कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४
630

दाङको घोराही उपमहानगरपालिका–१८ गिठेपानी फुर्सेखालीका महिलाले सञ्चालन गरेको सहकारी संस्था अहिले जिल्लामै अब्बल सहकारीको रूपमा स्थापित भएको छ ।
स्थापनाको समयमा विभिन्न कठिनाई पार गर्दै आएको सहकारी अहिले सफल भएको हो । ०५५ साल कात्तिक २४ गते विधिवत् रूपमा दर्ता भएर सञ्चालनमा आएको एकता महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड अहिले महिलाले मात्र सञ्चालन गरेको सफल सहकारीको रूपमा चिनिने गरेको छ । चौतारामा बसेर ६० जना महिलाले २० रुपैयाँ बचत गर्न सुरु गरेका थिए । संस्थामा हाल ४ सय ६६ जना सदस्य रहेको संस्थाका अध्यक्ष यशोदा पाण्डेले बताइन् । प्रत्येक सदस्यले १ सयदेखि २ हजार रुपैयाँसम्म वचत गर्ने गरेको पाण्डेले बताइन् । अहिले संस्थाले आफ्नै जग्गा किनेर पक्की भवनसमेत बनाएको छ । संस्थाको अहिले ४ कोठा र २ वटा हल गरी ६ वटा पक्की कोठा छन् ।
सुरुका ५ वर्ष जति चौतारामा वचत उठाउने र बैठक सञ्चालन गर्ने संस्थाले राष्ट्रियस्तरबाट समेत पुरस्कार पाइसकेको छ । २० रुपैयाँबाट बचत गर्न सुरु गरेको संस्थाले अहिले १ करोड ५० हजार रुपैयाँभन्दा बढीको पुँजी निर्माण गरिसकेको छ । महिलाहरू संस्थाबाट ऋण लिएर व्यावसायिक बनेका छन् । महिलाहरूले संस्थाबाट ऋण लिएर तरकारी खेती, किराना पसल, अलौ धागो, भैंसीपालन, बंगुरपालन, बेसार खेती, अदुवा खेतीसमेत गरेका छन् । “संस्थामा आवद्ध भएका महिलालाई दुई/चार पैसा चाहिएमा ऋण खोज्न बाहिर जानुपर्ने अवस्था छैन,” संस्थाकी अध्यक्ष पाण्डेले भनिन् ।
संस्थाले आफैं पनि शुद्ध वेसारको पाउडर उत्पादन गरी बिक्री गर्ने गरेको छ । “संस्थामा आबद्ध महिलालाई केही गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ,” कोषाध्यक्ष निर्मला आचार्यले भनिन्, “सदस्यहरूको आर्थिक अवस्थामा समेत सुधार भएको छ ।” संस्थाले आर्थिक वर्ष २०६४/६५ बाट वेसारको व्यवसाय सुरु गरेको थियो । जुन अहिले बाहिरी जिल्लामा समेत निर्यात हुने गरेको छ । “महिलाले मात्र सञ्चालन गरेको सहकारी अगाडि बढाउनका लागि पुरुषहरूको पनि महत्वपूर्ण भूमिका छ,” अध्यक्ष पाण्डेले भनिन्, “संस्थाले चालेको काममा पुरुषहरूले सकारात्मक सहयोग गरेकाले यहाँसम्म आउन सहयोग पुगेको छ ।”

मातृ शिशु मृत्युदर घटाउन सहयोग
यसैबीच संस्थाले मातृ शिशु मृत्युदर घटाउन अस्पताल पुगेर प्रसूति हुनेलाई प्रोत्साहन रकम प्रदान गर्ने गरेको छ । घरमा प्रसुति हुँदा आमा तथा शिशुको समेत ज्यान खतरा हुने भएकाले अस्पतालसम्म पुग्ने महिलाई ५ सय रुपैयाँ र शिशुलाई भोटी र टोपी दिने गरेको संस्थाकी सचिव पार्वती अधिकारीले बताइन् । उनका अनुसार त्यो सुविधा दुई जना सन्तानसम्मलाई मात्र दिइने गरेको छ । संस्थाले हालसम्म करिब १ सय जनालाई यस प्रकारको सहयोग गरिसकेको छ । सहयोग गर्न छुट्टै कोषको समेत व्यवस्था गरिएको छ ।
त्यसैगरी संस्थाले केही महिनाका लागि ५ हजार रुपैयाँसम्म निब्र्याजी दिने गरेको छ । त्यस्तै सदस्यहरूको मृत्यु बिमा कोषसमेत सुरु गरिएको छ । सदस्यहरूबाट वार्षिक २ सय रुपैयाँ उठाएर यस्तो कोष शुरु गरिएको अध्यक्ष पाण्डेले बताइन् ।

-अमरराज आचार्य