक सिस्टमलाई भव्य बनाएको छ । स्टेरिङ माउन्टेड कन्टोल सिस्टमले म्यूजिक सिस्टम कन्ट्रोल गर्न चालकलाई सजिलो बनाएको छ । स्टोरेजका लागि अगाडि ढोकामा २ वटा पानीको बोतल राख्ने स्पेस दिइएको छ भने यसमा कुल्ड–ग्लोब बक्स दिइएको छ । यसमा पछाडि स्टोरेजका लागि २ सय ४२ लिटरको बूट स्पेस रहेको छ ।
यसमा सुरक्षा विशेषताको रुपमा ड्यूल फ्रन्ट एयरव्याग, रिभर्स पार्किङ असिस्ट, स्मार्ट रियर वाइपर, ड्राइभर सिट रिमाइन्डर, ईबीडीसहितको एबीएस र कर्नर स्ट्याबिलीटी कन्ट्रोल, आर्मोड बडी तथा क्याविन र फलोमी हेडल्याप रहेको छ । सार्वजनिक गर्दाको समयमा नेपाली बजारमा एनआरजीको पेट्रोल भेरियन्टमात्र उपलब्ध हुनेछ ।
यसमा रहेको ११ सय ९९ सीसीको ३ सिलिन्डर पेट्रोल इन्जिनले ६००० आरपीएममा ८५ पीएस पावर तथा ३५०० आरपीएममा ११४ एनएम–टर्क उत्पादन गर्छ । यसमा फाइभ–स्पीड म्यानूअल गियर बक्स रहेको छ । टियागो एनआरजी मालाबार सिल्भर, क्यानियन अरेन्ज तथा फूजी ह्वाइट तीनवटा रंगमा उपलब्ध हुने कम्पनीको भनाइ छ । एनआरजीको इन्ट्रोडक्टरी मूल्य २९ लाख ४५ हजार रुपैयाँ हुने बताइएको छ ।