कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५
400

एनएमबी बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले दु्रत गतिमा विस्तार गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनएमबी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे ।
सम्झौताअनुसार एनबीआईले बनाएको वित्तीय साक्षरतासम्बन्धी मोबाइल एपको संरचना र सुविधाहरूबारे एनएमबी बैंकका कर्मचारीहरूलाई विस्तृत जानकारी गराइनेछ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरूलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई आ–आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागि प्रेरित गर्नेछ ।
साथै बैंकले एपमार्फत समाजका विभिन्न वर्गहरू जस्तै महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबीआईले वित्तीय साक्षरतासम्बन्धी सचेतना कार्यक्रमका लागि बैंकलाई विशेष छुटका साथ आवश्यक सामग्रीहरूको व्यवस्थापन रिदिनेछ । यसरी दुई संस्थाहरू एउटै महान् उद्देश्यका लागि साझेदारी गरी अघि बढ्नाले बचत गर्ने र व्यवसाय सञ्चालनबारे जागरुक्ता ल्याउन थप ऊर्जा मिल्नेछ । एनबीआई मोबाइल एपको माध्यमबाट वित्तीय साक्षरता विस्तारमा देशमा नयाँ आयामको सुरुवात हुनेछ ।