कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५
373

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस–इपेमेन्ट प्रणालीमा सोमबारबाट कारोबार सुरु गर्ने गरी रिलायन्स फाइनान्सलाई पनि उक्त प्रणालीमा आबद्ध गराएको छ । यस लगतै अब रिलायन्स फाइनान्सका ग्राहकहरुले पनि यस प्रणालीको वेबसाइट अथवा मोबाइल एप्सबाट आफ्नो खातामार्फत अनलाइन कारोबार गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंक तथा फाइनान्स कम्पनीका ग्राहकले आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था छ । हाल यस प्रणालीमार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड र अनलोड, सेयर ब्रोकरको भुक्तानी, डिम्याट र मेरोसेयरको नवीकरण भुक्तानी गर्न सकिने व्यवस्था छन् ।
उक्त प्रणालीमा उपलब्ध पेमेन्ट गेटवे जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । यसबाट ग्राहकले अनलाइन कारोबार १ लाखसम्म र मोबाइल एप्समार्फत प्रतिकारोबार ५ हजारसम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् । यस प्रणालीमा हालसम्म ५२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हालसम्म ४५ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।