कारोबार संवाददाता
मंगलबार, कार्तिक २०, २०७५
332

विश्वव्यापी एक्सचेन्ज तथा रेमिट्यान्स कम्पनी युनिमनीले नेपालीको बाक्लो उपस्थिति रहेका जापानका सबै ठाउँमा शाखा खोल्ने भएको छ । नेपालीको बाक्लो उपस्थिति रहेका ठाउँमा नगद काउन्टरसहितका शाखा खोल्ने योजना रहेको कम्पनीको नेपाल हेर्ने कर्मचारी जगदिश खनालले बताए ।
जापानका विभिन्न कलेजमा अध्ययनरत नेपाली विद्यार्थीलाई सहज होस् भनेर कम्पनीले नगद काउन्टरसहित शाखा खोल्न लागेको उनको भनाइ छ । कम्पनीले नयाँ ग्राहकको पहिलो कारोबार निःशुल्क गर्दै आएको छ । यो स्किम डिसेम्बरसम्म कायम रहने कम्पनीको भनाइ छ । ग्राहकलाई सुविधा होस् भनेर अनलाइनबाटै सदस्य बन्न सकिने व्यवस्था पनि कम्पनीले मिलाएको छ । युनिमनीले नेपालमा रेमिट्यान्स कारोबारमा ख्याति कमाएको आइएमई समूहद्वारा प्रवद्र्धित ग्लोबल आइएमई, हिमालयन, प्रभु, नेपाल इन्भेस्टमेन्ट जस्ता ठूला बैंक र रेमिट्यान्स कम्पनीहरूसँग साझेदारी गरी जापानमा कार्यरत नेपालीले कमाएको पैसा सुरक्षित रूपमा उनीहरूका आफन्तको हातमा पुराउँदै आएको छ ।

ग्लोबल आईएमई र हिमालयन बैंकमा खाता हुने ग्राहकको खातामा १ घन्टाभित्रै रकम जम्मा हुने कम्पनीको भनाइ छ । कम्पनीले नेपाली ग्राहकलाई पैसा होल्ड गर्ने सुविधासमेत दिएको छ । यो सुविधाअन्तर्गत ग्राहकले कम्पनीलाई बुझाएको रकम जुन दिनको विनिमय दर उच्च छ, सोहीअनुसार हिसाब गरेर आफन्तलाई पठाउन सक्छन् । युनिमनी जापानबाट नेपाल पठाएको रकम एक्सप्रेस मनी, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक र यी बैंकका एजेन्टमार्फत जुनसुकै ठाउँबाट भुक्तानी लिन सकिने बताइएको छ ।
“जापानबाट पठाएको रकम नेपालमा आफूले चाहेको जुनसुकै बैंक खातामा डिपोजिट गर्न पनि सकिन्छ,” खनाल भन्छन्, “ग्लोबल आईएमई र हिमालयन बैंकमा खाता हुने ग्राहकको खातामा १ घन्टाभित्रै रकम जम्मा हुन्छ ।” दुबईमा मुख्यालय रहेको युनिमनी भुक्तानी, विनिमय र रकम स्थानान्तरण सेवा दिने बहुराष्ट्रिय कम्पनी हो । संसारका २५ मुलुकमा युनिमनीको सञ्जाल छ । युनिमनीमा नौ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । युनिमनीको मातृ संस्था यूएई एक्सचेन्ज हो ।