कारोबार संवाददाता
बिहिवार, आश्विन ४, २०७५
508

भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले धेरै सहकारी कम्पनी र एनजीओजस्तो भएको बताएका छन् । सहकारी मूल्य मान्यतालाई पालना नगर्दा सहकारी अभियानमा समस्या आएको र यसमा सुधार हुनुपर्नेमा उनको जोड थियो ।
“धेरै सहकारीहरूले मूल्य मान्यता पालना नगरी गर्दा निजी कम्पनी र एनजीओ जस्ता भएका छन्,” बुधबार रोयल बहुउद्देश्यीय सहकारीको साधारणसभामा बोल्दै उनले भने, “केही सहकारी साहुकारी भएका छन् भने केही सहकारीले सदस्यलाई थुन्ने जेलकोठा पनि बनाएका रहेछन् ।” नयाँ ऐनले सहकारी क्षेत्रलाई व्यवस्थित गर्नेसमेत उनको दाबी थियो ।
रोयल सहकारीले गत आर्थिक वर्षमा ५ करोड ७ लाख सेयर पुँजी तथा ४९ करोड ८८ लाख ९५ हजार बचत संकलन तथा ५१ करोड ४४ लाख ऋण लगानी गरेको छ । गत आवका नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ । यसैगरी संस्थाले ५ करोडको लागतमा छिट्टै ‘रोयल डेरी उद्योग’ स्थापना गर्ने योजनासमेत अघि सारेको छ ।