अनिश शर्मा गैरे
बुधवार, कार्तिक २१, २०७५
276

गुल्मी-समय र परिस्थितिअनुसार चाडपर्व मनाउने शैलीमा पनि विस्तारै परिवर्तन हुँदै जान थालेको छ । गाउँदेखि बजारसम्म हरेक घरहरूमा बजारीय बत्तीहरूले झिलीमिली भएको छ भने भाइटीकाको दिन प्रयोग गरिने मालामा पनि आधुनिकता छाएको छ । गाउँघरमा फुलेका मखमली, सयपत्री फूलहरूको बनाइएको मालाभन्दा बजारमा आउने रेडिमेड मालाहरूको प्रयोग बढेको छ ।
तिहार पर्वका लागि चाहिने समानहरू किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरूले सजिएका पसलहरूले पनि थप रौनकता थपिदिएको छ । तर, पछिल्लो समययता तिहार पर्व पनि आधुनिक बन्न थालेको छ ।

तिहार पर्वमा दियो, पाला मात्र होइन अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृत्रिम फूलहरूबाट बनेका मालाहरू प्रयोग गर्ने क्रम बढ्न थालेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरू नपाउनु सँगै फूलहरूको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरू प्रयोग बढेको व्यवसायीहरूको तर्क छ ।
यस वर्ष पनि तिहार पर्व केही ढिलो पर्नुले गाउँघरमा केही फुलेका फूलहरू सुक्न थालेपछि कृत्रिम माला किन्नेहरूको चाप बढेको तम्घासमा व्यवसाय गर्दै आएका झबि पाण्डेयले बताए ।
गाउँमा फुलको खेती पनि नगर्नु र केही आफै उम्रेका फूलहरूको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृतिम फूलमा आश्रित हुनुपरेको व्यवसायी पाण्डेयको भनाइ छ ।
तिहारमा माला मात्रै होइन यमपञ्चकमा बालीने बत्तीहरूलाइ पनि पूरै प्रविधिले विस्थापन गरेको छ । गाँउघरमा बिभिन्न पात तथा दियालोहरूमा बालीने बत्तीहरूको ठाँउमा बजारमा पाइने विद्युतीय बत्तीहरू बाल्न थालिएको छ । हाम्रो समाज पनि प्रविधिको विकाससँगै आफ्नो रहन सहनमा फरक हुँदै गइरहेको गुल्मी वामीका खगराज शर्माले बताए ।