मुद्दती निक्षेपमा आकर्षण
कारोबार संवाददाता
आइतवार, बैशाख २, २०७५
1162

बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको हिस्सा बढेको छ । बैंकहरूले निक्षेप बढाउनका लागि सर्वसाधारण आकर्षित गर्न मुद्दती योजनामा केन्द्रीत गरेपछि साधारण बचतको हिस्सा घटेर मुद्दती निक्षेपको हिस्सा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४-०७५ को फागुनसम्ममा बैंकिङ क्षेत्रमा २५ खर्ब ५४ अर्ब निक्षेप रहेको छ । उक्त निक्षेपमध्ये मुद्दती निक्षेपको अंश ४४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकसँग रहेको कुल निक्षेपको ३८.१ प्रतिशत मात्र मुद्दती निक्षेप थियो । मुद्दती निक्षेपको हिस्सा वृद्धि भएसँगै बचतको हिस्सा भने घटेको छ । ०७४ फागुनसम्ममा बैंकसँग रहेको निक्षेपमध्ये ३६.५ प्रतिशत साधारण बचत रहेको छ । जबकी अघिल्लो वर्षको यसै अवधिमा बचतको हिस्सा ३७.५ प्रतिशत थियो । यसैगरी बैंकमा चल्ती निक्षेपको अंश पनि बढेको छ । एक वर्षअघिसम्म ७.६ प्रतिशत रहेको चल्ती बचत बढेर ८.१ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षको सुरुवातदेखि नै बैंकिङ क्षेत्रमा कर्जा योग्य रकम अभाव देखिएको थियो । पुँजीवृद्धिसँगै लगानी बढाउने दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाका लागि नयाँ ऋण लगानी गर्न निक्षेप बढाउन पर्ने बाध्यता भयो । निक्षेप बढाउनका लागि बैंकहरूले आकर्षक व्याजदर सहितको मुद्दती निक्षेप योजनाहरू सुरु गरेपछि मुद्दती निक्षेपको हिस्सा वृद्धि भएको हो ।
बैंकहरूले नयाँ नयाँ योजना सार्वजनिक गरेपनि समग्रमा बैंकहरूमा निक्षेप भने उल्लेख्य वृद्धि नभएको राष्ट्र बैंकको तथ्यांकमा देखिएको छ । चालू आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.१ प्रतिशतले मात्र वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.१ प्रतिशतले बढेको थियो ।
बजारमा बैंकहरूबीच एक अर्काबाट निक्षेप तान्ने होडबाजी चलेको र बजारबाट निक्षेप आउन नसकेको बताइएको छ । बैंकहरूले व्याजदर बढाएर निक्षेप तान्ने होडबाजीका कारण बाणिज्य बैंकहरूबीच ब्याजदरको विवादसमेत देखिएको थियो ।
निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरूको कर्जा लगानी पनि खुम्चिएको छ । २०७४ फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १४.४ प्रतिशतले मात्र बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.३ प्रतिशतले बढेको थियो । यस अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा १३.९ प्रतिशत, विकास बैंकहरूको २१.२ प्रतिशत र वित्त कम्पनीहरूको ६.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
लगानी भएको कूल कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ प्रतिशत र १४.५ प्रतिशत थियो । बैंकको कर्जामध्ये समभन्दा बढी आयात कर्जा ६५.७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी हायर पर्चेज कर्जा ८.८, रियलस्टट ११.३ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।