नवराज कार्की
सोमवार, मंसिर ३, २०७५
352

ओखलढुंगा- जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेमा कच्चा पदार्थ अभावमा १८ वर्षदेखि साबुन उद्योग बन्द छ । स्थानीय स्तरमा फल्ने रिठ्ठा, कचिण्डोलगायतबाट उत्पादन हुँदै आएको सुप्रेम साबुन उद्योग बन्द छ ।
०५७ सालमा स्थानीय राजकुमार राईसहितको ७ जनाको समूहले उद्योग स्थापना गरेका थिए । १ लाखको लगानीमा सञ्चालन गरिएको उद्योग स्थानीयस्तरमा नियमित कच्चा पदार्थ नपाइएकाले बन्द हुन पुगेको सञ्चालक राईको भनाइ छ ।

उद्योगमा साबुन बनाउनका लागि कास्टिक सोडा, सिलिकेड, पाउडरलगायतका कच्चा पदार्थ बाह्य जिल्लाबाट ल्याइए पनि स्थानीयस्तरमा पाइने रिठ्ठा र कचिण्डोको दाना अधिक रूपमा प्रयोग गरिन्थ्यो । दैनिक ५० वटासम्म उत्पादन गरिँदै आएको साबुन ओखलढुंगा सदरमुकाम, केत्तुके, मानेभञ्ज्याङ, उबूँ, वाक्सा आसपासमा बिक्री हुने गथ्र्यो । “त्यतिबेला जिल्लामा सडक सञ्जाल नभएको अवस्थामा समेत उद्योग सञ्चालनमा आउनु ठूलो कुरा हो,” सञ्चालक राईले भने, “कच्चा पदार्थ नपाइनुचाहिँ यहाँका उद्योगको समस्यै हो ।”
०५७ सालमा घरेलु तथा साना उद्योग विकास समितिले दिएको हकहप्ते साबुन बनाउने तालिम सिकेपछि तालिमका प्रशिक्षार्थीहरू मिलेर उद्योग स्थापना गरेका थिए । कच्चा पदार्थ अभाव हुँदा तत्कालीन समयमै साबुन उद्योग बन्द गरेर सञ्चालकहरू तितरवितर भएका थिए ।